Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

प्रदेश २ : प्रदेशसभामा सरकारविरुद्ध सांसदहरूको आक्रोश

प्रदेश २ : प्रदेशसभामा सरकारविरुद्ध सांसदहरूको आक्रोश

काठमाडौँ - लामो समयपछि प्रदेश २ को प्रदेशसभाको पाँचौं अधिवेशन सुरु भएको छ । दुई बैठकबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण सोमबारदेखि प्रदेशसभा बैठक सुरु भएको हो ।

गत कात्तिक ३ गतेको बैठकपछि स्थगित गरिएको प्रदेश २ को प्रदेशसभा बैठक पाँच महिना चार दिनपछि बसेको हो । 

बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक प्रमाणीकरण भएको जानकारी दिए । उनकाअनुसार प्रदेश अनुसन्धान ब्युरो २०७७, प्रदेश दुग्ध विकास बोर्ड, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, वन विधेयक, प्रदेश उद्योग विधेयक र बालबालिकाको हक अधिकार स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७७ प्रमाणीकरण भएका छन् ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आउँदै गरेको नयाँ वर्ष २०७८ र मुस्लिम धर्मालम्बीहरूको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गरे । 

माधव कुमार नेपाल र झलनाथ खनाल पक्षबाट संसदीय दलको नेता बनेका शत्रुधन महतोले कोरोना महामारी पुनः बढ्न सक्ने भएकाले सरकारले आवश्यक तयारी थाल्नुपर्ने बताए । उनले लामो सयमपछि प्रदेशसभा बोलाएको भन्दै असन्तुष्टि जनाए ।

उनले प्रदेश सरकार गैरजिम्मेवार भएको बनेको भन्दै स्थायी राजधानी र प्रदेशको नामको चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिए । 

प्रदेशसभा सदस्य शिव चन्द्र चौधरीले सरकारले योजना बनाएपनि कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताए । उनले सातै प्रदेशभन्दा पदेश २ कमजोर र पछाडि परिरहेको बताए ।

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले संघीय प्रतिनिधिसभा विघटनको घटना हुँदासमेत प्रदेशसभा बैठक नबलोइएको भन्दै आक्रोश पोखे । उनले प्रदेश अन्याय, अत्याचारमा एक नम्बर बनेको भन्दै कटाक्छ गरे । 

प्रदेशसभाको अर्को बैठक वैशाख १० गते बस्ने छ ।

प्रतिक्रिया