Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

कोरोना विरुद्ध अग्रपंक्तिका योद्धाहरु

कोरोना विरुद्ध अग्रपंक्तिका योद्धाहरु

कोरोना भाइरसको महामारीले यतिबेला विश्व नै आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको यो भाइरसको तेस्रो लहरसम्म आइसकेको छ । नेपाल नै अहिले दोस्रो लहरसँग संघर्षरत छ । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । विश्वलाई चुनौती दिइरहेको यो भाइरसबाट मानव जातिलाई जोगाउन अनेक देशले भ्याक्सिन उत्पादन गरिरहेका छन् । तर ती भ्याक्सिनले पनि कोरोना महामारीलाई निष्तेज गर्न सकेका छैनन् । 

कोरोना फैलिएसँगै नेपालले दुई पटक लकडाउन गरिसकेको छ । यो लकडाउनको प्रभाव सहरदेखि गाउँसम्म परेको छ । पहिलो लहरको प्रभाव खासै गम्भीर थिएन तर दोस्रो लहरले नेपालमा एक महिनायता दैनिक सयभन्दामाथिको संख्यामा ज्यान लिइरहेको छ । 
कोरोनाका कारण अछामसहति देशका प्राय सबै जिल्लाबासी प्रभावित छन । पछिल्लो एक महिना यता देशका पहाडी जिल्लामा धेरै संक्रमित भेटिन थालेका छन् । धेरै नेपाली भारतमा रोजगारीमा जाने अछाममा कोरोनाको जोखिम झन् झन् बढ्दो छ ।

कोरोनाले सर्वसाधारणहरु घरमा बस्न बाध्य भइरहेका बेला यसविरुद्ध अग्रपंक्तिमा खटिनेहरुले आफ्नो ज्यानको बाजी लगाइरहेका छन् । कोरोनाविरुद्ध अग्रपंक्तिका योद्धाका रुपमा हामी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, प्रहरी, सफाइकर्मी, एमबुलेन्स चालक, शवबाहन चालक आदिलाई बुझ्छौँ ।

अग्रपंक्तिका योद्धाहरूले आफ्नो जीवन हत्केलामा राखेर कोरोनाविरुद्धको युद्धमा आफूलाई होमेका छन्। कोरोनाविरुद्धको यो लडाइँमा कयौँ डाक्टर र नर्सले पनि ज्यान गुमाइरहेका छन्। अमेरिकाले जैविक हतियारको संज्ञा दिइरहेको कोरोनाविरुद्धको युद्धमा सहकर्मीको ज्यान नै गए पनि अग्रपंक्तिका योद्धाहरुले हार मानेका  छैनन्, बरु २४ घण्टा खटिएका छन्। 

हामीले सुनेका छौँ, भगवान हुन्छन् तर कहाँ ? आफ्नो धर्म अनुसार धेरैले भन्छन्, मन्दिर, चर्च, मस्जिद आदि ठाउँमा । नेपालमा धेरैले भगवान खोज्न मन्दिर धाउँछन् । तर कोरोनाको यो महामारीविरुद्ध खटिएका डाक्टर नै अहिले भगवान भएका छन् । अर्थात् उनीहरु हाम्रो ज्यान बचाउन भगवानको रुपमा प्रकट भएका छन्। नागरिकको ज्यान बचाउन पिपिईभित्र गुम्सिएर अहोरात्र खटिएका यो डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी नै अहिलेलाई हाम्रा लागि भगवान भएका छन्। 

कोरोनाले ल्याएको संकटसँग जुधिरहेका यिनै योद्धाको कथा यो पटकको पटकानीमा ।

झनक राज ढुंगाना
बरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय अछाम ।

मंगलसेन निवासी स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगाना २०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । उनी २०५३ सालमा जनस्वास्थ्य अधिकृत भए ।  २ वर्षदेखि स्वास्थ्य कार्यालय अछामको वरष्ठि जनस्वास्थ्य अधिकृतका रुपमा उनी सक्रिय छन् । उनी अहिले जिल्लामा कोरोना नियन्त्रणका लागि एउटा योद्धका रुपमा खटिएका छन्। हँसिलो मुहार र मिजासिलो स्वभावका ढुंगानाको नाम कोरोनाकाल सुरु भएयता अछामबासीको जिब्रोमै झुण्डिएको छ । व्यवहारमा सरलतासँगै सेवा प्रवाहमा उत्तिकै जिम्मेवार ढुंगानालाई अघिल्लो कोरोनाको कहरकैबीच मातृ र पितृ शोक एक महिनाको अन्तरमा आइलाग्यो । कोरोनाको पहिलो लहरका क्रममा चौरपाटी गाउँपालिकामा जिल्लाकै पहिलो केस देखिएपछि कन्ट्याक्ट टे«सिङका लागि उनी आफनै नेतृत्वमा पुगेको अनुभव यसरी सुनाउँछन् । 

झनक राज ढुंगाना र पत्नी टिका शर्मा दुवैजना एउटै कार्यालयमा सेवारत छन् । कोरोनाकालमा दिनरात काम गर्नुपरेपछि ढुंगाना दम्पत्तिले दुई छोरालाई काठमाडौं राखेका छन्। उनले कोरोनाविरुद्धको लडाइँ एक्लै जित्न नसकिने अनुभव सुनाए। जिल्लामा समन्वय, सहकार्यलाई प्रतिवद्धताका साथ व्यवहारमा लागू गर्न सके समुदायस्तरमा प्रभावकारी स्वास्थ्य सेवा दिन सक्ने अनुभव सुनाए।

