Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

राजनीति र कोरोनापछि ट्रेन्डिङमा भुँडी प्रदर्शन !

राजनीति र कोरोनापछि ट्रेन्डिङमा भुँडी प्रदर्शन !

कन्टिर–बाबू आफूलाई पुरानो जमानाको मान्न तयार छैनन् । तर विडम्बना ! उनी नयाँ भनिएको जमानासँग तालमा ताल मिलाएर हिँड्न त खोज्छन् तर हुन सकिरहेका छैनन् । 

नयाँ भनिएको जमानाले जसलाई सामान्य ठान्छ, आधुनिक मान्छ, कन्टिर–बाबूजस्ताको आँखाले त्यस्ता आधुनिक भनाउँदा कुरामध्ये केहीलाई फुहड, अनावश्यक र उत्ताउलो देख्छ । तर के गर्नु, आफूलाई नयाँ भनिएको जमानामा हुर्के–बढेकाहरूले कन्टिर–बाबूहरू जस्तालाई अस्वीकार गर्छन् र आफूहरूलाई उत्तर आधुनिक ठान्छन् । 

 

खासमा कन्टिर–बाबूहरू नयाँ र पुराना भनिएको जमानाबीचका योजक हुन् । समाजरूपी खोलाको ओल्लो घाट र पल्लो घाटलाई जोड्ने पुलको काम गर्छन् । कन्टिर–बाबूलाई लाग्छ– उनीहरू नयाँ भनिएको जमाना र मानिसका अनुभवी सहजकर्ता हुन् ।

अमिल्दो कार्यलाई एक क्रान्तिकारी नेताले महान् क्रान्तिकारी कदम भनी प्रशंसा गरिदिए, त्यसपछि भने कन्टिर–बाबूको मन खिस्रिक्क भएको छ । 

माफ गर्नुहोला, अहिलेको पुस्ता उत्तर आधुनिकताका नाममा आवश्यकताभन्दा बढी फेसेनेबल हुन् र सस्तो प्रदर्शनमा रमाउन पल्किन थालेको देखेर भने कन्टिर–बाबू चिन्तित छन् । अहिले आधुनिकता र अधिकारका नाममा सामाजिक सञ्जाल तथा मिडियामा भुँडीको बिस्कुन फिँजारिएको देखेर कन्टिर–बाबूलाई लेख्न–बोल्न पनि सिकसिको लागिरहेको छ । 

नाम नतोकौँ । तपाई चिन्नुहुन्छ सबलाई । महान् तथा गौरवशाली क्रान्तिकारी नेताको परिवारदेखि सेलिब्रिटी कलाकारसम्म एक दर्जनभन्दा चेलीबेटीहरू नाङ्गो भुँडी देखाएर पोज–पोजको फोटो अपलोड गरिरहेका छन् । यतिसम्म त कन्टिर–बाबूले पचाएकै हुन् तर जब यस्तो समाज अमिल्दो कार्यलाई एक क्रान्तिकारी नेताले महान् क्रान्तिकारी कदम भनी प्रशंसा गरिदिए, त्यसपछि भने कन्टिर–बाबूको मन खिस्रिक्क भएको छ । 

कन्टिर–बाबू चस्माको डाँडी मिलाउँदै सोचिरहेका छन्– गर्भवती महिलाले भुँडी देखाएको फोटो पोस्ट गर्दा कस्तोखाले क्रान्तिकारिता हुन्छ ? 

सौन्दर्य त छोपेकै राम्रो । छोपिएको सौन्दर्यमा जुन आकर्षण छ, त्यो आकर्षण खुलामा छैन ।

३०३९ सालमा एसएलसी दिँदा कन्टिर–बाबूले चर्चिक व्यङ्ग्यलेखक भैरव अर्यालको जय भुँडी निबन्धका बारेमा सप्रसङ्ग व्याख्या गरेर नेपालीमा ६७ नम्बर ल्याएका थिए । तर त्यो बेलाका नेता तथा सरहरूले नाङ्गिएको भुँडी प्रदर्शनमा अहिलेको जस्तो क्रान्तिकारिता देखेनन्–सिकाएनन्, अन्यथा कन्टिर–बाबूले डिस्टिङ्सन हान्ने थिए ।

यतिबेला राजनीति र कोरोनाबाहेक कुनै विषयले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ भने त्यो भुँडी प्रदर्शनको होडबाजी नै हो । तर कन्टिर–बाबू व्यक्तिगत स्वतन्त्रता उपयोगको नाममा यस्तो स्वछन्दता प्रदर्शनलाई कुनै हालतमा राम्रो मान्दैनन् । 

तर कन्टिर–बाबू भन्छन्– सौन्दर्य त छोपेकै राम्रो । छोपिएको सौन्दर्यमा जुन आकर्षण छ, त्यो आकर्षण खुलामा छैन । महिलाको प्रजनन प्रक्रियासँग सम्बन्धित प्राकृतिक विषयलाई कसैले पनि हाँसो, गाली वा लाजको विषय बनाउनु हुँदैन ।

प्रतिक्रिया