एक नायकको अवतार  :  रेखा थापा

‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे ।

उनले टाउको निहुर्‍याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’

मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए पो !

उनी चञ्चल, निर्भीक थिइन् । कुस्ती खेल्न तम्सने । रूख चढ्न उक्सिने ! विद्यालयबाट फर्कंदा केटाहरू निहुँ खोज्थे । उनी जुध्न जान्थिन् । छिमेकका आँपको रूखमाथि चढ्थिन् । साथीसँगी रूखको फेदमा बसेर आँप खाने दाउ हेरिबस्थे । छिमेकीको पारो तात्ने नै भयो, बेपत्तासँग लखेट्न आउँथे । उनी रूखबाटै हाम फालेर टाप, भुँइमा बसेका साथीहरूले गोदाइ खान्थे । टोलभरका दौंतरीलाई भेला गर्थिन् र भए–नभएको गफ दिन्थिन् । यस्ती थिइन्, रेखा थापा ।

उनलाई अनेकथोक गर्न आउँथ्यो । तर, नाच्न मरिगए नआउने ।

धुमधामसँग नाचगानको कार्यक्रम हुँदैथियो । रमझमको माहोल । दौंतरीहरू अभ्यासमा जुटेका थिए । रेखाकी दुई दिदी पनि त्यही भीडमा मिसिए । दुवै नाच्न खुब सिपालु । दुवै हिस्सी परेका । दुवै रसिक ।

दिदीहरू नाच सिक्न क्लब जान्थे । रेखा सुटुक्कै पछि लाग्थिन् । झ्यालबाट चियाएर हेर्थिन् । झ्यालको प्वालबाट देखिन्थ्यो, दिदीहरूले नाचको तालमा कम्मर मर्काएको । लयात्मक ढंगले हात–पाउ चलाएको । उनीहरूलाई सबैले फुर्काएको । लाड–प्यार दिएको ।

रेखालाई लाग्थ्यो, ‘मलाई नाच्न आउँदैन । त्यसैले कसैले भाउ दिंदैनन् ।’ मान्छेहरू भन्थे पनि, प्रेमकुमार थापाकी दुई छोरी उल्कै राम्रा । कान्छी चाहिं काली । खासै राम्री होइनन् ।

एकदिन !

रेखा दौड्दै नाच सिकाउने ठाउँमा पुगिन्, अरूबेला झैं । भित्तामा अडेसिएर एकटकले अरू नाचेको हेर्न थालिन् । नाच सिकाउने गुरु थिए, गज्जबका । चिरिच्याट्ट परेका । कस्तो मोहनी रूप ! उनलाई गुरुसँग पनि बोलौं–बोलौं लाग्यो । तर के निहुँमा बोल्ने ? कुनै बहाना थिएन ।

गुरु स्वयम् उनका नजिक आए । अनि सोधे, ‘नाच्न मन लाग्छ हो, एकपटक ट्राइ गर्छ्यौ ?’

उनले ‘हो’ भन्न सकिनन् । सुस्तरी बोलिन्, ‘मलाई नाच्न त आउँदैन ।’

गुरुले जोड गरे, ‘लु एकफेर नाच ।’

उनी लजाइन्, ‘मलाई खुट्टा हल्लाउन पनि आउँदैन ।’

गुरुले ढाडस दिंदै टेपरेकर्डर प्ले गरे । गीत घन्कियो, ‘खुल गई अखियाँ हमर …।’

त्यहाँ जादू भयो ।

शरीरका अवयवहरूले भाका टिप्यो । हात–पाउको चाल मिल्यो । गीतको भाव अनुहारमा झल्कियो । फनक्क फर्किएर उनले गीतको शब्द–लहरसँग ओंठको लय मिलाइन् । आफूभित्र त्यो नृत्य–कौशल कहाँबाट प्रकट भयो ? उनी स्वयम्ले भेउ पाइनन् ।

सबै छक्क । सन्नाटा छायो एकछिन् ।

अन्ततः गुरुले धाप मार्दै भने, ‘तिमी सक्छ्यौ, राम्ररी नाच्न सक्छ्यौ !’

