Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

राजनीतिमा युवाको बढ्दो आकर्षण भन्छन ‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

राजनीतिमा युवाको बढ्दो आकर्षण भन्छन ‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल चुनाव लडेरै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। यो खबर सुनेपछि पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बधाई दिइरहेका छन्।

९ कक्षा पढ्दादेखि नै उनी नेविसंघको राजनीतिमा लागेकी थिइन्। सानोठिमी क्याम्पस भक्तपुरमा उनले नेविसंघबाटै स्ववियू सदस्य पनि जितिन्। नेविसंघकै राजनीतिबाट उनी मातृ पार्टी कांग्रेसको राजनीतितर्फ मोडिएकी छन्।

कांग्रेसमा कति आउँछन् महिला महाधिवेशन प्रतिनिधि?

मंसिरमा हुने कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि भदौ १८ देखि वडाहरूमा अधिवेशन भइरहेका छन्। सोलुखुम्बुको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (क) को नेचासल्यान गाउँपालिका वडा नम्बर ३ बाट पूजा पनि यसपालि क्षेत्रीय प्रतिनिधि बनेकी छन्- त्यो पनि चुनाव लडेरै!

भदौ २२ मा भएको वडा अधिवेशनमा पूजाले खसेकोमध्ये सबैभन्दा धेरै मत ल्याएकी थिइन्। वडा अधिवेशनमा दुई सय ६३ मत खसेकोमा पूजाले दुई सय दुई मत प्राप्त गरेर बहुमतका साथ क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी हुन्।

पहिलेदेखि नै कांग्रेस राजनीति गरेकाहरूलाई यसपालि युवा नेताहरूले भोटमा पछि पारेका छन्। यहाँ पनि त्यस्तै भयो, गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले जम्मा एक सय ४० मत ल्याएर क्षेत्रीय प्रतिनिधि हुँदा पूजाले दुई सय दुई मत ल्याइन्।

समाज परिवर्तन र रूपान्तरणमा भूमिका खेल्न सकिन्छ भनेर आफू राजनीतिमा होमिएको उनले बताइन्। उनलाई राजनीतिमा जान परिवारले साथ दिएको छ।

राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह

 

‘हामी विकट गाउँमा हुर्कियौं। हाम्रो परिवार नै समाजसेवा र राजनीतिमा थियो, त्यो पृष्ठभूमिले राजनीतितर्फ मलाई डोहोर्‍यायो,’ पूजाले सेतोपाटीसँग भनिन्, ‘हजुरबुवा र बुवा राजनीति र समाजसेवामा जुटेको मैले देखें। त्यसले पनि मलाई राजनीतिमा जान हौसला मिल्यो।’

उनले आफू राजनीतिमै समर्पित हुने र समाज परिवर्तन गर्ने अठोटसमेत लिएकी छन्।

‘मेरा अधिकांश साथीहरू जागिरे छन्,’ उनले भनिन्, ‘मलाई जागिर खान उतिसाह्रो मन भएन, राजनीतिमै लागें। नेतृत्वका लागि हस्तक्षेपकारी भूमिका खेल्न मलाई मन छ। अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ।’

समाज रूपान्तरण र देश विकासका लागि पनि युवा शक्तिको आवश्यकता परेको उनले बताइन्। उनले राजनीतिमै भविष्य देखेकी छन्। तर कसैले नेतृत्व हस्तान्तरण गरिदेला भनेर कुर्ने नभई नेतृत्वका लागि भिड्ने पक्षमा उनी पुगेकी छन्।

‘नेतृत्व कसैले हस्तान्तरण गर्ने वा सुम्पने भन्ने होइन। आममानिसको मत जितेर आफूले लडेर प्राप्त गर्ने हो,’ पूजाले भनिन्, ‘विदेशतिर ३०/३५ वर्ष उमेरका नेताले नै देशको नेतृत्व गरेका छन्। हामी पनि यो आँट किन नगर्ने? युवाले यो आँट गरौं भन्ने हो।’

