साढे ४ दशकपछि पुनर्जीवन पाएको ‘रिङ्केबुङको राँगो’

रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर
अरुण तम्मर तरौला, तिते फापर छरौंला
फुल लाउँला केसरी, खाउँला बेसरी ।

गायक सुरेश गन्धर्वले पञ्चायतकालमा गाएको यो कालजयी लोकभाका अहिले एकाएक शहरका युवायुवतीको जिब्रोमा झुण्डिन पुगेको छ । दुई पूर्वेली युवा दीपक आचार्य र रमेश प्रसाईले ‘पुनर्निर्माण’ गरेर दर्शक–स्रोतामाझ पेश गरेपछि यो गीतले करिब साढे चार दशकपछि पुनर्जीवन पाएको हो ।

कालेबुङ (भारत) निवासी गीतकार सीके श्रेष्ठले आफैंले लेखेको एउटा नाटकका लागि २०३२ सालमा यो गीतको सिर्जना गरेका थिए । भारतको नेपाली बहुल क्षेत्रमा प्रदर्शन गरिएको उक्त नाटकसँगै गीत पनि चर्चित बनेको थियो । कालिङ्पोङमा आयोजना भएको एउटा लोकगीत प्रतियोगितामा यस गीतले पहिलो पुरस्कार पाएको थियो ।

सोही गीत भोजपुरका गायक सुरेश गन्धर्वले पहिलोपटक रेडियो नेपालमा रेकर्डिङ गरे । नेपालको पूर्वी भेगदेखि भारतको टिस्टासम्म (सुगौली सन्धि अगाडिको नेपाली भूभाग) गीत निकै लोकप्रिय बन्यो । यो गीत सुनेर हुर्केका पूर्वलीहरु मध्येका एक हुन् रमेश प्रसाई ।

पब्लिक स्पिकरका रुपमा पहिचान बनाएका रमेशको गायनमा पनि अभिरुचि छ । उनले सानो छँदा दुईपटक मात्र रेडियोमा ‘रिङ्केबुङको राँगो..’ सुनेका थिए । तर, आजीवन उनलाई यो गीतको मिठासले लठ्याइरह्यो ।

‘यो मैले आजसम्म सुनेकोमध्ये सर्वोत्कृष्ट लोकगीत हो,’ प्रसाईं भन्छन्, ‘म जहिले पनि कुनै गन्धर्व गायकलाई भेटेँ भने यो गीत सुनाउन अनुरोध गरिहाल्थेँ ।’

सौभाग्यले यो गीतको रिमेकमा स्वर दिने अवसर उनलाई नै मिल्यो ।

यसरी बन्यो रिमेक

हास्य टेलिसिरियल ‘सक्किगोनी’ का कलाकार तथा म्युजिक भिडियो निर्देशक दीपक आचार्यले एक वर्षअघि इटहरीस्थित आफ्नो घर पुग्दा सुरेश गन्धर्वको चर्चा सुने । उनको स्वास्थ्य कमजोर भएको र आर्थिक अवस्था पनि नाजुक भएको थाहा पाएपछि दीपक उनलाई भेट्न धरान पुगे ।

‘साँच्चिकै उहाँको अवस्था दयनीय रहेछ,’ आचार्य भन्छन्, ‘व्यक्तिगतरुपमा उहाँलाई केही आर्थिक सहयोग गरेँ, तर त्यसबाट उहाँको समस्या समाधान हुने अवस्था थिएन ।’

७० वर्षय गन्धर्व अहिले धरानमा एउटा थोत्रो घरको कोठा भाडामा लिएर छोरीसँग बस्छन् । छोरा–बुहारी छुट्टै बस्ने गरेका छन् । वृद्धावस्था र कमजोर स्वास्थ्यका कारण सुरेश अहिलेगीत गाउन सक्ने अवस्थामा छैनन् । उनलाई अहिले दुई छाक टार्नसमेत कठिन रहेको दीपकले बताए ।

सुरेशलाई भेटेपछि दीपकको दिमागमा ‘रिंकीबुङको राँगो’ को रिमेक बनाउने सोच आएको हो । पुरानो पुस्तामा लोकप्रिय गीत नयाँ पुस्तामा पुग्ने तथा गीतबाट हुनसक्ने अर्थोपार्जनले सुरेशलाई सहयोग हुने उनले ठाने ।

