Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

कानुन बनाएर मात्र छुवाछुत हट्न सक्दैन

कानुन बनाएर मात्र छुवाछुत हट्न सक्दैन

धनगढी – सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कानून बनाएर मात्र छुवाछूत, विभेद हट्न नसक्ने भन्दै व्यवहारमा पनि छुवाछूत हटाउनेतर्फ सबैको पहल हुनुपर्ने बताएका छन्  । 

प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ विधेयक माथि भएको छलफलमा भाग लिने सदस्यले दलितमाथि छुवाछूत र विभेद गर्ने, राज्यका निकायहरुमा दलितको अस्तित्व अस्वीकार गरी अपमान गर्नेजस्ता सोच र व्यवहार अझै हट्न नसक्दा सुदूरपश्चिम प्रदेश बदनाम भइरहेको बताए ।  

उनिहरुले प्रदेशमा व्याप्त छुवाछूत र विभेदको समस्या समाधानका लागि दलित सशक्तीकरणसम्बन्धी विद्येयक ल्याएर प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताए ।

छलफलमा प्रदेशसभा सदस्य शान्ति नेपाली, देवराज पाठक, बलदेव रेग्मी, दुर्गाकुमारी कामी, टेकबहादुर रैका र देवकी मल्लले भाग लिएका थिए । 

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै छुवाछूत र जातीय विभेदका विरुद्ध कानूनअनुसार दण्डसजायको व्यवस्था गर्नका लागि यो विधेयक ल्याइएको स्पष्ट पारे । उनले ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’लाई सामाजिक समितिका दफावार छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया