Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

बाढिले बगाएका सपनाहरुको कथा

बाढिले बगाएका सपनाहरुको कथा

तलतिर सुसाइरहेको कैलाश खोला, वरिपरी बाढीले क्षतविक्षत बनाएको बस्ती । अनि अग्लो डाँडामा ठिंग उभिएको एक्लो घर । सुनसान गाउँको एकान्तमा उभिएको त्यही एक्लो घरमा बस्छन् रामारोशन गाउँपालिका–५ सनानी गाउँका ९० वर्षीय झंकर साउँद र ७५ वर्षीया श्रीमती सुर्जा साउँद । 

कैलाश खोलाको बाढीले यी बयोवृद्ध दम्पत्तीको सपना, आशा भरोसा उजाड बनाइदिएको ८ महिना भयो । अछाम सदरमुकाम मंगलसेनबाट ४५ किलोमिटर टाढाका उनीहरुलाई अझै पनि गत भदौ २ गते रातिको बाढीले तर्साइरहन्छ ।  कैलाश खोलाको बाढीले उनका छोरा नन्दु साउँदसहित ५ जनालाई निल्यो । बुढेसकालका सहारालाई बाढीले निलेपछि अहिले यी वृद्ध दम्पत्ति एकले अर्कोलाई रुँघेर जीवनको उत्तराद्र्ध कटाउँदै छन । बाढीले निलेका सन्तानको अहिलेसम्म अत्तोपत्तो छैन । अब त भेटिने आश पनि मरिसक्यो । कहिं भेटिए हाडखोर मात्रै त होलान् ।

बुढेसकालका सहारा नन्दु, बुहारी गंगा, नातिहरु रुपेश र नवीन, नातिनी बुहारी र पनातिनी प्राप्तीसहित ६ जनालाई बाढीले लगेपछि यी दम्पत्ति अहिले एक्लो भएका छन्, फगत एक्ला । उनीहरुसंग अहिले एकले अर्काको आँसु पुछ्दै बाँकी जीवन कटाउनेबाहेक अर्को विकल्प छैन। आफ्ना सारा सन्ता बाढीले निलेपछि उनीहरुको मन कयौं पटक टुटेको छ, भाँचिएको छ । मर्न मन कहाँ नलागेको हो र ? बाँच्नलाई त बाँचेका छन् तर उनीहरुको मनमा अहिले पनि कैलाश खोलाको भन्दा ठूलो बाढी चलिरहेको छ । कहिले बाढी आँसुका ढिक्काका रुपमा बर्रर्र झर्छ त कहिले मुटु भक्कानो पर्ने गरी खहरे सुसाउँछ । बुढेसकालका सहारालाई बाढीले लगेपछि उनीहरु एक्लिएका छन्, छनलाई त उनीहरुसामु संसार नै छ तर बुढेसकालमा साथ दिने कोही बाँकी छैनन् ।

कैलाश खोलाको त्यो बाढीले सैनीबजारका १७ जनालाई बगाएको थियो। यी अभागी बाबुआमको त संसार नै बगायो। त्यो बाढीले २३ वटा पसल र घर बगे । त्यो घटना भएको ८ महिना बित्यो तर साउद दम्पत्ती सम्हालिन सकेका छैनन्, आँखा ओभाएका छैनन्। उनीहरुका लागि आँसु नै गतिलो सहारा भएको छ । ‘बिहान उठ्नेबित्तिकै उनीहरु कैलाश खोलातिर चिहाउँछन् । बुढेसकालमा बन्द हुँदै गएका कानसम्म कैलाश खोलो सुसाउँदै बगेको आवाज ठोक्किन्छ । अझै पनि उनीहरु कैलाश खोलातिर चिहाउँदै बाढीमा बिलाएका बुढेसकालाका सहारा जुरुक्क उठेर आउने आशले नजर घुमाउँछन् । तर यी अभागी बाबुआमाका सन्तानलाई प्रकृतिले चुँडेर लगिसक्यो । लाश देख्न नपाएपछि आश त लाग्छ नि । मान्छेको मनै हो, बाढीमा परेका सन्तान फर्किदैनन् थाहा छ तर के गर्नु चिम्रा भइसकेका आँखा तन्काउँदै उनीहरु बेफिक्रीले कैलाश खोलातिर चिहाइरहन्छन् । तर दैवको खेल, यी अभागीका सन्तान अब कहिल्यै उठेर आउँदैनन् । बिहानै उठेर आशे नजरले खोलातिर चिहाउने उनीहरु बेलुका भएपछि मन बुझाउँछन्, अगेनाको डिलमा टुक्रुक्क बसेर एकअर्कालाई सम्हाल्छन्, सम्हालिन नसके दुई थोपा आँसु चुहाउँछन्, अनि भाग्यलाई धिक्कार्छन् । मान्छेको मनै त हो कहाँ मान्छ र ? त्यसमाथि पनि डुब्न लागेका जुनघाम जस्तै उनीहरुको मनले सहारा त खोजिहाल्छ ।

कैलाशको बाढी काल नबनेको भए यो उमेरमा आँसुका थोपासंग उनीहरुले मितेरी त लाउनुपर्ने थिएन । अहिले पनि दुवैको मनमा कैलाशको भन्दा ठूलो बाढी आइरहन्छ । उनीहरु कतिपल्ट डुबे, कतिपल्ट तैरिए त मन रोएको कसले देख्छ र? मनको बह कसैलाई नकह भने जस्तो उनीहरुले पीडालाई मुटुमा गाँठो पारेर बाँचेका छन् । विकल्प पनि त छैन नि काल पर्खिनबाहेक । कैलाशको बाढीमा बिलाएका सन्तान सम्झेपछि उनीहरुलाई रात परेपछि दिन नआइदेओस् जस्तो लाग्छ । पृथ्वीमा त सूर्यले उज्यालो छरेकै छ नि । तर उनीहरुको मन अब कहिल्यै उज्याले हुने छैन ।

छोराको सैनिबजारमा ठुलो पक्की घरमा आवास सहितको होटेल थियो, लाखौंको उधारो थियो । उधारो खाएकाहरु मैले तिर्नुछ भनेर कोहि आउँदैनन् आउँछन त केवल तेरो छोराले ऋण लगेको थियो भनेर पैसा माग्नेहरु । सन्तान नै सबै बाढीले लगेपछि सरकारबाट ६ लाख राहत पाए,  भन्छन्, ‘तिम्रो छोराको ऋण छ , तिर भन्दै घरमा आउँछन् । ६ वटा ज्यानको ६ लाख राहत लिएका थियौ । अरु कसैले केही दिएका छैनन । ऋण कसरी तिर्नु ? कसरी गुजारा चलाउनु? सोच्दा सोच्दै दिन ढल्छ, रात पर्छ।’ हेचराह गर्ने मान्छे नहुँदा उनीहरुलाई कम्ता गाह्रो भएको छैन । आखिर भगवानले पनि त उनीहरुको खुसी खोसिदिए । ‘मेरो भरोसा उहाँ, उहाँको भरोसा मै हो । हामी आँखा राम्ररी देख्न सक्दैनौं । कसैले सन्चो बिसन्चो पनि सोध्दैनन्’, सुर्जाले गहभरी आँसु पार्दै भनिन् ,‘सुरुमा राहत दिन्छौं, खानेकुरा दिन्छौं भनेर धेरै आउँथे । अहिले त कसैले फर्केर हेर्दैनन् । उल्टै पैसा माग्न आउँछन् । लालपुर्जा पनि बाढीले बगायो, हामीसंग के बाँकी  छर दिनलाई? ।’

रामारोशन गाउ“पालिका–५ की मनसरा साउँद नेताहरुले भाषण मात्रै गरेको गुनासो गर्छिन्। उनले नेताले भाषणमा राहत दिने भनेर गएपछि फर्केर नहेरहेको बताइन । सैनीबजारमा कपडा व्यपार गरेकी थिइन् उनले । गत २ गते रातिको बाढीले पसल मात्रै बगाएन, टुसाउँदै गरेका  सपना मुनाहरु पनि बगायो ।  श्रीमानले ३ वर्ष मलेसियामा बसेर ल्याएको पंैसा, बाख्रा र भैंसी बेचेको पैंसाले व्यापार थालेकी थिइन् । २ छोरालाई उच्च शिक्षा पढाउँदै व्यापार गरेर सुखसाथ बस्ने योजना उनीहरुले साँचेका थिए । तर बाढीले उनको पसलसंगै सर्वस्व लुटेर गयो। ‘यहाँ सबैभन्दा ठूलो कपडाको पसल मेरै थियो । ३५ लाख बढी क्षति भयो’, उनले सुनाइन् ,‘ राहतको नाममा ३ थान थाल , २ वटा कचौरा एउटा त्रिपाल, ५० किलो चामल र १२ वटा जस्तापाता मात्रै हो ।’ सुरुका दिनमा नेताले आश्वासन दिए पनि अहिले बिर्सिसकेको उनको गुनासो छ । ‘ज्यान जोगियो । सबैभन्दा ठूलो कुरा  त्यही हो । तर बाँच्नेलाई पनि त खानबस्न चाहिन्छ । रोजीरोटी गुम्यो । धनसम्पत्ति बग्यो । न राहत पाइयो । न कोही आफ्ना भए’ उनले भनिन् ,‘देखिने चोट नलागे पनि सैनीबजारका धेरै महिला, वृद्धवृद्धा र केटाकेटीको मानसिक सन्तुलनमा असर परेको  छ । अहिले पनि आकाश गड्याङ्गुडुङ हुँदा गाउँले डरले चिच्याउँछन ।’

रामारोशनकी बाढी पिडित जानकी साउदका धेरै सपना बाढीमा बगे । सैनिबजारमा इलेक्ट्रनिक पसल संचालन गरेकी जानकीको रोजीरोटीको साहरा नै पसल बनेको थियो । रामारोशनमा बाढी गएको अघिल्लो दिन नै उनको पसलमा ४० वटा नया“ मोबाइलहरु आठ लाखमा ल्याएका थिए उनका श्रीमान्ले । अरु लाखौंको सामान थियो पसलमा । राहतको नाममा उनले अलिअलि भाटाकुडा , त्रिपाल बाहेक अरु केही पनि पाएकी छैनन् । अहिले सानो पसल पुन स्थापना गरेर त्यहि सैनी बजारको छेउमा बसेकी छन् ।

छोरी प्राप्तीलाई ४ वर्षको उमेर घरमा आमा र अन्य परिवार संग छोडेर गएका थिए उनका बुवा  कमल साउदले । करिब २० महिनाको मलेसिया बसाइ पछि ६ महिनाअघि  घर पुगे । तर उनको छोरीलाई गत वर्ष भदौ २ गते राती आएको बाढीले बगाइ सकेको थियो , अब कमलसंग छोरीको याद बाहेक बाकी अरु केहि छैन ।


 

प्रतिक्रिया