Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख : मिमी

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख  : मिमी

भारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ ।

राजस्थानका एक शहरमा बस्ने मिमी (कृति सेनन)को सपना बलिउडको हिरोइन बन्ने हो । उसलाई पैसाको जरुरत छ । अर्कोतर्फ ड्राइभर भानुप्रताप पाण्डे (पंकज त्रिपाठी) एक अमेरिकी दम्पत्ती लिएर घुमिरहेका छन् । ती दम्पत्तीलाई एक यस्तो युवतीको आवश्यकता छ, जसले भाडामा कोख दिन सकोस् । किनभने उनीहरु भाडामा कोख लिएर एउटा सन्तानको आमाबुवा बन्न चाहन्छन् ।

यसै क्रममा मिमी भेटिन्छिन् । उनलाई पैसाको खाँचो त छ नै । आफ्नो गर्भमा अरुको बच्चा हुर्काएबापत उनले लाखौं पैसा पाउनेछिन् । यही प्रलोभनमा परेर उनी सेरोगेसी सन्तान जन्माउन तयार हुन्छिन् ।

मिमीले घरवालालाई भन्छिन्, ‘मलाई फिल्मको अफर आयो, म मुम्बई जान्छु ।’

उनी आफ्नी साथी शमा (सई ताम्हणकर)को घरमा बस्न थाल्छिन् । अमेरिकी दम्पत्तीले मिमीलाई हेरविचार गर्नका लागि भानुको साथमा छाड्छन् । यसपछि कथामा यस्तो ट्वीस्ट आउँछ कि भानु र मिमीको जिन्दगीमा भुँइचालो आउँछ ।

सन् २०११ मा प्रदर्शित फिल्म ‘मला आई व्हायचय’ मा आधारित छ यो फिल्म । फिल्ममा यस्ता केही ट्वीस्ट तथा मोड छन्, जसले तपाईंलाई हाँस्न बाध्य बनाउँछ । मिमीलाई आफ्नो मुस्लिम साथीसँग बस्नु, उसको घरको बाहिर पसलेसँग कुराकानी गर्नु, मिमी र भानुबीचको केही दृश्य, भानुकी पत्नी मिमीको घरमा आउनु, भानु र शमाको पिता आमनेसामने हुनु, घटनाक्रम चाखलाग्दो छ ।

फिल्म तीव्र रुपमा दौडन्छ र एकपछि अर्को रहस्य पल्टाउँदै जान्छ । हसाउँदा-हसाउँदै भावुक बनाउँछ । मिमीले गोरो बच्चा जन्माउँछिन् र त्यसका लागि जुन माहौल बनाउँछिन्, त्यो शानदार छ । फिल्मको स्क्रिनप्ले राम्ररी लेखिएको छ । स–सानो दृश्यमा एकदमै मिहेनत गरिएको छ । फिल्मलाई एकदमै मनोरञ्जनात्मक बनाइएको छ ।

कतिपयलाई लाग्न सक्छ, कथा विश्वसनीय छैन । मिमी त्यति सजिलै सेरोगेसीका लागि तयार हुनु, उसको परिवारले यस कुरामा खासै चासो नराख्नु जस्ता कुरा केही फितलो लाग्नसक्छ । तर, लेखक निर्देशकले फिल्मलाई तर्कले भन्दा मनोरञ्जनले भरिपूर्ण बनाउने यत्न गरेका छन् । त्यसैले उनी तर्कहरु पुष्टि गर्नतर्फ लागेका छैनन्, जतिसक्दो फिल्मलाई मनोरञ्जनात्मक बनाउने प्रयास गरेका छन् ।

फिल्म अन्त्यको आधा घण्टा केही सुस्त महसुस हुन्छ ।

विदेशीले भारतमा सेरोगेसीका लागि युवती खोज्ने मुद्दालाई फिल्मले खासै महत्वका साथ उठाएको छैन । यसलाई अरु पेचिलो बनाउन सकिन्थ्यो । यद्यपि फिल्मले यति भन्छ, यो कारोबार भारतमा एकदमै तीव्र रुपमा बढेको छ ।

निर्देशक लक्ष्मण उतेरकले पूरा फिल्मलाई आफ्नो पकडमा राखेका छन् । कलाकारले स्वभाविक अभिनय गरेका छन् । कृति सेननको लागि यो उनको करियरकै राम्रो फिल्म भन्न सकिन्छ । मिमीको बिन्दासपन उनले स्क्रिनमा राम्रो तरिकाले पेश गरेकी छिन् । पंकज त्रिपाठी त कमालका अभिनेता हुन् ।

एआर रहमानले संगीतबद्ध गरेको गीतले फिल्मलाई अरु गतिशील बनाएको छ । समग्रमा मिमीले कथाको गहिराइमा त पुर्‍याउँदैन तर भरपूर मनोरञ्जन दिन्छ

प्रतिक्रिया