Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

सूर्योदयमा विद्यापति, उज्यालो छरियोस् देशैभरी

सूर्योदयमा विद्यापति, उज्यालो छरियोस् देशैभरी

देश र समाजलाई जोड्ने र तोड्ने सम्बन्धमा शास्त्रीय रूपमा संयोजक (कनेक्टर) र विभाजक (डिभाइडर)को भूमिका निकै महत्त्वपूर्ण हुने कुरा कन्टिर–बाबूले बडो राम्ररी बुझेका छन् । तर कुनबेला कुन कुराले संयोजक र कुन कुराले विभाजकको भूमिका निर्वाह गर्छ भन्ने कुराचाहिँ अवस्था र परिवेशमा भर पर्ने कन्टिर–बाबूको ठहर छ ।

जगजाहेर छ, समग्र नेपाली समाज बहुलवादी समाज हो । नेपालमा कुनै पनि जात र भाषाभाषी पूर्ण बहुमतमा छैनन् । यस अर्थमा यो देश अल्पसङ्ख्यकहरूको देश हो । यस आधारमा यहाँ सबैथरि संस्कृति सबैका लागि स्वीकार्य हुनु आवश्यक छ । यस्तो स्वीकार्यता ग्रहणका सन्दर्भमा कुनै प्रतीक, चिन्ह, भाषा, पहिरन आदिले बडो सशक्त भूमिका निर्वाह गर्न सक्छ ।

यसै क्रममा मैथिलीका महाकवि विद्यापति पहाड उक्लिएर पूर्वी पहाडी जिल्ला इलाममा ठडिने अवस्थाको सिर्जना भएकोमा कन्टिर–बाबू दङ्ग छन् । समाजशास्त्रीय दृष्टिकोणले यो सन्दर्भ निश्चय पनि संयोजनकारी हुनेमा विमति हुन सक्दैन ।

पत्रकार, कवि, भाषासेवी केदार शर्माले इलामको सूर्योदय नगरपालिले विभिन्न जातीय कवि तथा भाषासेवीहरूको प्रतिमा स्थापना गर्ने कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनका अनुसार यस क्रमको थालनी महाकवि विद्यापतिको प्रतिमाबाट हुँदै छ ।

कन्टिर–बाबू भन्छन्– क्या बात ! सबैलाई समेट्ने दृष्टिकोणले सूर्योदय नगरपालिकाको यो प्रयास स्तुत्य त छँदै छ, सामाजिक सद्भावमा अभिवृद्धिमा कोसेढुङ्गा हुने निश्चित छ । यस सत्प्रयासका लागि नगरपालिकाका सल्लाहकार, पदाधिकारी, कर्मचारीलगायत जो–जो यस कार्यमा संलग्न छन् सबै नै विशेष धन्यवादका पात्र छन् ।

कन्टिर–बाबूको अभिमत छ– वास्तवमा यस्तो अनुकरणीय कार्यको नेतृत्व केन्द्रीय सरकारले गरेर उदाहरण स्थापित गर्नुपर्ने हो । तर यहाँको केन्द्रीय सरकार त हरबखत सत्ताकै लुछाचुँडीमा व्यस्त रहन्छ, कला, साहित्य, संस्कृति संरक्षणका यस्ता विशिष्ट कार्यप्रति विचराको कुन बेला ध्यान पुगोस् ?
 
कन्टिर–बाबू भन्छन्– कुरो विद्यापतिको मात्र होइन । कुरो देश जोडने ‘संयोजन’को हो । यस्ता सत्कार्यलाई यतिमा मात्र सीमित गरिनु हुँदैन । सूर्योदयले स्थापित गरेको यो उदाहरणको अन्य स्थानीय तहका लागि नजिर बनोस् । 

कन्टिर–बाबूको आग्रह छ– जसरी विद्यापति माथि उक्लिने अवस्था निर्माण भएको छ, उसैगरी नै फाल्गुनन्द, चित्तधर हृदय, भानुभक्त, लक्ष्मीप्रसाद, लेखनाथ, बालकृष्ण समजस्ता स्रस्टा पनि तल झर्ने वातावरण बन्नुपर्छ ।

कोशी अनलाईन मा धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया