मातृभाषा नबोल्ने विद्वानको गवाँर विद्वता

कन्टिर–बाबूका दुःख पनि अनेक छन् । यिनले भाँति–भाँतिका मानिस भेट्नुपर्छ । भेट्नुमात्र पर्दैन यस्ता भाँति–भाँति मनुवाका भाँति–भाँति गन्थनको साक्षी पनि भइदिनु पर्छ । सुन्न पट्यार लागे पनि तिनका सन्तोषका लागि सुनिदिनु पर्छ । 

यस्तै हिजो एक जना आफूलाई बौद्धिक हुँ भनी दाबी गर्नेको कुरा कन्टिर–बाबूले घाँटी–घाँटी हुन्जेल सुन्न बाध्य हुनुपर्‍यो । उनले कुरैकुरामा आफ्नो कथित विद्वता छाँट्दै कन्टिर–बाबूलाई सुनाए– मातृभाषाको प्रयोग गर्नेहरू ‘गवाँर’ हुन् । उनीबाट यस्तो अनपेक्षित र नचाहिँदो कुरा सुनेर कन्टिर–बाबूको दिमाग खराब !

अङ्ग्र्रेजीको वकालत गर्ने ती मनुवालाई कन्टिर–बाबूले सोध्न चाहेका थिए– तपाई जन्मँदा कुन भाषामा रुनु भयो ? तपाईले उच्चारण गरेको पहिलो शब्द कुन भाषाको थियो ? तपाईको प्रारम्भिक सिकाइ कुन भाषाको माध्यमबाट भयो ? तर कन्टिर–बाबूले कुरा तन्काउन चाहेनन् र सोधेनन् ।

मातृभाषा भनेको मातृभाषा हो । यो व्यक्ति, समुदाय र समाजको सभ्यता, संस्कृति र पहिचानको आधार हो । ज्ञान आर्जनको पहिलो स्रोत हो ।

तर कन्टिर–बाबूले प्रत्यक्षतः यति चाहिँ भने– त्यसो भए त सबैभन्दा ठूला गवाँर त अङ्ग्रेजी, चिनियाँ र हिन्दी मातृभाषीहरू हुन् । विश्वको आधाभन्दा बढी जनसङ्ख्याको मातृभाषा यही तीन भाषा हो ।

त्यसो त कन्टिर–बाबू अङ्ग्रेजीलगायत अन्य भाषाका विरोधी होइनन् । उनको ठहर छ, जति बढी भाषाको जानकारी हुन्छ, मानिसको ज्ञानको दायरा त्यति नै फराकिलो हुन्छ । कन्टिर–बाबू स्वयम् पनि सात–आठ भाषाको जानकारी राख्छन् । उनलाई यसले फाइदा नै पुगेको छ । 

तर मातृभाषा भनेको मातृभाषा हो । यो व्यक्ति, समुदाय र समाजको सभ्यता, संस्कृति र पहिचानको आधार हो । ज्ञान आर्जनको पहिलो स्रोत हो । यसका विरूद्ध कन्टिर–बाबु कुनै सम्झौता गर्न सक्दैनन् ।

यस्तो बेलामा कन्टिर–बाबू मैथिली भाषाका महान् कवि सीताराम झाका दुई पङ्क्ति सम्झिन्छन्– 
‘हा, जे नहि बजैछ नीज मातृभाषा मैथिली । 
मोन होइछ छाउर लपेटि जिह ओकर सट्ट द घीच ली ।

अर्थात्, जसले आफ्नो मातृभाषा मैथिली बोल्दैन, मन हुन्छ खरानी धसेर उसको जिब्रो थुतुँ । यहाँ मैथिली कविको उदाहरण उल्लेख गरिएकाले माथिको पङ्क्तिमा मैथिलीको चर्चा गरिएको हो । कुरो त सबै मातृभाषाको हकमा उही हो नि ! कि कसो ?