Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अछामका समस्या , चुनौती र अवसर

अछामका समस्या , चुनौती र अवसर

मेनुका ढुंगाना (अछाम)
मंगलसैन नगरपालिका –५ का ८६ वर्षीय मनिराम ढुंगानाले नेपालको राजधानी काठमाडौंलाई तस्बिर र टेलिभजनमा मात्र देखेका छन् । प्रत्यक्ष रुपमा काठमाडांैलाई देख्ने अवसर उनको लागि आजसम्म जुरेको छैन । अछाम र काठमाडौंको दुरि धेरै टाढा छ । उनको बुझाईमा ठूला कलखारखाना, होटेल, विश्वविद्यालय मेडिकल कलेजहरु राजधानीमा हुन्छन् । ‘ठूलो विकास त ठुलो शहरमा पो हुन्छ । हाम्रो ठाउँमा विकास हुने भनेको खानेपानी योजना, गोरेटो बाटो, सडक, विद्यालय, बिजुली हो ’ उनी भन्छन् , ‘अहिलेसम्म न विकास देखे , नत समस्याको निकास पाईयो ।’ तर, पछिल्लो समयमा संघिय संरचनामा नेपाल विभाजीत हुँदा आमनागरिक जस्तै उनी पनि विकास र विकसित हुनेमा आशावादी छन् । ‘गाउँगाउँमा सिंहदरबार आयो, सरकार आयो, सबै सेवा सुविधा स्थानीय सरकाले दिन्छ भन्ने सुनीएको छ । मैले विकास नदेखे पनि मेरा छोरा नातीले त देख्लान ।’ उनको झीनो आशा यही हो ।  सदरमुकामै रहेको मंगलसैन नगरपालिकामा समेत बिजुली नबल्नु, सडकको पहुँच नहुनुले यो क्षेत्रका स्थानीयले संघियताको बारेमा खासै चासो देखिएको पाईँदैन । नगरपालिका घोषणा गर्दा केहि मापदण्ड नहेरी कागजमा नगरपालिका बनाउदा यहाँका स्थानीय रुष्ट भएका छन् । उनीहरु स्थानीय विकासलाई मात्र प्राथामिकतामा राख्छन् । सडकको पहुँच समेत नपुगेको मंगलसैन नगरपालिका –१३ मा विजुली पनि छैन । ‘हुन त नगरबासी हुँ , न बिजुली छ न सडक छ न बजार नजिक छ , कर मात्र तिर्नु परेको छ ’ मंगलसैन नगरपालिका –१३ का गगन धामी यसरी गुनासो गर्छन् ,‘नगपालिकामा मिसाउँदा राजनिती मात्र भयो, उपलब्धी केहि भएन । ’ संघियता कार्यान्वयन गर्न पहिले यस्ता विकटलाई हेर्नु पर्ने उनको भनाइ छ ।  वडाबाट कुनै कामकाज नहुँदा सामान्य सिफारिसको लागि पनि मंगलसैन नै आउनु पर्दा समयको बर्बाद,झन्झटिलो प्रक्रिया ,खर्चको भार बढेको मंगलसैन नगरपालिका १३ का उपेन्द्र कामीले बताए ।‘तन्नेरी मान्छे विहान ६ बजे घरबाट हिँड्यो भने साँझ सम्म मुिस्कलले मंगलसैन पुग्छ । बुढापाकालाई त २ दिन लाग्ला । ’ उनले थपे । 
गुणस्तरीय शिक्षा नहुनु, बर्थिङ सेन्टर नहुँदा परम्परागत चलन अनुसार घरमा असुरक्षीत सुत्केरी हुनु , स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी नहुनु, गाउँमा बिजुली लिनको लागि कुनै पहल नहुनुले यहाँका स्थानीय संघियताको बारेमा जानकार भएको देखिदैन ।  देश संघियतामा जाँदा के फाईदा हुन्छ । के सहज हुन्छ जनतालाई केहि पनि थाहा छैन । बिजुली, सडक, खानेपानी, नपुगेको ठाउँमा विकास होस् । सबै विकास पुगेको ठाउँमा कलकारखाना खोलीयोस् , एतीहासिक र धार्मिक महत्व बोकेका क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरीयोस् तब मात्र संघियतामा देश गएको महसुस हुनेछ । अछामको विकासले फड्को मार्ने देखिन्छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला मध्ये दुइ निर्वाचन क्षेत्र भएको जिल्ला अछाम हो ।  सबैले अपेक्षा गरे अनुसार अछामलाई समृद्ध बनाउनको लागि त्यति कठिन भने छैन । किनकी, बूढीगंगा जलविद्युत आयोजना ,सेती लोकमार्ग ,मध्यपहाडी लोकमार्ग ,साँफेबगर एयरर्पोट, , कैलाशको जलविद्युुत आयोजनालगायत अन्य ठुलाठुला आयोजनाको विकास तिव्र गतिमा गर्न सक्योे भने अछाम सुदूरपश्चिमको पहाडी विकसित जिल्ला बन्नेमा सबै भन्दा बढि युवाहरु आशावादी देखिएका छन् ।

अछामको विकासका लागि मेरुदण्ड मानिएका केहि आयोजनाको अवस्थालाई यसरी पनि प्रस्तुत गर्न सकिन्छ :
बूढीगंगा जलविद्युत आयोजना
अछामका बूढीगंगा जलविद्युत आयोजनाले पछिल्लो समयमा निर्माण पुर्वको कार्य तिव्र गतिमा अघि बढाएको छ । २०७३ सालमा अध्ययन सम्पन्न हुने र २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको जलविद्युत आयोजनाको बारे यसअघि कुनै जानकारी नै बाहिरिएको थिएन । तर, अहिले निर्माण सम्पन्न भएको आयोजनाको भवनमा कार्यालय सारेको छ ।
भवन निर्माणको जिम्मा पाएको  बिकेओल बिल्ड्रस काठमाडौंलाई पटकपटक ताकेता गरेपछि सम्झौता भएको ३ वर्षमा ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण भएको हो । आयोजनालाई आवश्यक पर्ने २९९ रोपनि जग्गा समेत अधिग्रहण गरेको साइट इञ्चार्ज बिरबहादुर बोहरा बताउँछन् । बोहराका  अनुसार बाँध क्षेत्रको लागि मेल्लेख गाउँपालिका ४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका –१३ बाब्लामा ३२ रोपनी जग्गा आयोजनाको नाममा भएको छ । डुबान क्षेत्रका लागि कुस्कोटमा नै करिब ११ रोपनी ,बूढिगंगा नगरपालिका १० बाह्रबिस बाजुरामा करिब २२ रोपनी जग्गा अधिग्रहण भएको छ । बाँधस्थल तथा सर्जट्याङ्को लागि हात्तिकोटमा करिब ९१ रोपनि र क्याम्पस्थल तथा पहुँच मार्गको लागि घुँघुरकोटमा नै करिब ६५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
त्यसै पुल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । २०७३ साउन ९ मा  करिब १ करोड २५ लाखमा श्याम शुन्दर÷ श्री गिता÷ हिम सगरमाथा जेभि काडमाडौंसँग सम्झौता भएको थियो । हाल पुल निर्माणको लागि ट्रयाक खुल्ने काम सम्पन्न भएको र अन्य कार्य समेत अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ ।  
मध्यपहाडी लोकमार्ग 
देशको समृद्धिको एक आधारको रुपमा हेरिएको र नेपालको मध्य पहाडै पहाड चिरेर निर्माण गरिने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणले पछिल्लो समय अछाम खण्डमा गति लिएको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्दछ । मध्यपहाडीको अछाममा निर्माण गर्नुपर्ने सडकलाई विभिन्न चारवटा खण्डमा विभाजन गरि काम तिव्रताका साथ भइरहेको छ । आफ्नो कम्पनीले जिम्मा लिएर काम गरिरहेको हरेक कामहरुलाई प्रभावकारी र गुणस्तरिय बनाउनका लागि आफु प्रतिबद्ध रहेको र मध्यपहाडीको काममा पनि त्यहि नीति अनुसार काम भईरहेको चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनका प्रमुख गणेश चन्दको भनाई छ । आफुले जिम्मा पाएको कामलाई राष्ट्रिय सम्पती सम्झेर गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिपरेको उनको भनाई छ । 
सडक कालोपत्रे भएपछि आर्थिक गतिविधि बढ्ने, तराईँका जिल्ला जोड्नकालागि छोटो रुट हुने लगायतका सुविधाका कारण स्थानीयहरु अब आर्थिक क्रियाकलाप अघि बढाउने उपायको खोजिमा छन् । मध्यपहाडी लोकमार्ग निर्माण कार्य सम्पन्न भएपछी अछाम सहित छिमेकी जिल्लाहरुमा पनि आर्थिक गतिविधिहरु बढ्ने र यस क्षेत्रको समृद्धि हुने आशा गरीएको छ ।  यसले पश्चिमको चौखुट्टेदेखि पूर्वको बेलखेत कर्णालीसम्म छोएकाले आर्थिक विकास हुने आँकलन गरीएको छ । 
सेती लोकमार्ग 
समृद्धिसँग जोडिएको बहुप्रतिक्षित सेती लोकमार्गको निर्माणले फट्को मार्न सकेको छैन ।  सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघि नै चलेको भएपनि अहिलेसम्म अपेक्षा अनूसार कामले गति लिन सकेको छैन । सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । 
सेती लोकमार्गले अछाम , बाजुरा, डोटी  , बझाङ र कैलालीलाई जोड्ने सेती लोक मार्ग कार्यालयको दक्षिणी खण्ड अछामका इन्जिनियर दुर्गा मण्डलले बताए । उनका अनुसार सेती लोकमार्गले अछाममा ८० किलोमिटर स्थान ओगटेको छ । जसमा ५४ किलो मिटर सडकमा ट्रयाक खुलीसकेको छ भने २६ किलोमिटर बाँकि रहेको छ । बाजुरा जिल्लामा पर्ने १२ किलोमिटरमा काम सुरु नै भएको छैन । त्यहाँ वातावरणीय प्रभाव मुल्यांकनको काम भइरहेको छ । बझाङ जिल्लामा पर्ने ३८ किलोमिटर सडकको ट्रयाक खुलिसक्यो भने डोटिमा पर्ने ४२ किलोमिटरको काम सुरु भएको छैन । त्यहाँ पनि वातावरणिय प्रभाव मुल्याकंनको काम भइरहेको छ । कैलालीमा पर्ने ७० किलोमिटर मध्ये २८ किलोमिटर सडकमा ट्रयाक खुलेको छ भने ४२ किलोमिटरमा अझै खुल्न सकेको छैन । सेति लोकमार्गमा १२२ किलोमिटर सडकमा ट्रयाक खुलेको छैन । १२० किलोमिटरमा खुलिसक्यो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाई अहिले करिब २ सय ७० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय ३५ किलोमिटरमा झर्नेछ । ‘सेति लोकमार्ग निर्माण भएपछि बिहान कैलाली गएर साँझ अछाममा पुग्न सकिन्छ  । करिब १३५ किलोमिटर दुरी कम हुनेछ । यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ । सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपुर्ण कोरिडोरका रुपमा पनी लिईएको छ । सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, जडिबुटीको प्रचुर सम्भाव्यता, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन तथा सहज पहु“च र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्न सक्छ । बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि शहर बजारसम्म सहज पहुँच हुनेछ । 
 कमलबजार विमानस्थल
अछामको कमलबजार नगरपालिकामा पर्ने विमानस्थल तत्कालिनविद्रोही नेकपा माओवादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउँदै बन्द भयो । २०५८ सालमा तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेर निर्माण सम्पन्न भै सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर भत्काएपछी परिक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा नहुँदा यहाँका स्थानीयलाई यात्रामा निकै सास्ती हुने गरेको छ । आफ्नै आगनमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा उनीहरु धुलाम्य सडकमा गाडिको सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
०६३ सालमा शान्ति सम्झौता भएपछी ध्वस्त विमानस्थल पुनःनिर्माण गर्न पहल भने नभएको होइन । तत्कालीन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि यो पनि गफमै सीमित भएको छ । द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त बनाएको थियो । तत्कालिन मन्त्री विष्ट मगरले अछामको कमलबजारको विमानस्थलको उद्धघाटन गर्दै जसरी पनि नियमित जहाज कमलबजारबाट उडाएरै छोड्ने प्रतिबद्धता जनाएका थिए । शान्ति प्रक्रियामा आएको १० वर्ष बितिसक्दासमेत विमान नचल्दा यहाँका बासिन्दा निराश र आक्रोशित छन् । राजधानी काठमाडौंबाट अछाम पुग्न सडक यातायातमार्फत ३ दिन लाग्छ ।   विमान सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पुर्याउन यहाँका बासिन्दाले सबैभन्दा बढी खेप्नुपरको सास्ती र पिडा हो । आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाटसमेत यहाँका बासिन्दका बञ्चित भएका छन् । कमलबजार विमानस्थल सञ्चालन नहुँदा हाल गौचरनमा परिणत भएको छ । विमान उडनुपर्ने धावनमार्गमा धुलो उडिरहेको छ । धावनमार्गको लम्बाइ ८०० मिटर रहेको विमानस्थलको संरक्षण समेत हुन नसक्दा अहिले गौचरणमा परीणत मात्र भएको छैन, भौतिक संरचनापनि तहसनहस भएको छ ।