युवाहरू कांग्रेसको राजनीतिमा आउँदा अग्रजहरूले आफूहरूलाई विस्थापित गर्न आएको भन्ने रूपमा बुझ्न नहुने उनले बताइन्।

‘अन्तिम सास रहुन्जेल पनि राजनीतिमै रहने र कार्यकारी पदमै बसिराख्ने परिपाटीले देशलाई राम्रो गर्दैन। अग्रजहरू हाम्रो मार्गदर्शक हुने र युवालाई काम गर्न छाड्नुपर्छ,’ पूजाले भनिन्।

आठ तहमा हुँदैछ कांग्रेसको अधिवेशन, कुन तहमा को हुन्छन् मतदाता?

उनले पार्टीले संगठन निर्माण र विचार निर्माणजस्ता कुरामा ध्यान दिन नसकेको पनि बताइन्।

‘हामीलाई कुनै प्रशिक्षण नै छैन। यो नेतृत्वको कमजोरी हो,’ उनले भनिन्, ‘कांग्रेसले आफ्ना सिद्धान्त युवालाई बुझाउन जरूरी छ। बा-आमा कांग्रेस बनेकोले छोराछोरी कांग्रेस बन्ने होइन, सिद्धान्त बुझेर लागौं।’

उनले पार्टीका अधिवेशन र भातृ संघसंस्थाका अधिवेशन समयमै नहुँदा नेतृत्व नयाँ पुस्तामा नगएको पनि बताइन्। ‘मनोनित (टिके) प्रवृत्ति हट्नुपर्छ,’ उनले भनिन्, ‘यस्तो प्रवृत्तिले कार्यकर्ता र जनतासँग नेताको दुरी बढाउँछ।’

उनले नयाँ र पुराना पुस्ताबीच सहकार्यबाटै पार्टी र देश निर्माणमा भूमिका खेल्न सकिने बताइन्।

यसैपालि क्रियाशील सदस्य बनेकाहरू कांग्रेसका कुन-कुन पदमा उठ्न पाउँछन्?

यता गोरखामा पनि क्षेत्रीय प्रतिनिधिमा युवाहरू आएका छन्।  भीमसेन थापा गाउँपालिका वडा ८ मा भदौ १८ मा भएको वडा अधिवेशनबाट २७ वर्षीय शिवहरि तिमिल्सिना क्षेत्रीय प्रतिनिधि बने।

तिमिल्सिना पनि नेविसंघको राजनीति गर्छन्। द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियू उपसभापति रहेका उनी अब पार्टी राजनीतितर्फ जोडिएका छन्।

‘विद्यालय पढ्दादेखि नै म सामाजिक काममा जोडिएँ,’ उनले भने, ‘नेविसंघमा पनि काम गरियो। हामीजस्तै युवाले आँट गर्ने हो भने फोहोरी राजनीतिलाई सुधार गर्न सकिन्छ। म त आफ्नो ठाउँबाट राजनीति सुधार गर्न होमिएँ।’

उनले अब वडादेखि केन्द्रसम्मै पार्टी र देशको नेतृत्व पनि युवाले सम्हाल्नुपर्ने बेला भइसकेको बताए।

‘कांग्रेसमा मात्र होइन अरू पार्टीमा पनि युवाहरूको हस्तक्षेपकारी भूमिका हुनुपर्छ,’ उनले भने, ‘जोश जाँगर मात्र भएर पुग्दैन युवामा देश विकास गर्ने र समाज रूपान्तरण गर्ने भिजन पनि हुनुपर्छ।’

उनले सेवामा समर्पित राजनीति आवश्यक परेको बताए। ‘अगाडि बढ्न खोज्नेलाई खुट्टा तानेर होइन, हातमा हात दिएर सहयोग गरौं,’ उनले भने, ‘यस्तै सहयोगी युवाहरू नेतृत्वमा पुग्नुपर्छ अनि जनताको सेवक हुनुपर्छ।’ तर गुटको राजनीतिलाई प्रश्रय दिन नहुनेमा उनी सचेत छन्।

‘हामीजस्ता युवा नेताको फेरो समातेर गुटउपगुटमा रमाउन हुन्न। गुटबाट अलग हुनुपर्छ। नेतालाई होइन संस्थालाई बलियो बनाएर जनतालाई सेवा गर्ने हो,’ उनले भने, ‘त्यसका लागि तलैसम्म संगठन बलियो बनाउन जरूरी छ। इमान्दार कार्यकर्ता बनाउन जरूरी छ। अग्रजलाई सम्मान र युवालाई काम गर्ने वातावरण मिलाउनुपर्छ।’

कांग्रेसमा यसपालि धेरै युवाहरू वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधि बनेका छन्। काठमाडौंस्थित पद्मकन्या क्याम्पस पढिरहेकी नेविसंघ नेता सगुन कँडेल पनि यसपालि कांग्रेस राजनीतिमा लागेकी छन्।

गण्डकी प्रदेशअन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर ८ बाट कँडेल सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन्। उनको परिवार राजनीतिमै थियो।

‘हजुरबुवा राजनीति र समाजसेवामा आवद्ध भएकैले यसतर्फ सानैदेखि चासो बढ्दै गयो,’ उनले भनिन्, ‘नेविसंघमा लागेपछि झन् कांग्रेसको सिद्धान्तले मलाई पार्टी राजनीतिमा जानुपर्छ भन्ने लाग्यो। आफ्नो भविष्यभन्दा पनि अरूलाई सेवा गर्ने मन हुनेहरूले राजनीतिमा लाग्ने आँट गर्नुपर्छ।’

अब कार्यकर्ता धेरै उत्पादन गर्नेतर्फ भन्दा पनि युवाहरूलाई स्वदेशमै रोजगार र शिक्षा दिन सक्ने नेतृत्व आवश्यक परेको उनले बताइन्। ‘गाउँमै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सुविधा उपलब्ध गराउन अब स्थापित हुने युवा नेतृत्वले भूमिका खेल्नुपर्छ,’ उनले भनिन्।

उनले पार्टी समावेशी हुनुपर्ने पनि बताइन्। 

‘पार्टी र जनताका अपेक्षा मिलेका छैनन्। सिद्धान्तलाई कांग्रेसले व्यवहारमा प्रस्तुत गर्न अब ढिलाइ गर्न हुन्न,’ उनले भनिन्, ‘नेताका चाकडी गरेर जनताका अपेक्षा पूरा हुँदैनन्। गाउँमा बसेर राजनीति गर्नुपर्‍यो। जनताको समस्या थाहा होस्, समाधान गर्न सकियोस्।’

खुमबहादुर खड्काका छोरा पनि कांग्रेस राजनीतिमा, भन्छन्- बुवाको बिँडो थाम्छु

उनले नेतृत्वमा युवाले हस्तक्षेप गर्दै नयाँ सामाजिक नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन्। ‘जुन नीतिले प्रगतिशील उद्योगी, व्यापारी, श्रमिक नागरिकलाई पनि जोड्न सकोस्,’ उनले भनिन्।

उनले पार्टीमा पुराना पुस्ताका कुरा पनि सुनिनुपर्ने बताइन्। ‘युवाहरू नेतृत्वमा गएपछि पुराना पुस्तालाई बिर्सने होइन। बरू पार्टीभित्रै सम्मान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै जनअपेक्षाअनुसार काम गर्ने हो,’ उनले भनिन्।

कांग्रेसले पहिलो चरणमा ६५ जिल्लामा वडा अधिवेशन गरेको छ। २१ जिल्लाको वडा अधिवेशन बाँकी छ। वडाबाट चयन भएका क्षेत्रीय प्रतिनिधि अब महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार दिन योग्य भइसके। युवाहरू अब महाधिवेशन प्रतिनिधि आए भने कांग्रेसको केन्द्रीय नेताहरू पनि युवाहरू नै आउने सम्भावना देखिएको छ। सेतोपाटि 

प्रतिक्रिया