‘कलाकारको नाममा प्रत्यक्ष नगद संकलन गर्नुभन्दा उहाँको सिर्जनालाई नै बेचेर त्यसबाट हुने आम्दानी हस्तान्तरण गर्दा बढी सम्मानजनक हुने लाग्यो,’ आचार्य भन्छन् ।

गीतकार सीके श्रेष्ठ र सुरेश गन्धर्व (दायाँ)गीतकार सीके श्रेष्ठ र सुरेश गन्धर्व (दायाँ)

उनले यो प्रस्ताव सुरेशसामु राखे । सुरेश पनि सहजै तयार भए । त्यसपछि उनले गीतकार सिके श्रेष्ठसँग फोनमा कुरा गरे । श्रेष्ठ पनि खुशी भए । उक्त गीतको एउटा अन्तरा पहिलेको रेकर्डिङमा नभएकाले त्यसलाई पनि समेट्न सुझाव दिए । दीपकलाई कुनै आपत्ति भएन ।

यसरी दीपकले यो गीतको कपिराइट लिएको कुरा रमेश प्रसाईको कानसम्म पुग्यो । दीपकसँग उनको पहिल्यै चिनजान थियो । उनले तत्काल फोन गरेर यो गीतको रिमेकमा गाउने चाहना व्यक्त गरे । यो करिब तीन महिना अगाडिको कुरा थियो, जतिबेला रमेशले इन्द्रेणीमा दोहोरी गाउन सुरु गरेका थिएनन् । उनको गायकी कलाबारे धेरैलाई थाहा नै थिएन ।

व्यापक फ्यान फलोइङ भएका रमेशले यस्तो प्रस्ताव गरेपछि दीपकले धेरै सोचेनन् । तुरुन्तै ओके गरे ।

दीपक भन्छन्, ‘उहाँ गीत पनि गाउनुहुन्छ भन्ने मलाई थाहा थिएन । तर, उहाँ आफैंले पत्यार नगर्ने कुरै आएन । फेरि उहाँजस्तो पब्लिक फिगरले गाउँदा गीतले चाँडै माइलेज लिने अवसर पनि थियो ।’

पुरानो र नयाँ गीत

सुरेश गन्धर्वले गाएको र रमेश प्रसाईले गाएको गीतमा शब्द र लय फरक छैन । यद्यपि, नयाँमा एक अन्तरा थप गरिएको छ । पुरानो गीतसँग तुलना गर्दा सुर–ताल समान भए पनि गायकी शैली फरक छ ।

सुरेशको स्वर नरम र सुमधुर लाग्छ । रमेशले चाहिँ जोशिलो पाराले गाएका छन् । उनको आवाज साह्रै कर्णप्रिय भने छैन । गायकीको शैलीमा फरकपना हुनु स्वभाविक भएको रमेश बताउँछन् ।

‘मैले सुरेश गन्धर्वकै नक्कल गरेको हो, तर पनि शैली त आआफ्नो भइहाल्छ,’ उनले भने, ‘राजेश हमाल र दयाहाङ राईले उस्तै भूमिकामा अभिनय गरे पनि धेरै फरक हुन्छ नि, त्यस्तै हो ।’

रमेश यो गीतमा आफूले पूर्ण न्याय गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘मैले सत्प्रतिशत प्रयास त गरेको छु, तर पूरा न्याय गरेको छु जस्तो लाग्दैन । जे भए पनि एउटा कालजयी गीतलाई आजको पुस्तासम्म पुर्याउन पाउनु नै मेरो निम्ति गौरवको कुरा हो ।’

टिकटकमा धुम

गत ७ नोभेम्बरमा यूट्यूवमा अपलोड भएको गीत अहिलेसम्म साढे ११ लाखपटक हेरिएको छ । तीन हजारभन्दा बढी कमेन्ट आएका छन् । अधिकांश प्रतिक्रिया सुखद छन् । धेरै नेपालीहरुका प्रियपात्र बनेका रमेश प्रसाईले गाएको हुँदा यो गीत चर्चामा आउने विश्वास दीपकलाई थियो । अहिले आफूले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाइरहेको उनी बताउँछन् ।