हाल कमलबजार विमानस्थल गौचरन, खेलमैदान, सवारीसाधन सिक्ने मैदान र जनावररूको बासस्थानको रूपमा परिणत भएको छ ।  गर्भवती महिलालगायतका आपतकालिका अवस्थाका विरामिले समयमै उपचार नपाउँदा अकालमा ज्यान जाने गरेको छ । यो पिडा कसैलाई छोएको छैन । अछामबाट केन्द्रिय स्तरमा राजनीति गर्ने नेताहरुले पनि यसका लागि कुनै पहल नगरेको गुनासो स्थानीयको छ । तर, कमलबजार विमानस्थल प्रत्येक चुनावमा सबै उम्मेद्धारको चुनावी एजेण्डा बन्ने गर्दछ । शान्ति प्रक्रियामा आएको १० वर्ष बितिसक्दासमेत विमानस्थल कार्यालयको पुनर्निर्माण हुन सकेको छैन । विमानस्थलको धावनमार्ग र कार्यालय पुनर्निर्माणको पर्खाइमा रहेको छ । कार्यालय अलपत्र अवस्थामा छ । विमानस्थलको टावर पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीयबासीले पटक–पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि आग्रह गर्दासमेत कामले गति लिन नसकेको गुनासो गरेका छन् । विमानस्थल प्रयोगविहीन भए पनि संरक्षणतर्फ पनि सरकारको ध्यान जान सकेको छैन् ।
साँफेबगर विमानस्थल 
अछामको साँफेबगर विमानस्थल नौ महिना अघिबाट सुचारु भएको छ । उक्त विमानस्थल १३ बर्षसम्म पूर्णरुपमा बन्द रहेको थियो । अब नियमित उडान सुरु गर्ने उद्देश्यका साथ वायु सेवा निगमको विमानले साँफेबगर विमानस्थलमा उडान भरिरहेको छ ।
सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ । साँफेबगरबाट हवाइ जहाज चलेपछी अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । नियमित हवाइजहाज चल्यो भने बिरामीलाई उपचारका निम्ती सुविधा सम्पन्न अस्पतालमा तत्काल मात्र नभइ पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्म प्रभाव पर्ने देखिन्छ । हवाइजहाज नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिका लगायतमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । 

अछाम दरबार 
माओवादी आक्रमणले २०५८ मा ध्वस्त अछाम दरबार पुनर्निर्माणमा चरम लापरबाही देखिएको छ । दरबार पुनर्निर्माणको काम २०६५ मै सुरु भयो । फेरी ७ वर्ष अवरुद्ध भएर गत वर्षको भदौ पहिलो सातमा सुरु गरेको काम रोकिएको छ । दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्विकृत भएको थियो । ५० प्रतिसत काम सम्पन्न भएकोे दाबि गर्ने ठेकेदार जयबहादुर साउदले कति रकम  लिए भन्ने कुनै जानकारी नदिएको जिसस प्रमुख नरबहादुर कुवँर बताउँछन् । सहरी विकास डिभिजन क्षेत्रीय कार्यालय डोटीको सहयोगमा काठ उपलब्ध भएपछी काम सुरु भएको बताएका पुनर्निर्माणको जिम्मा लिएको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद अहिले नत प्रशासन कार्यालयको सम्पर्कमा छन् नत जिससको सम्पर्कमा छन् । सुरुमा मीनबहादुर कुवँरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा निर्माण कम्पनी केही रकम लिएर बाहिरिए । दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रजिअ मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माण गर्न तोकिएको समयसीमा नाघेपछि पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्त्वको क्षेत्र भएकाले यसका ठेकेदारलाई भने केही गरिएको छैन ।