नाचगानको कार्यक्रम हुने दिन । उनी नाच्नका लागि स्टेज उक्लिइन् । मस्त नाचिन् । प्रशंसा र प्रेमयुक्त तालीको गड्गडाहटले उनको मनोबल हिमाल झैं अग्लियो ।

****

‘हरेक मान्छेभित्र हिरो हुन्छ’

उक्त वाक्यांश उनले यति जोडदार बोलिन् कि, लाग्यो त्यो उनको अन्तरहृदयको कम्पन हो । सिमसिम पानी । वर्षायामको शीतल बतास । पृष्ठभूमिमा लहराइरहेका फूल र हरिया बुट्यानको सिनेम्याटिक फ्रेममा छिन्, रेखा थापा ।

उनको अनुहारमा आयामिक चिनारी छ– अभिनेत्री, निर्मात्री, निर्देशकको । तर, यी उपमा र विशेषणभन्दा आदर्श लाग्छ, हिरो । अर्थात् उनी आफूलाई ‘हिरो’कै रूपमा पेश गर्न चाहन्छिन्, पर्दाभित्र–पर्दाबाहिर ।

मान्छेभित्रको त्यो ‘हिरो’ कसरी जागृत हुन्छ ? कसरी तंग्रिन्छ ? कसरी पदार्पण हुन्छ ?

‘जब उसलाई केही गर्नैपर्ने बाध्यता र संकट आइपर्छ’ यसो भनिरहँदा उनी दृढ देखिइन् । उनको अनुहारमा आत्मविश्वासको आभा पोतियो । ‘बाहिर उभिएर झ्यालबाट चियाइरहेकी एउटी फुच्चीभित्र नृत्य–कला विद्यमान छ । तर, उनी स्वयम्लाई पनि यो कुराको बोध छैन । नाच्नैपर्ने बाध्यता आएपछि मात्र त्यो कला जागृत हुन्छ’ कुनै चिन्तक झैं रेखा बेलिबिस्तार लगाउँछिन् ।

त्यसदिन जसरी संगीतको तालमा उनले आफ्नो शरीरको चाल मिलाइन्, त्यसले उनीभित्रको सुषुप्त कला–कौशललाई तंग्राइदिन्छ । अन्ततः उनको लगाव कलाकारितातर्फ बढ्छ । उनलाई पनि टेलिभिजनमा देखिने ईश्वरी प्रधानहरू जस्तै बन्न मन लाग्छ । सबैको सामुन्ने आफूलाई चिनाउने मोह जाग्छ । अनि पो, उनको कलाकारिता उद्घाटित हुन पुग्छ ।

****

नाच्नै नजान्ने एउटी ‘दबंग’ फुच्ची कसरी रसरंगको दुनियाँमा छलाङ मार्न आइपुग्छिन् ? सौन्दर्य प्रतियोगिता हुँदै कसरी ग्ल्यामरको धरातलमा अवतरण गर्छिन् ? एअर होस्टेजको तारतम्य त्यागेर कसरी सिनेमा क्षेत्रमा आफ्नो साम्राज्य बनाउन आइपुग्छिन् ?

कथासार यस्तो छ ।

सानो छँदा उनलाई नक्कली बन्नुपर्ने । दिदीहरूको नेलपोलिस, गाजल चोरेर लगाउँथिन् । तर, पछि विस्तारै शृंगार मोह भंग हुँदै गयो । उनी कराँते सिक्न थालिन् । केटाहरूको ग्याङमा मिसिएर हिंड्ने भइन् ।

रेखा पहिलो पटक आमाको हात समातेर सिनेमा हेर्न हलमा गइन् । सिनेमो थियो, बेहुली । खचाखच हलमा सिनेमा चलिरहेकै थियो । उनलाई पिसाबले च्याप्यो । कुर्सी मुनि टुसुक्क बसेर पिसाब फेरिदिइन् ।

एकपटक गाउँमा ‘आफ्नो बिरानो’ चलचित्रको छायांकन हुँदैथियो । उनी भीड छिचोल्दै छायांकन हेर्न पुगिन् । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठलाई नाङ्गो आँखाले पहिलो पटक त्यहीं देखिन् । पछि धरानमा सौन्दर्य प्रतियोगिता हुनेभयो, मिस कोशी । उनले भाग लिइन् । त्यहाँ पनि उनले राजेश हमाललाई प्रत्यक्ष देख्न पाइन् ।

सन् १९९९ मा रेखा नेपालमा सहभागी भइन् । उत्कृष्ट दशसम्म पुगिन् । त्यसमै उनले चित्त बुझाउनु पर्‍यो । त्यो उनको कच्चा उमेर थियो । रेखालाई लाग्छ, ‘समय भन्दा अगाडि र समय भन्दा पछाडि केही पनि प्राप्त हुँदैन । त्यो मेरो समय थिएन ।’

बेलामौकामा पत्र–पत्रिकामा उनको फोटो छापिन थालेको थियो ।

संयोग कस्तो भइदियो भने, नरेश पौडेल र छविराज ओझा एउटा चलचित्र निर्माणको तयारीमा थिए । चलचित्रको नाम जुराइएको थियो, हिरो । उनीहरूलाई हिरोइनको लागि नयाँ अनुहार चाहिएको थियो । नजर पर्‍यो, रेखा थापामा ।

 

बुवा र दाजुहरूसँगै रेखा काठमाडौंमा बस्न थालेकी थिइन् । एअर होस्टेजको तालिम लिने सुरसार थियो । भोलिपल्टदेखि उनी तालिममा हाजिर हुनुपर्ने थियो । तर, आज फोन आयो छवि ओझाको । उनले सोचिन्, ‘सिनेमाको मौका फेरि नआउन सक्छ । एअर होस्टेजको तालिम त पछि पनि गर्न सकिन्छ ।’ उनको मनमा अर्को चलाखी पनि आयो । सिनेमामा असफल पनि हुन सकिएला । त्यसपछि एअर होस्टेजतर्फ लागौंला । कम्तीमा एउटा बायोडाटा त थपिन्छ ।

त्यसपछि उनको पाइला मोडियो, सिनेमातर्फ ।

स्क्रिन टेस्टको लागि बोलाइयो । उनी फुरुंग हुँदै गइन् । सबै कलाकार नयाँ थिए । तयारी शुरू भयो । तर, अचानक एउटा कठोर निर्णय सुन्नुपर्‍यो उनले । नरेश पौडेल र छवि ओझाले उनलाई बोलाएर भने, ‘हाम्रो फिल्ममा हिरो राजेश हमाल हुनेभयो । उनीसँग तिम्रो केमेस्ट्री मिल्दैन । तिमी सानै छौं । अर्को फिल्ममा तिमीलाई सम्झौंला ।’

अब रेखा थापाको होश उड्यो । वाक्य बस्यो । हल न चल भइन् ।

रेखा १६–१७ वर्षकी थिइन् । उमेरले सानै भए पनि केटी मान्छे परिपक्व देखिन्छे । त्यसमाथि मेकअपले पनि सघाउँछ । यस्तै सोचेर पुनः रेखा थापालाई प्रवेश गराइयो । राजेश हमालसँग उनले काँध जोडेर अभिनय गर्नुपर्ने भयो । ‘आफ्नो बिरानो’ चलचित्रको छायांकन हेर्न जाँदा त उनी फुच्ची थिइन्, जतिबेला पहिलो पटक उनले राजेश हमाललाई देखेकी थिइन् । रेखालाई श्रीकृष्णले काखमा राखेका थिए । राजेश त सुपरस्टार भइहाले । रेखाले सोचेकी थिइनन्, ‘कुनैदिन राजेश हमालको अनस्क्रिन प्रेमिका, श्रीमती बन्नुपर्ला ।’

तर, प्रवेश विन्दुमै उनी राजेश हमालसँग जोडिइन् । अनि फिल्मी करिअरमा राजेश हमालसँगै उनले सर्वाधिक स्क्रिन शेयर गरिन् ।

हिरोदेखि हिरोसम्म

दक्षिणकाली । छायांकनको पहिलो दिन थियो । बुवाले नै रेखाको टाउको नुहाइदिए । उनी तयार भइन् । हिंड्ने बेला बुवाले भने, ‘एकदम राम्रो गर्नु है ।’

उनी पुग्दा राजेश हमाल सेटमै थिए । रेखाको मेकअप गरिदिए । उनले ऐनामा हेरिन् । ‘बाफ रे, आफैंलाई हेर्दा म होइन जस्तो लाग्यो । नराम्री देखिएँ म त ।’

दक्षिणकाली माथिको सल्लाघारीमा क्यामेरा तैनाथ छ । लाइट, रिफ्लेक्टर तयारी अवस्थामा छ । पहिलो दृश्य गीतको थियो । नृत्य निर्देशक कमल राई । उनले नाच्न सिकाए । रेखाले त्यसै गरिन् । कमल राईले खुशी हुँदै भने, ‘वाउ, राम्रो गर्ने रहेछ यसले ।’ प्राविधिकहरू पनि खुशी भए ।

राजेश र रेखाबीच चिनजान थिएन । राजेश हमालले क्यामेराबाटै रेखालाई हेरे र सोधेछन्, ‘को केटीलाई ल्याएको ? ओठ निचोर्दा त दूध आउला जस्तो छ, सानी छे त । मसँग सुहाउँछ ?’ रेखाको प्रस्तुति देखेपछि उनले निर्देशकतर्फ फर्केर ‘थम्स अप’ गरेछन् ।

फिल्म प्रदर्शन भयो । अपेक्षाकृत रेखाले चर्चा पनि पाइन् । तर एक वर्षसम्म कसैले बोलाएनन्, फिल्मका लागि । यो चरणमा उनले हात बाँधेर बस्नुपर्‍यो । उनमा द्विविधा पैदा भयो । अब सिनेमा नै पर्खेर बस्ने कि अरू केही गर्ने ?

संयोगले अशोक शर्माको फोन आयो । उनले ‘मितिनी’ फिल्म निर्माण गर्दै रहेछन् । रेखा त्यसमा अनुबन्धित भइन् । विपना थापा, दिलीप रायमाझीसँगै उनी पर्दामा देखिइन् ।  यसपछि सिनेमामा उनको अविच्छिन्न यात्रा जारी रह्यो ।

 

रेखा युगको उदय

जसै रेखाको पदार्पण भयो, विपना थापा, निरुता सिंहहरू लाखापाखा लाग्न थाले । अन्ततः सिनेमाको सत्ता नयाँ छिमलकी रेखाको अधीनमा आयो । शहरका भित्ताहरूमा, टेलिभिजन विज्ञापनहरूमा, सिनेमाका पर्दाहरूमा, अखबारहरूमा सर्वत्र रंगिइन् रेखा ।

हामी तीन भाइ, क्रोध, नसिब आफ्नो, बाटुली, किस्मत, कसले चोर्‍यो मेरो मन, हिफाजत जस्ता सिनेमाहरूले रेखालाई ‘नम्बर वान’ को पंक्तिमा उभ्याइदियो ।

नेपाली सिनेमा पुरातन शैली र चिन्तनबाट मुक्त भइनसकेको अवस्था थियो त्यो । पुरुषसत्ताले कब्जा जमाएको सिनेमामा हिरोइनको केवल ‘ग्ल्यामर’ दाउमा राखिन्थ्यो । हिरोइनलाई सुडौल, सुकुमार र कामुक रूपमा त पेश गरिन्थ्यो तर उनीहरूलाई केन्द्रीय चरित्र दिइँदैनथ्यो । हिरोकै हालीमुहाली चल्थ्यो ।

यो परिपाटीलाई भत्काउँदै रेखाले सिनेमाको कप्तानी सम्हालिन् । नेपाली सिनेमाले नारी हिरो पाए । कर्मठ, जुझारु, विद्रोही अवतारमा रेखाले सिंगो कथालाई आफ्नो काँधमा बोकेर हिंडिन् । आफ्नो सिउँदोको रक्षा, अस्मिताको रक्षा, अस्तित्वको रक्षा गर्न नारीले पुरुषलाई गुहार्नु जरूरी छैन, नारी स्वयम् आफ्नो रक्षाकवच बन्न सक्छे । र, पुरुष कुष्ठा र दम्भमाथि लात बजार्न सक्छे । रेखाले सिनेमाबाट यही कुरा पुष्टि गरिरहिन् ।

करीब आधा दशकसम्म रेखाले सिनेमाको पर्दामा विद्रोह गरिरहिन् । छोटो स्कर्ट, फिटिङ्स जिन्स लगाएरै उनले पुरुष कुण्ठा र दम्भमाथि लात बजारिन् ।

करियर उत्कर्षमा रहेकै बेला रेखाले आफ्नो भूमिकालाई अरू फराकिलो बनाइन् । उनी स्वयम् सिनेमा निर्माणमा संलग्न भइन् र सिनेमा मार्फत आफ्नो जीवन–दर्शन, भावना र अडान प्रक्षेपण गरिरहिन् । लंका, रावण, काली, हिम्मतवाली, रामप्यारी, रुद्रप्रिय उनका पछिल्ला सिनेमा हुन्, जसले पुरुष सत्तामाथि धावा बोलिरह्यो ।

अचानक नायक

कहिल्यै टेलिभिजन नहेरेकी, फिल्महल नछिरेकी, रंगीन पत्रिका नदेखेकी दूरदराजकी एउटी किशोरी, जो अचानक नायक बन्छिन् ।

जसलाई अभिनय नै थाहा छैन, फिल्म हेरेकै छैनन्, उसैको काँधमा सिंगो कथा बोकाएर सिनेमा बनाउने हिम्मत गर्छिन् रेखा । आखिरमा जाजरकोट, कालेगाउँकी १५ वर्षीय किशोरी कमला वलीलाई केन्द्रीय भूमिका दिइन्छ । फिल्म बन्छ, मालिका ।

एक अवोध किशोरी, जो सामाजिक थिचोमिचोको शिकार छिन् । उनी आफैंलाई लुकाएर, दबाएर बसेकी छिन् । त्यो किशोरीलाई कुरीतिको पर्खालबाट बाहिर निकालिन्छ र आफ्नो सामथ्र्य पहिल्याउन सिकाइन्छ । मालिकाको एक दृश्यमा रेखा भन्छिन्, ‘छोरीको शरीर लिएर के जन्मिएकी थिएँ, हजार लडाइँ लड्नुपर्‍यो । बारम्बार छोरी हुन सिकायो यो समाजले । तर, म मान्छे बन्न चाहन्थें ।’

यो सिनेमाको कथा रेखाको जीवन–दर्शनको प्रतिबिम्ब पनि हो ।

रेखा स्वभावैले निडर, जुझारु र स्पष्ट छिन् । धकाएर, लुकेर, खुम्चिएर, दबिएर बसेका ती तमाम महिलाका लागि उनी एक आदर्श हुन्, जो पितृसत्तामाथि आफ्नो धाक जमाएर राजीखुशी बाँच्न चाहन्छन् । आफ्नै मर्जीमा ।

रेखा थापाको एक दिन

रेखा थापाको दैनिकी फेरिएको छ । अहिले सिनेमाको दौडधूप छैन । विश्रामको यो क्षणमा उनले ती कुराहरू भोग गर्दैछिन्, जो जीवनका विभिन्न चरणमा छुटेका थिए । १६ वर्षमै उनी सिनेमामा लागिन् र रसरंगको दुनियाँले उनलाई कहिल्यै थकाइ मार्न दिएन ।

यसबीचमा उनका धेरै साथी–संगत छुट्यो, आफन्त–इष्टमित्रसँगको सामीप्य छुट्यो, पारिवारिक सुख छुट्यो । मनमौजी बस्न, खान र सुत्न पाइनन् । कुनै बखत त यस्तो हुन्थ्यो, दिनभर सुटिङ, रातभर सुटिङ । थकानले चुर । उनले आफ्नो निजी जीवन भन्नै पाइनन् ।

कोरोनाकालमा उनी त्यही छुटेका कुराहरू भोग गर्दैछिन् । साथीसंगीसँग रमाउने, परिवारसँग समय बिताउने, पुस्तकहरू पढ्ने, आध्यात्मिक चिन्तन गर्ने ।

बिहान साढे ६ बजेपछि उनले ओछ्यान छाड्छिन् । पहिले–पहिले बिहान सबेरै उठ्थिन् । तर, यसबीचमा उनको तौल ४८ केजी भयो । अहिले केही तौल बढाउनका लागि सुत्ने अवधि लम्ब्याएकी छिन् ।

उठेर मनतातो पानी पिउँछिन् । त्यसपछि तात्तातो कफी पिएसँगै उनको दैनिकी शुरू हुन्छ । जीम जान्छिन् । जीममा डेढ घण्टा बित्छ । त्यहाँबाट फर्केपछि नुहाईधुवाई गर्छिन् । पूजाआजा गर्छिन् । ध्यान गर्छिन् । ‘२० वर्षमा जीवनका धेरै कुरा छुटे’ रेखा भन्छिन्, ‘त्यही कुरा फेरि पाउने प्रयासमा छु । पढ्ने, बुझ्ने, सुन्ने, ध्यान गर्ने, आराम गर्ने ।’

११ बजे खाना खाने समय । अहिले उनलाई सादा दाल, भात, तरकारी, अचार, रोटी रुच्छ । विगतमा उनलाई माछामासु औधी मन पथ्र्यो । अहिले माछामासुमा उस्तो रुचि छैन । सागपात र सलादमा जोड दिन्छिन् । खानामा नाइँनास्ति छैन, भरपेट खान्छिन् ।

उनी मध्याह्नको दुई घण्टा एउटा अनलाइन कोर्स गरिरहेकी छिन् । तर, त्यो कस्तो कोर्स ? स्पष्ट खुलाउन चाहँदिनन् । यति भन्छिन्, ‘जे होस् त्यो जीवनका लागि निकै उपयोगी चिज हो ।’

विवाद र चर्चाको गोलचक्कर

‘रेखा थापा कि देखा थापा ?’ उनका पहिरन शैलीलाई कटाक्ष गर्नेहरूले यसै भनिरहे । अक्सर छोटो स्कर्टमा ठाँटिने रेखालाई पहिरन शैलीसँग जोडेर ठट्टाको विषय बनाइरहे ।

करिअरको उत्कर्षमा छँदा उनको चर्चा त भयो नै, विवादमुक्त भने रहन सकिनन् ।

उनले २०५७ सालमा छवि ओझासँग विवाह गरिन् । तर, यो सम्बन्ध दीर्घायु रहन सकेन । २०७३ सालमा उनीहरूले औपचारिक रूपमा आफ्नो दाम्पत्य जीवन टुंग्याए ।

उनले आफ्नो फिल्म ‘हिम्मतवाली’बाट नायक सुदर्शन गौतमलाई डेब्यु गराइन् । पछि उनैसँग अफेयर रहेको हल्ला चल्यो । उनले अभिनेता अनमोल केसीलाई ‘मेघास्टार’ उपमा दिइएकोमा कडा टिप्पणी गरेकी थिइन् । यसपछि भुवन केसी र रेखा थापाबीचको सम्बन्ध चिसिएको हल्ला चल्यो ।

एक राजनीतिक कार्यक्रममा प्रचण्डसँग छमछमी नाचेको कुराले पनि रेखा थापालाई चर्चामा ल्याइरह्यो ।

राजनीतिक अवतरण

‘राजनीतिमा पनि नायक बन्छु’ भन्दै रेखा राजनीतिमा होमिइन् ।  संविधानसभाको निर्वाचनताका उनी माओवादीमा प्रवेश गरेकी थिइन् ।

माओवादीबाट राजनीतिक जीवन शुरू गरेकी उनी अहिले भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिन् । राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चुनिएकी हुन् ।

यसबीचमा उनी विभिन्न राजनीतिक कार्यक्रममा देखा परिसकेकी छिन् । कहिले आमसभा, कहिले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रेखाको सक्रियता बढ्दो छ । रेखा भन्छिन्, ‘कलाकारले गीतसंगीत, सिनेमा आदिको माध्यमबाट समाजमा जागरण ल्याउन सक्छ, कुनै मुद्दा उठाउन सक्छ । तर, कुनै पनि सुधार र विकासका लागि राजनीतिबाट मात्र संभव छ । म स्पष्ट विचार, अडान र आदर्शसहित राजनीतिमा लागेकी हुँ ।’ 

अनलाईन खबरबाट साभार