Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०६ चैत २०८०

आइपीएलमा चेन्‍नाईले चखायो बेंगलोरलाई पहिलो हार

आइपीएलमा चेन्‍नाईले चखायो बेंगलोरलाई पहिलो हार

काठमाडौँ-  आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरलाई चेन्नाईले पहिलो हार चखाएको छ । मुम्बईमा बेंगलोर चेन्नाईसँग ६९ रनले पराजित भएको हो । हारसँगै बेंगलोरको यस सिजनको अपराजित यात्रा पाँचौ खेलमा टुंगिएको छ । 

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो । उसका लागि रवीन्द्र जडेजाले विष्फोट ब्याटिङ गर्दै अर्धशतक बनाए । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान फाफ डुप्लेसिसले ५० रनको योगदान दिए ।

बेंगलोरका हर्षल पटेलले तीन विकेट लिए । १९२ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनमा सिमित भयो । उसका लागि देवदुत पाडिकलले सर्वाधिक ३४ रन मात्रै बनाउन सके ।  

४४ रन बनाउँदा पहिलो विकेटका रुपमा कप्तान विराट कोहलीलाई गुमाएको बेंगलोरको थप ५९ रन बनाउँदा ८ विकेट पतन भयो । अन्तिम विकेटका लागि मोहम्मद सिरज र युज्वेन्द्र चाहलले १९ रनको साझेदारी गरेपछि बेंगलोर अलआउट हुनबाट जोगिएको थियो ।

बेंगलोरलाई सस्तैमा रोक्न चेन्नाईका अलराउण्डर जडेजाले तीन विकेट लिए । ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएका जडेजाले म्याक्सवेल, डिभिलियर्स, वाशिंटन सुन्दरलाई आउट गरेका थिए । साथै उनले डान क्रिष्टियनलाई पनि रनआउट गरे । ब्याटिङ र बलिङ दुवैमा चम्किएका जडेजाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने ।

जितसँगै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई ५ खेलबाट ८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । हार व्यहोरेको बेंगलोर समान अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । 

प्रतिक्रिया