छाउगोठ भत्काइयो , अनुगमन भएन

मेनुका ढुंगाना (अछाम)
गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका ३ सिद्येश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । त्यसपछि अछाममा छाउगोठ भत्काउने अभियानले तिव्रता पायो । दश स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढ्यो । पार्वतीकोे छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयको निर्देशन , प्रहरीको नेतृत्वमा गोठ भत्काउन थालिएकोे हो । तर कोरोना भाइरसको त्रास फैलिएपछि भने उक्त अभियान ओझेलमा परेको छ ।

‘कानुनको डरले धेरै महिलाहरु घरमा बस्न थालेका थिए । धेरैले अझै त्यसलाई निरन्तरता दिएका छन्’ मंगलसैन नगरपालिका –५ की कल्पना ढुंगानाले भनिन् ,‘जनप्रतिनिधि , प्रहरी ,प्रशासनको सक्रियता कम भएपछि केहि महिलाहरु गोठमा जान सक्ने अवस्था पनि छ । यसलाई केहि समय अनुगमन गरिराख्न जरुरी छ ।’ उनले भनिन् । कोरोना भाइरसको त्रास समुदायसम्म फैलिएपछि गोठ भत्काउने , जनचेतना जगाउनेजस्ता थुप्रै कार्य ओझेलमा परेको उनले बताइन् । ‘पहिले पनि छाउगोठमा कसैको मृत्यु हुनेबेला मात्रै  अभियान चल्थ्यो । फेरी रोकिन्थ्यो । यसपटक भने अभियानमा धेरै स्थानीयले साथ दिएका थिए ।

कोरोनाको सन्त्रासले यो विषयमा बहस हुनै छोड्यो । अनुगमन पनि भएन ।’ पढेलेखेका महिलाहरु नै महिनावारी भएको बेला घर नजिक जान नसकेकोे अवस्थामा प्रहरी र जनप्रतिनिधिले जनचेतनासहित छाउगोठ भत्काउने अभियानले राम्रो सन्देश दिएको पंचदेवल बिनायक नगरपालिका ८ की सामाजिक अभियान्ता राधिका शाही बताउछिन् । ‘एक जना महिलाले मात्रै छाउगोठमा नजानुहोस् भन्दा समाजले एक्लो बनाउँदै आएको थियो । पढेलेखेका महिलाहरु नै नबुझे जस्तो गर्थे’ अनुभव सुनाउँदै भन्छिन् ,‘छाउका कुरा गरे अनिष्ट हुन्छ भन्ने समाज प्रहरी गाउ“मा चेतना सहति छाउगोठ भत्काउन आएपछि बदलिएको छ । यो बेला रोगबाट बच्न अभियान ओझेलमा पर्यो । तर निगरानि कसै न कसैले गर्नै पर्छ ।’ प्रहरी प्रशासनबाट  प्रतिनिधिहरु गाउँमा गएर मात्रै परिवर्तन सम्भव भएको उनको बुझाइ छ ।‘ बाहिरबाट प्रहरी र प्रशानका प्रतिनिधि गाउँमा गएर अभियान चलाउन सक्ने अवस्था छैन । तर प्रत्येक समुदायमा जनप्रतिनिधि छन् । उनीहरुलाई पनि यती ठूलो अभियान ओझेलमा परेकोमा चिन्ता हुनुपथ्र्यो’ उनले भनिन् ‘तर जनप्रतिनिधिले चासो दिएका छैनन् । गाउँमा उनीहरुको सक्रियता बढ्नुपर्छ ।’ सिंगो गाउँका महिला गोठ भत्काउन तयार भएको बेला २÷४ जना महिला त्रिपाल टा“गेर बस्न सक्ने अवस्था आउन सक्ने उनी बताउछिन् । ‘सतप्रतिशतले भनेको मान्छन् भन्ने छैन । केहि महिला त्रिपालमुनि बस्न सक्छन् । उनीहरुलाई सम्झाउन सबैले लाग्नुपर्छ । यसरी अभियान ओझेलमा पर्दै जाने हो भने फेरी गोठ बन्न सक्ने अवस्था आउनसक्छ ।’ अभियान पहिले गाउँको ७० प्रतिशत भुभाग देवीदेउताको नाममा भएकाले बारलामा महिनावारी भएको बेला गोठ र ओडारमा महिलाहरु बस्ने गरेको उनले बताइन् ।

‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रुपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा छ । तर , देउताकै कारणले गोठ र ओडारमा महिनावारी हँुँदा बस्थे । उनीहरुलाई गोठ भत्काउने अभियानले नै घरमा बसाएको हो ’ बारलाकी अर्कि स्थानीइ रुपमती शाहीले भनिन् ,‘छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि सबै डराएका छन् । सबैका गोठ भत्किए । धेरैले घरमा बस्न सुरु गरेका छन् ।’ उनका अनुसार जनचेतना मात्रैले छाउगोठमा बस्न रोकिने छैन । कानुन अनुसार कारबाहि अघि बढाए सबै घरमा बस्न र बसाउन बाध्य हुने छन् ।‘विभिन्न खालका जनचेतनामुलक कार्यक्रम त पहिले पनि भएका हुन् । घरमा बस्छु भनेकै भरमा धेरी गाविस छाउपडी गोठमुक्त घोषणा समेत भए’ उनले भनिन् ,‘कार्यक्रममा बस्दा सम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरु घरमा गएर गोठमा बसाउछन् । बसाउन बाध्य पार्छन् ।’ उनका अनुसार जनचेतनासँगसँगै कानुन कार्यान्वयन समेत गरे छाउपडी कुप्रथा न्युनिकरण हुनेछ ।