Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

तातो सडकपेटीमा कोरोना संक्रमित

तातो सडकपेटीमा कोरोना संक्रमित

राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । 

ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो । ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । 

बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी÷सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो । साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे । 

चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

काठमाडौं आइपुगेपछि उनले साँखुमा काम पाए । तर, तीन दिन मात्र काम गरेपछि साहुले नयाँ अर्डर आएको छैन, आयो भने बोलाउँला भनेर कामबाट निकाले । फेरि काम सुरु हुने आशामा उनी १७ दिनजति साँखुमै बसे । तर, साहुको फर्निचरमा काम सुरु भएन । 

परिवार पाल्न रोजगारीको खोजी गर्दै राजधानी आएका सोमबहादुर आपैmँ भोकै पर्न थाले । त्यसैले उनी जीवन जोगाउन काठमाडौंको मुख्य सहरतर्फ आए । केही रात पशुपतिमा बिताएपछि उनी मैतिदेवी आएर रोकिए जहाँ एउटा समूहले निःशुल्क खाना वितरण गरिरहेको छ । ‘घरमा कमाउने कोही छैन,’ बोल्दाबोल्दै खोक्न थाल्छन्, अनि रोकिएर भन्छन्, ‘दुई–चार पैसा लिएर आउँछु भनेर आएको, आफ्नै बिजोग भयो ।’ 

‘पैसा लिएर आउँछु भनेको थिएँ, रोग बोेकेर घर जान सकिनँ, अस्पतालमा भर्ना हुन पैसा छैन । अबचाहिँ सडकमै मर्छु भन्ने लागेको छ,’ ज्वरो र अनिदोंले सुन्निएका उनका आँखा आँशुले भरिए ।

सोमबहादुरको संघर्ष सकिएको थिएन, भदौ पहिलो साता उपत्यकामा निषेधाज्ञा सुरु भयो । अब उनी न घर जान पाए, न काम पाए । उनी सडकमै वास बस्न थाले । ‘बिहान–बेलुका मनकारीहरूले दिएको खाना खाएर पेट भर्न थालेँ । दिनभर कामको खोजीमा सहर चहार्थेँ । तर, कतै काम नै पाइनँ,’ उनले वृत्तान्त सुनाए ।

निजगढमा लामाकी श्रीमती मात्र छिन् । दसैँमा श्रीमान् पक्कै आउँछन्, पैसा ल्याउँछन् र ऋण तिरिएला भनेर उनी कुरेर बसेकी छिन् । ‘घरमा जहान मात्रै छिन् । कमाएर ल्याउँछ भनेर पर्खिरहेकी होलिन्,’ उनी सुनाउँछन् । 

कमाउन आएका उनले रोजगारी पाएनन् । सडकमै भए पनि मनकारीले दिएको खाना खाएर गुजारा गरिरहेका थिए । कामको खोजी जारी थियो । तर, दौडिँदा–दौडिँदै उनी कतिवेला संक्रमित भए, थाहै भएन ।

एक साताअघि उनलाई ज्वरो आउन थाल्यो । वेलावेला खोकी पनि लाग्न थाल्यो । ‘पाटीमा सुतेको हुनाले चिसो लाग्यो कि भनेर मैले सुरुमा त वास्ता गरिनँ,’ उनी भन्छन्, ‘तर, खाना खाने रुचि पनि हराउँदै गयो । साँझ–साँझ बेतोड ज्वरो आउन थाल्यो, खोकी पनि बढ्न थाल्यो । त्यसपछि यो त कोरोना हुन सक्छ भनेर मान्छेहरूले शंका गरे ।’ 

सोमबहादुरलाई पनि कोरोना हो कि भन्ने आशंका लागेको थियो । तर, जाँच गर्न पैसा थिएन, जाने कहाँ थाहा थिएन । त्यसैले उनले मैतिदेवी क्षेत्रमा खाना वितरण गर्ने प्रदीप घिमिरेलाई आफ्नो कथा सुनाए । प्रदीपले उनलाई टेकुस्थित अस्पतालसम्म जान गाडीभाडा भनेर सय रुपैयाँ दिए ।

२१ गते बिहानै उनी टेकु पुगे । जाँचका लागि स्वाब दिए । २२ गते बिहान अस्पताल पुग्दा रिपोर्ट तयार थियो । ‘म त बिहान साढे ६ बजे पुगेँ रिकार्ड लिन, डाक्टरले औषधि किनेर खानुहोस् भन्यो,’ ओपिडी पुर्जा देखाउँदै उनले भने, ‘आराम गर्नुहोस् मात्र भन्यो । कोरोना लाग्यो पनि भनेन, लागेन पनि भनेन । मलाई पनि ज्वरो मात्र आएका रहेछ भन्ने भयो ।’

डाक्टरले औषधि किन्न भनेका थिए, गाडीभाडाबाट बचेको चानचुन पैसा बोकेरै उनी फार्मेसीमा गए । फार्मेसिस्टले रिपोर्ट हेरेर भने, ‘तपाईंलाई त कोरोना भएको छ, किन यसरी हिँड्नुभएको ? तपाईंलाई नै उपचार गर्नुपर्छ । एक्लै बस्नुपर्छ ।’

कस्तो विडम्बना ! राजधानीको सरुवा रोग अस्पताल जहाँ आएका सिकिस्त बिरामीलाई भर्ना गर्ने, आइसोलेसनमा राख्ने त परै जाओस्, कोरोना लागेको छ भनेर भनिदिने न्यूनतम कर्तव्यसमेत अस्पतालले पूरा गरेन । अस्पतालले एक्लो सोमबहादुसँग मात्र होइन, समाजसँग पनि गम्भीर खेलबाड गरिरहेको छ भन्ने यसैबाट पुष्टि हुन्छ । 

डाक्टरले कोरोना हो भनेका थिएनन्, मेडिकलको मान्छेले भनेर मात्र कहाँ हुन्छ ? सोमबहादुरलाई अझै पत्यार लागेको थिएन । त्यसैले उनले आफूलाई खाना दिने प्रदीपलाई रिपोर्ट देखाए । प्रदीपले पनि कोरोना हो भनिदिए । 

‘ज्वरो आयो, सास फेर्न गाह्रो भयो, खोकी लाग्यो भनेपछि उहाँलाई जाँच गराउनुहोस् भनेर टेकु पठायौँ,’ प्रदीप भन्छन्, ‘अस्पतालले भने पजिटिभ रिपोर्ट हातमा थमायो । तर, उहाँलाई कोरोना लागेको जानकारी गराएन ।’ 

यो विषयमा हामीले टेकु अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीसँग जिज्ञासा राखेका थियौँ । उनले आफ्नो जिम्मेवारी लिन चाहेनन् । उनले भने, ‘हामी त स्वाब संकलन गर्ने र जाँच गर्ने मात्र हो । को संक्रमित भयो, को भएन । कन्ट्याक्ट ट्रेसिङ गर्ने र संक्रमितलाई अस्पतालसम्म पुर्याउने काम इडिसिडी (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा)को हो ।’

तर, व्यक्तिलाई हातमा रिपोर्ट दिँदा पनि कोरोना पजिटिभ छ है भनेर किन भनिएन भनेर प्रतिप्रश्न गर्दा उनले भने, ‘रिपोर्ट लिने मान्छेहरूको भिड हुन्छ, त्यस्तो अवस्थामा कतिपय संक्रमितको रिपोर्ट पनि जानकारी नभईकन जान्छ ।’

उता रिपोर्ट पजिटिभ हो भन्ने थाहा पाएपछि सोमबहादुर बिलखबन्दमा परे । ‘पैसा लिएर आउँछु भनेको थिएँ, रोग बोेकेर घर जान सकिनँ, अस्पतालमा भर्ना हुन पैसा छैन । अबचाहिँ सडकमै मर्छु भन्ने लागेको छ,’ ज्वरो र अनिदोले सुन्निएका उनका आँखा आँसुले भरिए ।

ज्वरो आएको आठ दिन भयो, कोरोना संक्रमण पुष्टि भइसकेपछि तीन दिनसम्म उनी सडकमा थिए । कोभिड लागेका नागरिक कहाँ छन्, कुन अवस्थामा छन्, उपचार पाइरहेका छन् कि छैनन्, राज्यलाई न जानकारी छ न चासो । कोभिडले लखतरान भएर सकडमा हिँड्दा व्यक्ति र समाजको जीवनमा जोखिम बढेको भन्दै प्रदीपले नै उनलाई अस्पताल वा आइसोलेसनमा पुर्याउने प्रयास गरिरहेका थिए । सुखद संयोग, हामीले सोमबहादुरसँग संवाद गरिरहेको क्षणमै उनलाई लिन एम्बुलेन्स आइपुग्यो । प्रदीपको हारगुहारमा गोकर्णेश्वर नगरपालिकाको एम्बुलेन्स त आयो, तर अस्पताल कहाँ लग्ने ? उपाय केही लागेन । ‘अस्पतालले कोरोना लागेको पनि जानकारी गराउँदैन । संक्रमित मान्छे सडकको वास हुँदा सरकार कहाँ छ ?’ प्रदीपले प्रश्न गरे । 

सिकिस्त बिरामी सडकमा हुँदा ज्यानकै जोखिम हुने देखेपछि उनले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यसँग सहयोग मागे । वैद्यको सहयोगमा आइतबार मध्याह्न दहचोकस्थित मनमोहन अस्पतालमा पठाइयो । एम्बुलेन्स चढ्दै गर्दा लामाले राहतको सास फेरे र भने, ‘अब त बाँच्छु होला हजुर !’

लामो संक्रमित देखिए पनि उनीसँग खाना खाने ३० भन्दा बढी व्यक्ति र उनी सुतेकै पाटीमा सुत्ने ६ जनाले अझै कोरोना जाँच गराउन सकेका छैनन् । संक्रमण देखिएको रिपोर्ट दिँदा त जानकारी नगराउने यो राज्य संयन्त्रले सम्पर्कमा आएका व्यक्तिलाई सम्पर्क गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ला ? गर्यो भने समाचार अवश्य आउनेछ । नयाँपत्रीका 

प्रतिक्रिया