Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

अहिले केही दिनदेखि देशव्यापी रूपमा लगातार वर्षा भइरहेको छ । कन्टिर–बाबूका अनुसार यो वर्षा कसैका लागि आनन्दको र कसैका लागि दुःखको स्रोत बन्ने गरेको छ ।

वर्षा हुँदा कन्टिर–बाबूले केहीको मुखबाट सुन्ने गरेका छन्– मौसमले च्यालेन्ज दिइरहेको छ । यसो भन्नुको स्पष्ट अर्थ सबैलाई थाहै छ– पिने बालेको पिनेका बहाना चाहिए ।

तर वर्षाले साँच्चिकै च्यालेन्ज त तिनीहरूलाई दिन्छ– जो सीमान्तकृत छन्, निमुखा छन् । समस्याग्रस्त छन् । जो अन्त बस्ने ठाउँ नपाएर खोलाकिनारमा बस्न बाध्य छन् । जसको छानो चुहिन्छ, जसको गतिलो ओत छैन । 

कन्टिर–बाबूलाई ताज्जुब त त्यस बखत लाग्छ जब समस्याले हायल–कायल वर्गका बारेमा सरकारहरू केही सोच्दैनन् । सर्वहाराको नाममा राजनीति गर्नेलाई समेत लगातारको वर्षा सर्व–आहारी हुने बहाना बन्छ । रमाइलो, रमझम गर्नेदेखि कमिसन खानेसम्मको अवसर सिर्जना हुन्छ । 

नेपालमा अहिले सङ्घीय शासन प्रणालीअन्तर्गत स्थानीय, प्रदेश र सङ्घ गरी तीन तह छन् । तीनै तहका गरी सात सय ६१ वटा सरकार छन् । तर सङ्ख्यामा सरकार भएर के गर्नु ? 

ए बाबा जनताले सबैखाले सरकार सञ्चालन गर्न कर तिरेकै छन् । तर विडम्बना जनता दुःखमा हुँदा, बाढी–पहिरोमा बग्दा, कटान–डुबानमा पर्दा सरकारको अपेक्षित उपस्थिति भने हुँदैन । कोरोना अनुभवले प्रष्ट भइसकेको छ– परेको बेला सरकारको उपस्थिति दियो बालेर खोज्नुपर्ने खालको छ ।

कन्टिर–बाबूलाई थाहा छ– कोरोना, लकडाउन, लगातारको झरी, बाढी–पहिरोले हुनेखानेलाई केही गर्दैन, जे पर्छ हुँदा खानेलाई पर्छ ।

कन्टिर–बाबू अत्यन्त दुखी हुँदै भन्छन्– सरकारमा भएका मान्छेहरू आफू ‘एयर कन्डिसन’ कोठामा बसेर झ्यालबाट बाहिर झरी–वर्षाको रमिता हेर्दै मौसमको कथित च्यालेन्ज स्वीकार गर्नमै व्यस्त छन् । जनताको हालत कसलाई के मतलब ? कौन पुछे खेसडी के दाल ? अपना काम बनता ... भाँड में जाए जनता ।

कोशी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया