Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

काम गराउने, अनि हराउने? : कलाकारको गुनासो, निर्मातासँग

काम गराउने, अनि हराउने? : कलाकारको गुनासो,  निर्मातासँग

फिल्म निर्माताले कलाकारलाई सम्झौता गरेअनुसार समयमै पारिश्रमिक नदिँदाको नमीठो र पीडादायी अनुभवका एक साक्षी हुन्, अभिनेता नाजिर हुसेन ।

‘गोजीमा पैसा हुन्न । निर्मातालाई पैसा माग्न जाँदा उल्टै आफ्नो व्यथा सुनाउनुहुन्छ,’ काठमाडौंमा डेरा गरेर बसिरहेका नाजिर भावुक हुँदै सुुनाउँछन्, ‘व्यथा सुनेपछि हामी कलाकार स्वभावैले भावनात्मक भइहाल्छौँ । अनि, रित्तो हात घर फर्किन्छौँ । दुई–तीन महिना कोठाको भाडा तिरेका हुँदैनौँ । घरबेटीले देख्ला कि भनेर सुटुक्कै कोठाभित्र पस्छौँ । निर्माताको व्यथा त हामी सुन्छौँ तर हाम्रो व्यथा मनभित्रै गुम्सिएर बस्छ ।’

नेपाली फिल्म क्षेत्रमा कलाकार र प्राविधिकले समयमै पारिश्रमिक नपाउने समस्या नयाँ होइन । तर, अभिनेता पल शाहले फेरि यो विषयलाई अहिले बहसमा ल्याइदिएका छन् । त्यसो त एक वर्षअघि अभिनेता प्रदीप खड्काले फिल्म ‘रोज’बाट निर्माता निरक पौडेलले आफूलाई १० लाख रुपैयाँ पारिश्रमिक नदिएको कुरा बाहिर आउँदा पनि यो विषय बहसमा आएको थियो । त्यतिबेला फिल्म फ्लप भएपछि निर्माता पन्छिएको प्रदीपको आरोप थियो । तर त्यसपछि यो विषय त्यत्तिकै सेलायो ।

अहिले फिल्म क्षेत्रमा नातावाद, कृपावाद, गुुटबन्दी र डिप्रेसनको मुद्दा उठिरहेका बेला मंगलबार पलले आफ्नो फेसबुकमा लामो स्टाटसहित प्रश्न गरे, ‘के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ ? के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौं–वर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुुई हात जोड्नुपरेको छ ? ’

समयमै पारिश्रमिक नपाउँदा कलाकारहरू डिप्रेसनमा पुग्नसक्ने सम्भावना देखाउँदै उनले थप लेखेका छन्, ‘यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोच गरेका कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौं कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ? यदि ५० प्रतिशत छुट गरिदिने भए गर, नभए पछि दिउँला भन्दै २–३ वर्ष भुलाउँदा त्यो कलाकारको मनमस्तिष्कमा कस्तो सोच आउँला ? र, त्यही प्रोड्युसरले भन्छ हाम्रो नेपाली फिल्म इन्डष्ट्रीलाई बचाउनु छ, एकले अर्कालाई सपोर्ट गरि अघि बढ्नु छ ।’

उनको स्टाटस पढ्दा उनी पारिश्रमिकको समस्याबाट निकै पीडित रहेको महसुस हुन्छ । यस विषयमा पलसँग सम्पर्क गर्दा उनले दुई–तीनवटा फिल्म छाडेर प्रायः फिल्ममा यस्तै समस्या भोगेको अनुभव सुनाए । ‘हामीकहाँ कलाकारको पारिश्रमिक चार किस्ता गरेर दिइने सम्झौता हुन्छ,’ पल भन्छन्, ‘डबिङ गरिसक्दासम्म पुरा पारिश्रमिक भुक्तानी गरिसक्ने सम्झौता भएको हुन्छ । तर, व्यवहारमा त्यसो हुँदैन । त्यतिबेला फिल्म प्रचारको चटारो हुन्छ । निर्माताहरू अहिले प्रमोसन गर्ने पैसा पनि जुटाउन गाह्रो छ, फिल्म रिलिजपछि दिउँला भनेर टार्छन् । जब फिल्म रिलिज भइसक्छ, त्यसपछि वितरकबाट पैसा उठ्न बाँकी छ भनेर टार्नुहन्छ । यसरी झुलाउँदा–झुलाउँदै दुई–तीन वर्ष भइदिन्छ ।’

पैसा पाउने आशामा उनले दुईवटा फिल्मबाट गरेर करिब २५ लाख उठाउन बाँकी रहेको बताए । फिल्मको नाम भने उनले खुलाउन चाहेनन् । ‘जति माग्दा पनि दिँदैनन्,’ उनले गुनासो पोखे, ‘केस गर्छु भन्दा पनि दिँदैनन् । एकजना निर्माता त सिधैँ दिन्नसम्म भन्छन् । तीन महिनापछि दिन्छु भनेर एक वर्ष कटिसक्दासम्म दिएका छैनन् । यो त एकदमै हेपुवा प्रवृत्ति भयो । हामीजस्तो अलिअलि भने पनि काम पाइरहेका कलाकारलाई त यस्तो छ, झन् नयाँ कलाकार–प्राविधिकको हालत के होला, म त कल्पनासम्म गर्न सक्दिनँ । ’

यो समस्यामा अधिकांश कलाकारले भोगिरहे पनि भोलि काम नपाउने भयले उनीहरू बोल्न डराएको बताउँछन् पल । ‘मेरो घरमा चारजनाको परिवार हो । मुमा, बुबा र बहिनीलाई पनि हेर्नुपर्छ मैले,’ उनी भन्दै थिए, ‘मेरो आम्दानीको बाटो यही फिल्म र म्युजिक भिडियो हो । मैले ऋण लिएको हुनसक्छु या कतै जग्गा बैना गरेको हुनसक्छु । अनि, त्यस्तो बेला मैले काम नगरेको पैसा नपाउँदा डुब्दिनँ ?’

अभिनेता नाजिरको मत पनि पलको जस्तै छ । उनले पनि दुई फिल्मबाट गरेर करिब ७ लाख पारिश्रमिक उठाउन बाँकी छ । यो लकडाउनको कारण तीन महिनादेखि घरभित्रै थुनिएका उनले घरको कोठा भाडा नतिरेको पनि दुई महिना भइसक्यो । ‘यतिखेर पाउनुपर्ने पैसा पाए त ठूलै उद्दार हुन्थ्यो,’ उनी भन्दै थिए, ‘तर, यहाँ कसले दिने ? एकाधबाहेक सम्झौता गरेको समयमा यहाँ पैसा पाउनै गाह्रो हुन्छ । एक हप्तापछि दिन्छु भन्छन् तर त्यो एक हप्ता कहिल्यै आउँदैन । मैले धेरै फिल्मबाट काम सकिएको ६–७ महिनासम्म फलो गरेपछिमात्रै पैसा उठाएको अनुभव छ ।’

नाजिरको अनुभवमा एकाधबाहेक अधिकांश कलाकारले नेपाली फिल्ममा निर्माताले तिर्न सक्ने हैसियतकै पारिश्रमिकमा काम गरेका हुन्छन् । ‘एक त कम पैसा, त्यो पनि चार किस्तामा दिने सम्झौता भएको हुन्छ,’ उनी भन्छन्, ‘त्यो पनि समयमै भएन भने यहाँ डेरा गरेर बस्ने हामीजस्ता कलाकारलाई कति गाह्रो हुन्छ होला ? यहाँ कतिपय निर्मातासँग बसेर चिया खाँदाखेरि उहाँहरू बलिउडमा फिल्म चलेन भने कलाकारले पैसा फिर्ता गर्छन्, लिँदैनन् जस्ता उदाहरण दिन थाल्नुहुन्छ । अचम्म लाग्छ, बलिउडका कलाकारको तुलना हामीसँग गर्न सुहाउँछ र ? त्यहाँका कलाकारको आम्दानीसँग हाम्रो तुलना सुहाउँछ र ? ’

