Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

बोलचाल नभएका अध्यक्ष र उपाध्यक्ष गाउँसभामा दुईतिर फर्किएपछि...

बोलचाल नभएका अध्यक्ष र उपाध्यक्ष गाउँसभामा दुईतिर फर्किएपछि...

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच बोलचाल छैन । बोलचाल नभएको मात्र हैन, फौजदारी अभियोगमा एकअर्काबीच अदालतमा मुद्दा चलिरहेको छ । अध्यक्षता गर्ने र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी तोकिएका दुईबीच बोलचाल नभए पनि झण्डै १० महिनासम्म दुई पक्षको विवादले ठप्प भएको उक्त गाउँपालिकाले यस वर्ष तोकिएकै दिन गाउँसभा गरेको छ । 

गाउँसभामा अगाडि राखिएको सोफाका दुई छेउमा बसेका अध्यक्ष र उपाध्यक्षबीच हेराहेरसमेत भएन । उनीहरु दुवै नेकपाकै हुन् । गाउँसभामा एकअर्कालाई देखिन्छ कि भन्ने हिसाबले उनीहरु विपरीत दिशामा फर्के । झण्डै ५ घण्टा सौहार्दपूर्ण रुपले सञ्चालन भएको सभामा उनीहरुले एकअर्काबीच आरोप–प्रत्यारोप भने गरेनन् ।

सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेले अदालतमा फौजदारी मुद्दा हुँदाहुँदै एक कदम पछि हटेर जनताका लागि क्रियाशील रहेको बताइन् । २ करोड पैसा नदिए आफू र आफ्ना परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिने कार्यमा उपाध्यक्ष र वडा अध्यक्ष सुवास बोहोरासमेतको संलग्नता रहेको भन्दै अध्यक्ष खड्काले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । दुवै धरौटीमा रिहा भएका छन् ।

अध्यक्ष गोबिन्दबहादुर खड्काले फौजदारी मुद्दा आफ्नो व्यक्तिगत र अदालतको विषय भएको बताए । उनले विगतमा व्यक्तिगत मुद्दा भए पनि पालिकामा विवादको रुपमा नहेरिदिन आग्रह गरे । उनले विगतमा काम गर्दै जाँदा केही कमीकमजोरी भएको भन्दै माफी पनि मागे । ‘सुरुमा काम गर्दा कानुन नै मै हुँजस्तो पनि लाग्थ्यो, बुझिएको थिएन,’ खडकाले भने, ‘कर्मचारीलाई दबाब पनि दिइयो । अब त्यस्तो हुँदैन । धेरै कुरा बुझियो । नचाहिने, कानुन, विधि र पद्धतिभन्दा बाहिर काम गर्न कर्मचारीले लाए पनि अब गर्दिनँ ।’

उनले अरु जनप्रतिनिधिहरु पत्र काटेर बोलाउँदा पनि नआएको बेला आफूले गाउँपालिकामै बसेर जनताको सेवा गरेको बताए । विद्युतीकरणमा बदमासी भएको प्रमाणित भए आफूले सजाय नभएको बताए । खड्का विद्युतीकरणमा भ्रष्टाचार अभियोगमा अख्तियारको छानबिनको दायरामा छन् ।

खड्काले सम्बोधनका क्रममा पटकपटक उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेलाई आदरणीय उपाध्यक्षज्यू मात्र हैन नामै किटेर सम्बोधन गरेका थिए । तर उपाध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अध्यक्षज्यू मात्र भनिन् । उनले आगामी आर्थिक वर्षका लागि ५९ करोडको आम्दानी र सोही अनुसारको व्यय हुने अनुमानित वजेट प्रस्तुत गरेकी थिइन् ।

गत वर्षको गाउँपरिषदमा दुरागाउँलगायतको विद्युतीकरणका लागि खर्च भएको ५ करोड ९५ लाख रुपैयाँ विनियोजन गर्नु पर्ने प्रस्ताव खड्काले राख्दा उपाध्यक्षलगायतका केही वडाध्यक्षले अनुगमन मूल्यांकन गरी वास्तविक खर्च मात्र विनियोजन गर्ने अडान लिए पनि गाउँपालिकाको विवाद चुलिएको थियो ।

दुवै आफ्नो हठमा बसेपछि पालिकाको बजेट पारित हुन सकेन भने व्यक्तिगत मुद्दा मामिलातिर जनप्रतिनिधि लागे । तीन महिनाअघि जिल्ला समन्वय समितिमा नेकपाका नेताहरुको सक्रियतामा विवादित पक्षलाई राखेर बजेट बाँडफाँड गरी काम सुरु भएको हो । अहिले लिखु तामाकोसीमा उपभोक्ता समितिसँग सम्झौता र खाता खोल्ने काम भइरहेको छ ।

रामेछापका दुई नगरपालिका र अन्य पाँच गाउँपालिकाले समेत गाउँसभा सम्पन्न गरी नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका छन् ।  कान्तिपुर दैनिक बाट

प्रतिक्रिया