Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

धान खाने मुसो, खप्की खाने भ्यागुतो !

धान खाने मुसो, खप्की खाने भ्यागुतो !

कन्टिर–बाबू थाहा पाउँदादेखि नै कवि शिरोमणि लेखनाथ पौड्यालका पक्का फ्यान हुन् । उनलाई कवि शिरोमणिका धेरै कवितामध्ये दुई पङ्क्ति बारबार सम्झना भइरहन्छ । 

‘म खाउँ मै लाउँ सुख सयल वा मोज म गरूँ ।
म हाँसुँ मै नाचुँ अरू सब मरुन् दुर्बलहरू ।’

सारमा हेर्ने हो भने नव्य काव्य तरुण तपसीमा कवि शिरोमणिले २०१० सालमा लेखका यी पङ्क्ति साढे ६ दशकपछि पनि उत्तिकै सान्दर्भिक देख्छन् कन्टिर–बाबू । खासमा कन्टिर–बाबू पौड्यालको उल्लिखित पङ्क्तिको सन्दर्भ सङ्घीयतासँग जोडेर हेर्दा कन्टिर–बाबूको मन भरङ्ग हुन्छ । 

नेपालमा पछिल्लो दिनमा एकपटक फेरि सङ्घीयतासम्बन्धी बहसले स्थान पाएको छ । सामाजिक सञ्जाल तथा मिडिया तातिएको छ । केही व्यक्ति कन्दनी कसेर यसको विरोधमा उत्रिएका पनि छन् ।

जनमत सङ्ग्रह गरौँ, बहुमत जनताले जे भन्छन् त्यही मानौँ भन्ने तर्क आउनुलाई भने कन्टिर–बाबू अन्यथा मान्दैनन् । तर सोझै सङ्घीयता खारेज गरौँ भन्ने उनी सहमत हुन सक्दैनन् । 

कन्टिर–बाबू सोच्छन्– आखिर सङ्घीयताको विरोध किन भइरहेको छ ? विरोध गर्नेहरूको तर्फबाट हास्यास्पद तर्क आउने गरेको छ– खर्चिलो भयो, अव्यवस्थित भयो । 

सङ्घीयता घोषणापटि प्रदेश र स्थानीय तह सञ्चालनमा बढी खर्च भएको देख्ने तर्कवाजहरूलाई पछिल्लो तीन वर्षको सङ्घ अर्थात् केन्द्रको शासन सञ्चालनमा भएको खर्चको तुलनात्मक अध्ययन गर्न सुझाव दिन्छन् कन्टिर–बाबू । सँगसँगै अव्यवस्थित भयो भन्नेहरूलाई सङ्घीयताको जरै काट्न होइन कि यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? त्यसबारे सकारात्मक दबाब दिन आग्रह पनि गर्छन् । 

कन्टिर–बाबूलाई लाग्छ– सङ्घीयताको विरोधको कारण राजनीतिक दर्शन र विचारमात्र होइन, शक्ति र अधिकार विकेन्द्रीकरणविरूद्धको मानसिकता पनि हो । लोकतन्त्रमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । कसैले सङ्घीयता राम्रो होइन भन्न त पाए तर मान्दिनँ भन्न त कसरी पाइएला ?

हो, यसबारे जनमत सङ्ग्रह गरौँ, बहुमत जनताले जे भन्छन् त्यही मानौँ भन्ने तर्क आउनुलाई भने कन्टिर–बाबू अन्यथा मान्दैनन् । तर सोझै सङ्घीयता खारेज गरौँ भन्ने उनी सहमत हुन सक्दैनन् । 

सङ्घीयताबारे जनमत सङ्ग्रह गर्ने पनि अहिले बेला भइसकेको छ जस्तो कन्टिर–बाबूलाई लाग्दैन । अहिले निर्वाचित ‘मै खाउँ मै लाउँ’वाला जनप्रतिनिधिको व्यक्तिगत व्यवहारको दोष सङ्घीयतालाई दिनु ठिक होइन । 

खासमा हामीलाई चाहिएको व्यवस्था परिवर्तनभन्दा पनि व्यक्ति र प्रवृत्तिमा सुधार हो । त्यसका लागि सामाजिक, राजनीतिक दबाब बढाउनु उचित र दुई–चार वर्षमै व्यवस्था बदल्दै राजनीतिक खेलोफड्को गर्दै समय कटाउनु अनुचित मान्छन् कन्टिर–बाबू ।

अरे, यो त उही कुरा भयो– धान खाने मुसो, खप्की खाने भ्यागुतो !

प्रतिक्रिया