Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । भारतीय डिफेन्डर चिन्गलेनसाना सिंह कोन्शामको क्रसमा सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे । गोलका लागि हतारिएको नेपाली टिमविरुद्ध काउन्टरमा क्षेत्रीले भारतका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ ।

बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया