Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

नेपालका लागि सर्वाधिक खेल खेल्ने कप्तान विराज मर्हजनको फुटबल यात्रा

नेपालका लागि सर्वाधिक खेल खेल्ने कप्तान विराज मर्हजनको फुटबल यात्रा

काठमाडौं-  ‘एन्फा एकेडेमीमा हुर्कँदै गर्दा राष्ट्रिय टोलीको जर्सी लगाएर देशलाई उपाधि जिताउने सपना थियो । तर यो सुरुवाती दिनहरूमा सोचेजति सजिलो भने थिएन । अहिले धेरै हदसम्म त्यो पनि पूरा गरे जस्तो लाग्छ । देशले तीनवटा उपाधि जित्दा म टोलीको महत्वपूर्ण सदस्य तथा कप्तान थिए यसमा मलाई सदैब गर्व महसुस हुन्छ ।’

यो भनाइ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनको हो । नेपालका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै सन्यास घोषणा गरेको साँझ विराजले फेसबुकमा आफ्ना भावना यसरी पोखे ।


नेपालका लागि सर्वाधिक खेल खेलेका विराजले गत सोमबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्ध जित हासिल गरेपछि सन्यास घोषणा गरेका हुन् ।

देशका लागि अन्तिम खेल खेलिसकेपछि विराज निकै भावुक बनेका थिए । उनलाई अन्य साथी खेलाडीहरुले उचालेर दशरथ रंगशाला परिक्रमा गराएका थिए । त्यो भावुकता विराजले बेलुका फेसबुकमा पोखे ।

‘आज राष्ट्रिय टोलिबाट बिदाई लिँदै गर्दा मैले मेरो सुरुवातदेखिका सम्पूर्ण साथीभाइहरुलाई धेरै सम्झिन चाहेको छु’, उनले लेखेका छन्, ‘म आज जुन स्थानसम्म आइपुगे र बिदाई लिँदै गर्दा मलाई सदैब सपोर्ट गर्ने मेरा आमा–बाबा, दाजुभाइ, दिदीबहिनी साथै सम्पूर्ण परिवारलाई धेरै–धेरै धन्यवाद अनि माया भन्न चाहन्छु ।

साथै, उनले एन्फा एकेडेमी र आफूले खेलेका सबै क्लबलाई पनि सम्झिएका छन् ।


‘एन्फा एकेडमी, एन्फा, मेरा सम्पूर्ण प्रशिक्षक, संकटा क्लब, एनआरटी, क्लब, थ्री–स्टार कल्ब, मनाङ मर्स्याङ्दी क्ल्ब, साथै मछिन्द्र क्लबप्रति विशेष धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु’, उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि यो क्षेत्र कहिलै नछोड्ने उनले स्पष्ट पारेका छन् ।

‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि फुटबलबाट ‘गिभ अप’ गर्दिन’, उनी भन्छन्, ‘अब एक फ्याक्टरका कारण एक समय त खेल जीवन छोड्नु नै थियो । मेरो लागि यो नै उपयुक्त समय हो भन्ने लागेको छ ।’

पछिल्लो समयमा नेपाली फुटबलमा नयाँ ट्यालेन्टहरु आइरहेकाले उनीहरुलाई अवसर दिन आफूले सन्यासको घोषणा गरेको विराजले बताएका छन् ।

‘अहिले युवा ट्यालेन्टहरु पनि निकै आइरहेका छन् । उनीहरुलाई हौसला दिँदै म खेल जीवन अन्त्य गर्न गइरहेको छु’, उनी भन्छन्, ‘म चहान्छु हामीले पाएजस्तै वातावरण अन्य खेलाडीले पनि पाउन् ।’

हाल मछिन्द्र क्लबबाट खेलिरहेका विराजले घरेलु फुटबलमा भने बिश्राम लिएका छैनन् । फुटबललाई जीवन समर्पण गरेका उनको शरीरले धानेसम्म खेल्ने बताएका छन् ।


यस्तो छ उनको फुटबल यात्रा

विराज नेपालका सफल कप्तानमध्ये पर्दछन् । डिफेन्डर पोजिसनबाट खेल्ने उनी राष्ट्रिय टिमका १३ औं कप्तान हुन् । २००८ मा पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमार्फत विराजले राष्ट्रिय टोली डेब्यू गरेका थिए । सो खेलमा नेपालले १–० को जित निकाल्दै उनकोे डेब्यू सुखद बनाएको थियो । करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दै कीर्तिमानी क्याप जितेका विराजको कप्तानीमा नेपालले २०७२ मा बंगबन्धु गोल्डकप, सोही वर्ष १२औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जितेको थियो ।

विराज नेपालका लागि सबैभन्दा पहिले ५० क्याप जित्ने खेलाडीसमेत हुन् । उनले ५० औँ क्याप भारतविरूद्व २०१५ साफ च्याम्पियनसिपमा पूरा गरेका थिए ।

त्यस्तै २०७३ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा पनि विराज मैदानका कप्तान थिए । तीन अलग अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र गत वर्ष मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका झन्डै १२ वर्ष निरन्तर राष्ट्रिय टोलीबाट खेलेका विराज अखिल नेपाल फुटबल संघ ९एन्फा० एकेडेमीका तेस्रो ब्याचका उत्पादन हुन् ।

सबै उमेर समूहबाट खेलेका विराजले नेपालका लागि सर्वाधिक ७३ क्याप जितेका छन् । उनले पूर्वकप्तान राजु शाक्यको नाममा रहेको ६८ अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी तोडेका थिए ।

विस २०४७ मा काठमाडौंको त्रिपुरेश्वरमा जन्मिएका विराज सानैदेखि फुटबलका सौखिन थिए । उनको परिवारको इच्छा पनि यही थियो कि विराजले राम्रो फुटबल खेल्न सकुन् ।

परिवारको त्यही भावनालाई आत्मसाथ गरेर खेल जीवनमा होमिएको उनी बताउँछन् ।

‘करिब १४ वर्ष राष्ट्रिय टोलीबाट खेल्दै गर्दा खेलाडी जीवनकालमा धेरै उतारचढाव आए समर्थकहरुबाट पाएको माया ३ नम्बर जर्सी म जिन्दगीभर बिर्सने छैन’, उनी भन्छन् ।

सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगेका थिए ।

प्रतिक्रिया