Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्‌। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्‌।  कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका हुन्‌। होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्‌। पाङमा सलह छोप्दै गरेका एक बालकले भने, 'सलह बेचेर आएको पैसा ममी (आमा) लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।'

‘बागलुङका होटेलमा सलहको बिक्री राम्रै भएको जस्तो लाग्यो,’ कुस्मा-१ का वडा सदस्य वीरेन्द्र रिजाल (खगेन्द्र) ले भने, ‘बागलुङ र पाङ जोड्ने गरी हालै मात्र सञ्चालनमा आएको लामो पुल तरेर बागलुङबाट बच्चाहरू बोतल र बोरा बोकेर आएका देखिन्छन्।’ बागलुङ बजारमा बस्ती बाक्लो भएको र खाद्य बाली नलगाइएका कारण बालबालिकाहरू सलह समात्न पर्वतको पाङसम्म आउने गरेको उनले बताए। अहिले मकै रहेको तथा कोदो र धान लगाउने समय भएकाले त्यही खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको रिजालले जानकारी दिए।

सलह छोप्न गाउँ र सहर दुवै ठाउँका बालबालिकाहरू पाङमा जम्मा हुने गरेका छन्‌। बालबालिकाले जम्मा गरेको सलह बजार क्षेत्रमा रहेकाहरूले होटलहरूमा बिक्री हुने गरेको र गाउँ क्षेत्रमा रहेका कतिपयले भुटेर खाने गरेका छन्‌। पर्वतस्थित कुस्माका होटलहरूमा फ्राई गरिएको एक प्लेट सलह खान २०० रुपैयाँसम्म तिर्नुपर्छ। थाहाखबर

प्रतिक्रिया