रामारोशन पर्यटकिय क्षेत्र
जिल्लामा रामारोशन , सुरइकोट , जिम्राडी , बैद्यनाथ धाम , तितौरा लगायत दर्जन भन्दा बढि पर्यटकीय क्षेत्र छन् । तीमध्ये सुदूरपश्चिमको मुख्य पर्यटकीयक्षेत्र रामारोशनलाई नै पहिलो प्राथामिकतामा राखेर पर्यटन क्षेत्रको प्रवद्धन गरे यसबाट पनि अछाम आर्थिक रुपमा बलियो हुने देखिन्छ । 
जिल्लाको रामारोशन गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई सिमसार क्षेत्रको सूचिमा राखेर संरक्षणको लागि पहल गर्न दबाब पनि सुरु भएको छ । पानीले राम्रो सित भिजेको ठाउँ वा अत्यधिक आर्द्रता भएको जमीन, त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुन्छ  र बोट बिरुवाको अस्तित्व रहेको हुन्छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भनिएको हो । यो भनेको पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई जनाउने गरेको छ । रामारोशन क्षेत्रमा सिमसार क्षेत्रका लागि आवश्यक पर्ने सबै तत्व हुँदाहँुदै पनि सिमसार क्षेत्र भित्र नपरेकाले  रामारोशन गाउँपालिकाले  अभियान नै सुरु गरेकोे छ ।
रामारोशनमा बाह्रबण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठार वटा ठूलाठूला चौर छन् । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरुमा सबैभन्दा ठूलो ताल जिंगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर सि जस्तो छ । जुन बाटुले ताल भन्दा अली माथी छ । यहाँको सानो तालमा ताउने ताल हो । यो हाल पुरिने अवस्थामा छ । जिंगाले ताल भन्दा माथिपनि धेरै तालहरु छन् । यो ताल भन्दा केहि परपट्टी ठूलाठूला चौर छन् । जून अठार खण्डका नामले प्रख्यात छन । यस्ता चौर मध्येमा किनेमिने चौर सबैभन्दा ठूलो चौर हो । जसको बिचबाट कैलाश खोला बग्दछ । यसको क्षेत्रफल ५२ बिगाहा छ ।  यो सम्भवतः अछामकै ठूलो चौर हो । यसको केहि माथिपट्टी रोशन चौर छ । यो पनि धेरै नै ठूलो छ ।
रामारोशन क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटका लागि महत्वपूर्ण मानिने भएकाले सिमसार क्षेत्रको रुपमा संरक्षण गर्न जरुरी देखिन्छ ।  रामारोशनमा जीवाणु, वनस्पति, कीटपतङ, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरू पाइन्छन् । जलवायु, भौगोलिक स्वरूप भूगर्भ र जल परिचालनलगायत भौतिक एवम् रासायनिक प्रक्रियाले यहाँ वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, जलाशय , जलक्षेत्रको घाँसे मैदान हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले रामारोशन क्षेत्र ओझेलमा परेको  छ । केन्द्र सरकारको नजरमा कहिल्यै नपरेको बहुआयामिक क्षेत्र रामारोशनलाई सिमसार क्षेत्रमा समावेश गराउन सबै ठाउँबाट पहल गर्न आवश्यक छ  ।   रामारोशन क्षेत्र पर्यटकीयक्षेत्र मात्र होइन । सिमसारक्षेत्र पनि हो । बेलैमा सबैले यसको संरक्षणमा ध्यान दिन जरुरी छ । 
अन्तमा : अछामबाट निर्वाचित भएर राष्ट्रिय राजनितीमा दख्खल राख्ने देखि स्थानीयस्तरसम्मका सरोकारवालाले यी आयोजनाको् काम चाडो पुर्ति गर्न लगाइ अन्य क्षेत्रको खोजि समयमै गर्नु पर्ने देखिन्छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर साँच्चीकै अछामको भलो चाहने हो भने समृद्धिकोलागि धेरै वर्ष पर्खन पर्दैन । 

प्रतिक्रिया