अभिनेत्री स्वस्तिमा खड्कासमेत पछिल्लो समय यो समस्याको सिकार भएकी छिन् । ‘एकवर्ष यतामात्रै म यो समस्या भोगिरहेको छुु,’ उनले भनिन्, ‘दुइटा फिल्म र केही विज्ञापन गरेर करिब १५ लाख रुपैयाँ उठाउन बाँकी छ । अहिले नाम नभनौँ। हदै भयो, पैसा दिँदै दिएनन् भने खोलौँला । अहिले लकडाउन छ । केही समय अझै कुरौँ भन्ने छ ।’

यद्यपि यहाँ सबै त्यस्ता निर्माता नभएको बताउँछिन्, स्वस्तिमा । ‘कोहीकोही बोलाइ–बोलाइ पैसा दिने व्यवसायिक निर्माता पनि छन्,’ उनले भनिन्, ‘मलाई दुःखचाहिँ के लाग्छ भने हाम्रो त ठीकै छ, प्राविधिकहरूलाई समयमा पैसा नदिने समस्या छ । यो त अति भयो नि । मेकरले त्यो सोच्नुपर्ने हो– एक दिन पैसा ढिलो हुँदा उनीहरूको घरमा चुल्हो नबल्न सक्छ ।’

पारिश्रमिकका मामिलामा कमै फिल्म निर्माताहरूले कलाकारसँग दूरदर्शी व्यवहार अपनाउने गरेको बताउँछिन्, अभिनेत्री लक्ष्मी बर्देवा । ‘नत्र धेरैजसो निर्माता त एकपल्ट काम गरेपछि अर्कोपल्ट गर्नै पर्दैनजस्तो व्यवहार देखाउँछन्’, उनी भन्छिन्, ‘मैले धेरै फिल्ममा समयमा पारिश्रमिक नपाउने समस्या भोगेको छु । काम सकिएपछि पैसा उठाउनै गाह्रो हुन्छ । मेरो कोठा भाडा तिर्ने पैसा भएन, बाबा–आमा बिरामी हुनुभयो जस्तो बहाना बनाएर पैसा माग्नुपर्ने अवस्था आउँछ । आफैँले फोन गरेर कसैले दिँदैनन् । धेरै किचकिच गर्नुपर्छ । तर, मैले काम गरेको श्रमको एक रुपैयाँ पनि त्यत्तिकै छोड्दिनँ । अहिलेसम्म माया मारेको पनि छैन र मार्दिनँ पनि ।’

केही फिल्मबाट उनले केही रकम उठाउन बाँकी रहेको बताइन् तर तत्काल नाम खुलाउन चाहिनन् । ‘अति भयो भने भन्छु ल,’ उनले भनिन् ।

अभिनेता कामेश्वर चौरसिया अधिकांश फिल्म निर्मातासँग पारिश्रमिकको समस्या भोगेको बताउँछन् । ‘यो फिल्म क्षेत्र यति अनप्रोफेसनल छ कि काम गरेको पैसा पनि भिख मागेजसरी माग्नुपर्छ, मैले धेरै फिल्मको पैसा काम गरेको धेरै महिनापछि पाएको छु । तर, त्यसका लागि धेरै गिरेर, धेरै रोएर, बिलौना गर्नुपरेको छ’, उनले भने ।

यस विषयमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग सम्पर्क गर्दा उनले फिल्म क्षेत्रमा यस्ता अव्यावसायिक प्रवृत्ति रहेको बताए । ‘कोही पनि कसैको मारमा पर्नुहुँदैन, कसैमाथि पनि अन्याय हुनुहुँदैन’, उनले भने, ‘यदि कलाकार या प्राविधिकले निर्माताबाट पैसा नपाएको भए उहाँहरूले सम्झौता पत्रसहित आएर हामीकहाँ उजुरी गर्न सक्नुहुन्छ । हामीले न्यायिक समिति बनाएका छौँ । त्यही समितिमार्फत समस्या सुल्झाउने प्रयत्न गर्छौं । भएन भने कानुनी बाटो रोज्न सुझाव दिन्छौँ ।’ यसरी धेरै केस मिलाइसकेको उनले बताए ।

हचुवामा फिल्म बनाउँदा समस्या

अभिनेता दयाहाङ राई नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकको समस्या सामान्य बनिसकेको बताउँछन् । ‘यो त फिल्म निर्माणमा अब सामान्य प्रक्रियाजस्तै भइसक्यो,’ उनी भन्छन्, ‘सुरु–सुरुमा मैले यो समस्या धेरै भोगेँ । त्यसैले पछिल्लो समय कडा सर्तसहित काम गर्न थालेको छु । फिल्मको काम सक्दासम्म पारिश्रमिक लिइसकेको हुन्छ ।’

पुराना धेरै फिल्मको पारिश्रमिक त उनले माया मारिसके, कुन फिल्मबाट कति नपाएको भनेर उनले भन्न चाहेनन् । ‘फिल्म नबुझी, फिल्ममा लाग्ने सक्ने खर्चको स्पष्ट आँकलन नगरी हचुवामा फिल्म बनाउन आउँदा यो समस्या भएको देखिन्छ,’ उनले भने, ‘सही नियतले राम्रो कन्टेन्टमा फिल्म बनाउन आएकासँग धेरैजसो यस्तो समस्या देखिँदैन । कतिपय अवस्थामा कलाकार र निर्माता दुवैपक्षबीच मनमुटाव हुँदा पनि यो समस्या उत्पन्न भएको सुनिन्छ । कहिलेकाहीँ कलाकारले पनि सम्झौताअनुसार फिल्मको प्रचारमा नसघाएको जस्तो गुनासो आउने गर्छ । हामीले पारिश्रमिकको समस्या उठाइरहँदा निर्मातासँग गरेको सम्झौतालाई पूर्ण कार्यान्वयन गर्नचाहिँ चुक्नुहुँदैन ।’

म्युजिक भिडियोमा पनि समस्या

धेरै फिल्म कलाकारहरू एक दिनमै काम सकिने हुँदा म्युजिक भिडियोलाई सजिलो कमाइको माध्यमका रुपमा लिन्छन् । छिटो काम सकिने हुँदा प्रायःजसो सम्झौता पत्र नबनाई मौखिक सम्झौताकै भरमा काम हुने गर्छ । र, त्यही कारण धेरैजसो पारिश्रमिकको समस्या उत्पन्न हुने गरेको बताउँछन्, अभिनेता पुष्प खड्का ।

‘मैले अहिले फिल्मबाट पैसा पाउँन बाँकी छैन, ढिलो–चाँडो पाएको अनुभव छ’, उनले भने, ‘तर, म्युजिक भिडियोमा चाहिँ यस्तो भोगेको छु । म्युजिक भिडियोमा गरेको कामबाट करिब १० लाख रकम उठाउन बाँकी छ । तर, काम सकिएपछि सबै गायब हुन्छन्, म्यासेजको रेस्पोन्स दिँदैनन्, फोन उठाउँदैनन्, के गर्ने, कसो गर्ने, सम्झौता पत्र पनि बनाएको अवस्था छैन, त्यसैले म त अलमलमा छु ।’

प्राविधिकको पनि उही समस्या

फिल्म प्राविधिकहरूले झन् पारिश्रमिकको समस्या झेल्नुपर्ने बताउँछन्, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा । ‘चल्तीका स्टार त पैसा नपाएको गुनासो गरिरहेका छन्, झन सबैभन्दा कमजोर अवस्थाका प्राविधिकलाई कतिसम्म हेपिन्छ होला, तपाईं आफैँ कल्पना गर्नुस् न’, उनी भन्छन्, ‘ठूल्ठूला स्टारका फिल्मले समेत प्राविधिकलाई पैसा नदिएर हामीकहाँ गुनासा आएका छन् । धेरै केसहरू सल्टाएका छौँ । कतिपय अवस्थामा पैसा नतिरेसम्म फिल्मको सेन्सरसम्म रोक्न भूमिका खेलेका छौँ । लकडाउनका बेला प्राविधिक झन् समस्यामा छन् । यस्तो बेला उनीहरूको दिन बाँकी पैसा तिरिदिए उनीहरूलाई ठूलो राहत हुन्थ्यो ।’



 

प्रतिक्रिया