Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

अझै पाठ्यपुस्तक पुगेन हुम्लामा

अझै पाठ्यपुस्तक पुगेन हुम्लामा

दुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् । 

हरेक वर्षको फागुन २ गतेदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गएकाे असार १ गतेबाट मात्रै सुरु भयो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् , भने विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । 

अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो । प्रकाशन गृहले जिल्लामा पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ । ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो, 'कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ ।' उहाँले अबको एक/दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताउनुभयो । उहाँले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिनुभएको छ । यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् र त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ । 

खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

हुम्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ । 

प्रतिक्रिया