Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

एक जनाको शव भेटियो, विस्थापितहरुले सामुदायिक भवन र विद्यालयमा रात बिताए

एक जनाको शव भेटियो, विस्थापितहरुले सामुदायिक भवन र विद्यालयमा रात बिताए

सिन्धुपाल्चोकमा बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै चार जना धुलिखेलबाट सम्पर्कमा आएकाले उनीहरु बाढीमा परेर हराएका हुन् या होइनन् भनेर सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

बाढीमा परेर घाइते भएकाको हिजै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बाढीका कारण मेलम्ची नगरपालिकाका  ६ सय र हेलम्बु गाउँपालिकाका झण्डै ३ सय जना विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

नेपाल रेडक्रसको सिन्धुपाल्चोक शाखाले हिजो उनीहरुलाई खानेकुराको व्यवस्था मिलाएको थियो । आज भने वाग्मती प्रदेश सरकारले पठाएको एक ट्रक खाद्यान्न वितरण गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै, त्यहाँका अन्य विभिन्न गैरसरकारी सङ्घसंस्थाहरुले पनि राहत उपलब्ध गराइरहेका उहाँले बताउनुभयो ।

बाढीले के – कति क्षति गर्यो भन्नेबारे एकिन विवरण आएको छैन । हिजो उद्धारलाई जोड दिइएको थियो आजदेखि भने क्षतिको विवरण सङ्कलन गरिने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर तथा पुललगायत बगाएको छ । प्रहरीका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुङ्गे पुल र घर बगेको विवरण सङ्कलन भएको छ । मेलम्चीले झन्डै एक दर्जन ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्कलगायत बगाएको छ । पहिरोले मेलम्ची नदी थुनिएको र त्यो बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुबाउने गरी बाढी आएको पाइएको छ ।

प्रतिक्रिया