‘गीतले सुरुमै ह्वारह्वारी भ्यूज पाएको होइन, स्लो स्टार्ट गरेर बिस्तारै गति समातेको छ,’ उनले भने, ‘पक्कै पनि रमेशजीले गाएको भएर पनि गीतले पिकअप लियो ।’
रमेश भने आफ्नो कारणले नभई गीतको पुरानो बिरासतकै कारण सफल भएको बताउँछन् ।

‘गीतको शब्द र संगीत नै सबैभन्दा महत्वपूर्ण हुन्छ, मेरो नामले अलिकति चासो बढ्यो होला तर लोकप्रिय हुनुको प्रमुख कारण म होइन,’ उनले भने ।

अहिले युवायुवतीबीच सर्वाधिक लोकप्रिय एप टिकटकमा भाइरल भएपछि गीतले वास्तविक माइलेज पाएएको छ । टिकटकमा यो गीतका अनगिन्ती भिडियोहरु बनाइएका छन् । ती भिडियोहरुले लाखौं लाइक पाएका छन् । एउटा टिकटक भिडियोले अढाई लाखसम्म लाइक पाएको छ । टिकटकमा भाइरल भएपछि त्यसको प्रत्येक्ष प्रभाव यूट्यूवमा पर्छ ।

गीतको खर्च कटाएर हुने मुनाफा सबै गायक गन्धर्वलाई प्रदान गरिने दीपकले बताए । गीतको निर्माणमा अमेरिकाबाट वर्षा ज्वेलर्स र भानु फुयाँलले सहयोग गरेका छन् ।

गीतको भावार्थ ?

गीतको स्थाईमा चारवटा स्थानका नाम छन् । त्यसमध्ये ताप्लेजुङ अहिले नेपालमा पर्छ भने बाँकी तीन स्थान भारतमा । गीतकार श्रेष्ठका अनुसार कालिङ्पोङमा रहेको रिङकेनपोन भन्ने शहर छ । भाका मिलाउनका लागि यसलाई रिङ्केबुङ बनाइएको हो । चुङ्केबुङ भन्ने ठाउँ पनि कालिङपोङमा नै रहेको छ । कालिङ्पोङलाई गीतमा कालेबुङ भनिएको छ ।

गीतमा प्रयुक्त गरिएको राँगोलाई धेरैले प्रतिकात्मक ठानेका छन् । यसले तत्कालीन राज्यको सामन्ति चरित्रलाई जनाउने अनुमान उनीहरुको छ । यद्यपि, गीतकार श्रेष्ठको भनाइमा यो गीतले कुनै राजनीतिक भावार्थ बोकेको छैन । लोकभाकामा उपयुक्त हुने र जनमानसले टपक्कै टिप्ने शब्दहरु प्रयोग गरिएको उनी बताउँछन् । गीतका अन्तराहरु भने अर्थपूर्ण छन् ।

यस्ता छन् गीतका तीन अन्तरा :

मधेसको मैनाचरी लेक चर्ने लाहाँचे
पीर बोकी मुटुभरि, बगर–बगरस नाचेँ
आधा माया फुर्मास भो आधा माया साँचेँ
ठेगान लाउन त्यै मायालाई आजसम्म बाँचेँ
रिङ्केबुङको राँगालाई…

सारङ्गीको सुर काँ गो पुङमाङ भो मादल
मुर्चुङ्गालाई मुस्किल परो बिनायो भो बेहाल
चोलीको त चोलै उठो फरियाको के हाल
दौरा भए स्वर्गवासी नरक गए सुरुवाल
रिङ्केबुङको राँगालाई…

साँचो झूटो धर्म कर्म मन हुन्छ दोमन
पापी मन जति भन रुँ–रुँ गर्छ झन् झन्
एकैछिनको हाँसो र’छ सय दिनको रोदन
पराया ज्यानको पयरमुनि दुखियाको जीवन
रिङ्केबुङको राँगालाई…

साभार :- अनलाईन खबर