डा. मन्दीप पाठक
बरीष्ठ हाड जोेर्नि बिशेषज्ञ,बयालपाटा अस्पताल 

काठमाडौको नयाँबानेश्वरमा जन्मिएका हाड जोर्नी बिषशेज्ञ डा.मन्दीप पाठक अछाम आएको ६ वर्ष नाघिसक्यो । सुरुमा ६ महिनाका लागि आएका डा. पाठकले पहिलो पटक बयालपाटा अस्पतालमा साविकको तिमिल्सैन गाविसकी एक महिलाको हातको उपचार गरेको अनुभव यसरी सुनाउँछन् ।

सुरुमा ६ महिना दोलखा र ६ महिना अछाम बस्ने गरी उनले अस्पताल प्रशासनसँग सम्झौता गरेका थिए । तर उनले बयालपाटा अस्पतालमै बसेर अछामबासीको सेवामा आफूलाई समर्पित गरे । आजसम्म साना ठुला गरी १० हजार भन्दा बढी सफल शल्यक्रिया गरिसकेका डा. पाठकलाई यो ठाउँ छाडेपछि दैनिक दर्जनौँको संख्यामा आउने हाडजोर्नीसम्बन्धी बिरामीको चिन्ताले पिरोलिरहन्छ ।
 

डा. सोनाली बास्कोटा 
एमडिजिपी जिल्ला अस्पताल अछाम ।

सोनालीको घर कपिलवस्तु हो । उनी जिल्ला अस्पताल अछाममा प्रमुख एमडिजिपी डाक्टरका रुपमा कार्यरत छिन्। उनी कोरोनाको दोस्रो लहर भित्रिनुअघि गत पुसमा अछाम आएकी हुन । कोरोनाको पहिलो लहरका बेला उनी एमडिजिपीको अन्तिम वर्षको विद्यार्थीका रुपमा रहँदा कोरोना संक्रमण भएको अनुभव उनले यसरी सुनाइन्। घरमा बुवा रहेकाले उनी ढुक्कसाथ अछाम जिल्लाबासीको सेवा ढुक्कले खटिएकी छन्। अछामबासीको सेवामा आफू सधैँ तत्पर रहेको उनले सुनाइन्। 

सुरुमा अक्सिजन र औषधि अभाव थियो। तर अहिले विभिन्न ठाउँबाट सहयोग आइरहेको छ। यसले गर्दा कोरोनाविरुद्धको लडाइँ सजिलो भएको छ। तर पनि उनले भोगेका कठिनाई घटेका छैनन्। स्वास्थ्य साह्रै बिग्रिएपछि मात्रै  अस्पतालमा बिरामी ल्याउने गरिएको छ। यसले उनीहरुको उपचारमा चुनौती थपेको छ।

उनको अनुभवमा कोरोनाविरुद्ध लड्न जिल्लमा आइसोलेसन वार्ड अभाव हुनु हुँदैन। सरकारले दक्ष जनशक्ति पनि दिनुपर्ने उनको तर्क छ। कोरोनाविरुद्धको युद्धमा होमिएकी उनले जिल्लामै अक्सिजन प्लान्ट र भेन्टिलेटर जरुरी रहेको बुझेकी छन्। यदि त्यसो हुन सकेमा कोरोनाविरुद्धको अग्रपंक्तिको लडाइँ सहज हुने उनले बताएकी छन्।

टेकबहादुर विष्ट
सूचना अधिकारी कमलबजार प्रयोगशाला अछाम 

अछामकै कमलबजार नगरपालिका निवासी टेकबहादुर विष्ट त्यहाँस्थित कोरोना प्रयोगशालाका सूचना अधिकारी हुन्।
अहिले जिल्लामै ल्याब छ, सजिलो भएको छ। तर सुरुमा जिल्लामा प्रयोगशाला नहँुदा उनले कम्ता दुःख भोग्नुपरेन। स्वाब लिएको २१ दिनपछि स्याम्पल मिलेन भनेर फेरि स्वाब पठाउनु भन्दा रिर्पोट नेगेटिभ आयो भनेर घर पठाउनुपरेको तीतो अनुभव उनीसँगै  छ।
उनले कोरोनाविरुद्धको अभियानमा स्थानीय तहको सहयोग मात्रै गरेर नपुग्ने बताए। यो प्रयोगशाला आफ्नै हो भनेर संचालन जिम्मा पनि लिनुपर्ने तर्क उनलले गरेका छन्। 

माथि देखाईएका केवल प्रतिनिधि पात्र मात्र हुन । अछाम जिल्ला लगायत देशभरिमा यस्ता लाखौ पात्रहरु छन जसले यो महामारीमा आफ्नो र आफ्नो परिवारको प्रवाह नगरी दिन रात अहोरत्र अग्रपंक्तिमा खटिएर सेवा दिईरहेका छन् ।
यी महामारीका योद्घाहरुलाई पटकानि टिम हार्दिक धन्यवाद व्यक्त गर्न चहान्छौ ।

भिडियो 


 

प्रतिक्रिया