Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

देशमा सुरक्षा अवस्था सुदृढ भयोः गृहमन्त्री थापा

देशमा सुरक्षा अवस्था सुदृढ भयोः गृहमन्त्री थापा

काठमाडौँ- प्रशासनिक कारबाही र राजनीतिक संवादको नीतिले देशमा सुरक्षाको अवस्था सुदृढ बनेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री थापाले आफूहरुको नीतिले देशमा सुरक्षा अवस्था सुध्रेको र विप्लव, सीके राउत मुलधारमा आएको बताए ।

‘हामीले प्रशासनिक कारवाही र राजनीतिक संवादको नीतिले अघि बढेकैले गर्दा विप्लव, सीके राउत मूलधारमा आउनुभयो,’ मन्त्री थापाले भने । सुरक्षा दृष्टिकोणले खतरा पैदा गर्न सक्ने कुनै तत्वलाई पहिला प्रशासनिक कारबाहीले रक्षात्मक अवस्थामा पुर्‍याएपछि वार्ताबाट समाधान गरिनुपर्ने उनको तर्क थियो ।

अझै पनि केही राजनीतिक दलबाट सुरक्षा खतरा हुन सक्ने र त्यसलाई पनि प्रशासनिक कारवाहीकै माध्यमबाट राकिनुपर्ने मन्त्री थापाले बताए । कुन राजनीतिक दलबाट सुरक्षा खतरा हो भन्नेबारे मन्त्री थापाले खुलाएनन् । अबको नीति पनि राजनीतिक खतरालाई मध्यनजर राखेर नै बनाइनुपर्ने उनको सुझाव थियो । जातीय र धार्मिक क्षेत्रमा असुरक्षाको खतरा रहेकाले प्रहरी प्रशासन चनाखो बन्नुपर्ने थापाले बताए ।

अझै पनि केही कमिकमजोरी रहेको र त्यसलाई निर्ममतापूर्वक सच्याउन प्रहरी प्रशासन लाग्न उनले निर्देशन दिए । प्रहरी ऐन ल्याएपनि संघको ढिलासुस्तीका कारण लागू गर्न नसकिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश छुट्टै प्रशासन भइसक्दा पनि प्रहरी पाउन नसक्दा नीतिगत अन्योलता बढेको गुरुङको टिप्पणी थियो । गुरुङले प्रहरी समायोजन ऐन यथाशक्य छिटो जारी गरिनुपर्ने उनको माग थियो । सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका सुरक्षा निकायका प्रमुखले सुरक्षा चुनौतीबारे बताएका थिए ।

प्रतिक्रिया