‘महामारीमा अस्पताल स्थापनाका योद्धाहरु’

यहि जेष्ठ २५ गते नेपालि काग्रेस जिल्ला कार्य समिति सदस्य लोकेन्द्र जंग कुँवर “लोचन” को अगुवाईमा जापान बाट ८० हजार बढीको औषधि बयालपाटा अस्पताललाई सहयोग स्वरूप पठाईयो । औषधि सहयोग भन्दा गज्जबको उहाहरुको भनेको कुरा लाग्यो फोन संबादकै क्रममा उहाहरुले सम्झिनु भएको ईतिहास को बिषयमा कौतुहलता जाग्यो, उहाहरुले भने अनुसार त्यो औषधि उहाहरुले २०३४ सालमा अस्पताल स्थापना को लागि साफेबगर गोलि काण्ड मा ज्यान गुमाउने र कष्टकर जेल जीवन काट्नेहरु लाई सम्झिदै पठाउनु भएको हो । त्यहि क्रममा मलाई पनि त्यो ईतिहास एकपटक खोतल्न मन लाग्यो,

वि.स.२०३४ सालमा अछाममा हैजाको महामारी फैलियो । थुप्रै मानिसहरुले ज्यान गुमाए । औषधी उपचारको अभावमा कयौ थला परिसकेका थिए । त्यति बेला सहजरुपमा उपचार र औषधी पाउने व्यवस्था नै थिएन । जिल्लाको क्षेत्र नं. २ सदरमुकाम मंगलसेनमा रहेको अस्पतालमा पुग्न सहज थिएन । क्षेत्र नं.१ मा फैलिएको हैजाबाट गाउँ नै सखाप हुने स्थिति सिर्जना हुन थालेपछि यहाँका अगुवाहरुले अस्पतालको लागी आन्दोलनको सुरुवात गरे । हैजा प्रभाबित मानिसहरुको उपचार र बयालपाटामा अस्पताल स्थापनाका लागी तत्कालित बयालपाटा गाउँपञ्चायतका अगुवाहरुले आन्दोलन गर्ने निष्कर्षमा पुगे ।

आफ्ना माग लिएर तत्कालिन प्रधानपञ्च डम्बरबहादुर स्वाँरको टोली काठमाण्डौ पुग्यो । सोहि क्रममा टोलीले तत्कालिन राजा बिरेन्द्र सरकारको ध्यान केन्द्रित गरे । हैजा प्रभाबित क्षेत्रका लागी तत्कालिन सरकारले तत्कालै औषधी सहित स्वास्थकर्मीको टोली पठाउने निर्णय गर्याे । सरकारले औषधी त पठायो तर स्वास्थकर्मीको टोली पठाएन । औषधी जिल्ला अस्पतालको लागी पठाईएको थियो । त्यति बेला ढुवानीको एक मात्र साधन खच्चर थियो । खच्चरमा ल्याईएको औषधी ०३४ भदौ २९ गते साँफेबगरमा पुगेको थियो । औषधीको बाटो हेरेर बसेका नैनसिह कडायतको टोलीले औषधी साँफेमा नै रोक्यो । जिल्ला अस्पतालबाट औषधी बितरण गर्दा ढिलाई हुने भन्दै यहाँका अगुवाहरुले साँफेबगरमै औषधी जफत गरे ।

औषधी नै जफत गरेको खबर पाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी श्रीमान् श्रेष्ठको टोली साँफेबगर पुग्यो । जफत गरिएको औषधी लैजाने र स्थानीय मागका बिषयमा छलफल गर्न प्रजिअसंग वार्ताका लागी टोली बस्यो । हैजा प्रभाबित क्षेत्रमा मंगलसेनबाट औषधी बितरण गर्दा ढिला हुने भएकाले बयालपाटाबाटै औषधी बितरण गर्नुेपर्ने माग यहाँका अगुवाहरुले राखे । उक्त प्रस्ताबमा सहमति जुटेन सकेन । भनाईहरु बाँझिन थाले । बिवाद चर्किदा घटनाले अर्के मोड लियो । झडपको अवस्था सिर्जना भयो । प्रहरीले चलाएको गोली लागी आन्दोलनमा सहभागी जनालीकोटका ३ जना गिरी सुनार,शेरबहादुर कुँवर,कर्णबहादुर साउद र गाज्राका रंगबहादुर खड्काको घटनास्थल मै ज्यान गयो । २३ जना गम्भीर घाईते भए । हैजाको औषधी लिन र अस्पताल स्थापनाको माग गर्न गएका मानिसहरु आफन्तको शब र घाईतेहरुलाई लिएर घर फर्किए । 

साँफेबगर गोली काण्डको दोषि ठहर गर्दे तत्कालिन बयालपाटा प्रधानपञ्च जनालीकोटका डम्बरबहादुर स्वाँर, जनालीकोटका गंगबहादुर कुँवर,चण्डिकाका नैनसिह कडायत,गाज्राका गगनसिह खड्का,रिडिकोटका तप्तबहादुर स्वाँर, चण्डिकाका शिबबहादुर कुँवर,सिद्धेश्वरका डबलबहादुर कुँवर,कालिमाटीका हस्तबहादुर शाह ,खाल्सैनका कालु सिह कँुवर गरी ९ जनालाई काठमाण्डौ सैनिक क्याम्प काठमाण्डौ लगियो । देशद्राहीको मुद्धा लगाई ६ महिनापछि सबैलाई धनगढी कारागारमा ल्याईयो । कारागारमा जेल जिवन बिताईरहेको उनीहरुको २०३६ सालको जनमत संग्रहपछि मुद्धा नै खारेज भयो । 

आन्दोलनको अगुवा गर्ने टोलीमा सबै भन्दा कान्छा नैनसिह कडायत त्यो बेलाको घटना यसरी सुनाउछन् । झडपमा वार्ताका लागी बसेका आफु लगायत केहि साथीहरु झ्यालबाट हाम फालेर ज्यान जोगाएर भागेको उनी बताउछन् । उनले भने,‘जफत गरेको औषधी प्रशासनले लगेर गयो,ढिलै भए पनी औषधी बितरण भयो । त्यति बेलासम्म थुप्रैले ज्यान गुमाईसेकेका थिए । कति भन्ने त हिसाब नै थिएन, कसले राख्ने जनता मरेको हिसाब त्यति बेला ।’ जेल जिवनपछि फेरी निरन्तर बयालपाटामा अस्पताल स्थापनाका लागी आवाज उठाएको बताए । थुपै्र संघर्ष र बलिदानीपछि ०३९ सालमा अस्पताल स्थापना भयो । भौतिक संरचना निमार्ण भए तर सञ्चालन हुन सकेन । राजनितिक खिचातानी जग्गा बिवादका कारण निमार्ण भएका भौतिक संरचना करिब ३ दशकसम्म प्रयोगमा आउन सकेन । भौतिक संरचना जिर्ण भन्दै गए । 

०६४ सालमा अमेरिकामा अध्ययनरत नेपाली र अमेरिकन चिकित्सकहरुको सहकार्यमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले, नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग साझेदारी गरी साँफेबगरमा स्वास्थ सेवा संचालन भयो । साँफेबगरबाट प्राथमिक बहिरंग, आकस्मिक उपचार (२४ औं घण्टा), औषधी तथा ल्याब सेवा सहित समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवाको प्रारम्भ गर्यो  । न्याय हेल्थ नेपालको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बन्दै जादा साँफेबगर स्थित भौतिक संरचना साघुँरो भईरहेको थियो । साँफेमा एक मात्र न्याय हेल्थको सेवा बयालपाटामा सार्ने बिषयमा छलफल सुरुभयो । ०६५/०६६ को जिल्ला परिषदबाट बयालपाटा सार्ने सहमति भयो । ०६५ साल भदौं ५ गतेका दिन न्याय हेल्थ नेपाल साँफेबगरबाट बयालपाटा सर्यो  । त्यसपछि स्वास्थको क्षेत्रमा बयालपाटा अस्पताल नमुनाको रुपमा स्थापित भयो । बयालपाटा अस्पतालले जिल्लामा स्वास्थको क्षेत्रमा कायापलट गर्न सफल भयो ।

अस्पतालले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीका सर्जरीहरु निशुल्क,मानसिक स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
निकै लामो संघर्षपछि स्थापित बयालपाटा अस्पतालबाट गुणस्तरिय स्वास्थ्थ सेवा अछामी नागरिकले पाईरहेको भन्दै कडायत खुशी व्यक्त गर्छन् । केहि साथीहरुको बलिदानीले सार्थकता पाएको कडायतले बताए । अस्पताल प्रशासन र यहाँका नेताहरुले आफु लगायत बलिदानी दिने साथीहरु र उनका परिवारलाई नसम्झीने गरेको उनी गुनासो गर्छन् । अस्पताल स्थापनाको श्रेय अहिलेका जिल्लाका नेताहरुले लिन खोज्छन् तर जसको रगतले अस्पताल स्थापना भयो उनीहरुलाई सम्झीने काम भएको छैन भन्छन् उनी ।

अस्पताललाई राजनिति गर्ने थलोको बनाएको बन्दै उनी दुखी पनी हुन्छन् । उनी भन्छन्,‘अहिले अस्पतालमा आर्थिक संकट छ,तिन तहको सरकार हुदा पनी निशुल्क स्वास्थ सेवा दिईरहेको अस्पतालमा बजेट अभाव हुनु दुखको कुरा हो,अस्पताललाई अझै राम्रो बनाउने तर्फ भन्दा पनि त्यहाँ राजनिति गर्ने थलो बनाईएको छ।’कडायत बेला बेलामा अस्पतालको अवस्था बारेमा बुझ्न अस्पताल पुग्छन् । उनी अहिले ७१ वर्षका भए । उनले भने,‘अहिले कोरोना महामारी छ,यस्ता महामारी थुप्रै देखियो,उतिबेलाको महामारीमा स्वास्थ उपचार र औषधी नपाएर मर्थे, अहिले उपचार छ,अस्पतालहरु छन् ।’ आन्दोलनका सहयात्रीहरुमा अहिले आफु लगायत ४ जना जिबित रहेको उनले बताए । चण्डिकाका गंगा कुँवर हाल टिकापुर,गाज्राका गगनसिह खड्का हाल काठमाण्डौ र कालुसिह कुँवर हाल अछाम रहेको कडायतले बताए । त्यति बेलाको घटनालाई अछामीहरुले ‘साँफेबगर गोली काण्ड’ भनेर भन्ने गर्छन् । 

स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पतालले अहिले आर्थिक संकट झेलिरहेका छ । बैदेशिक सहायता कटौती हुदै गएपछि अस्पतालले गत बर्ष ३४ जना कर्मचारी निकाल्न बाध्य भयो । जसका कारण एक जना सरसफाई कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरे । अस्पतालले अहिले संघ,प्रदेश र स्थानीय सरकारसंग बजेटको माग गरिरहेको छ ।