Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी

अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी

हाम्रा ओल्बाले कुरा कति जानेका के ! उनका कुरा सुनेर कन्टिर–बाबू हिजोदेखि नै दङ्गदास छन् । कहिले विगतमा अदालतलाई प्रभावित गर्न खोजेजस्तै संसद् र सांसदलाई प्रभावित गर्न खोज्छन् । कहिले संसद् पुनःस्थापना भए आन्दोलन गर्ने भन्छन् । कहिले अविश्वास प्रस्ताव पारित भए आफूले दुई तिहाइले जितेर सरकार बनाउने भन्छन् ।

अब अहिले ओल्बालाई सुरक्षा खतरा भयो रे ! लो सुन लो बात । बकलोल गप । कन्टिर–बाबू भन्छन्– त्यत्रो दुई तिहाइको लोकप्रिय नेताले यस्तो फितलो कुरा गरेको एक सुता नसुहाउने क्या !

दिनरात उच्च सतर्कतासाथ सुरक्षा घेराभित्र बस्ने ओल्बाले पोखरामा फेवातालतिर फर्केर ताल न बेतालको गफ गरे । उनीमाथि भौतिक आक्रमण भइहाले कसैले केही आश्चर्य नमाने हुन्छ रे !

लु, भैगो ओल्बाले नै भनेपछि उनका कुरामा कुनै कन्टिर–बाबू आश्चर्य मान्ने पक्षमा छैनन् । तर कन्टिर–बाबू अलमलमा छन्, सुरक्षा संयन्त्रको मुख्य जिम्मेवार व्यक्ति प्रधानमन्त्रीले नै आफूलाई सुरक्षा खतरा छ भन्नुको अर्थ कसरी लगाउने ?

ओल्बाको उक्त हचुवा अभिवयक्ति जनताको सहानुभूति बटुल्ने प्रयास हो कि उनलाई सुरक्षा दिने सुरक्षाकर्मीप्रतिको अविश्वास ? जे भए पनि कन्टिर–बाबू सोध्छन्– आखिर कोबाट खतरा छ ओल्बालाई ?

कालो ब्रिफकेसमा अत्याधुनिक रिमोट हतियार र ढालसहितको नयाँ कमान्डो सुरक्षा दस्ता हालसालै थपिएको हो । के तिनीहरूप्रति विश्वस्त छैनन् ओल्बा ?

यता, अहिले ओल्बाका प्रमुख प्रतिपक्षी भएर देखापरेका पुकदाले पनि गत वर्षको सुरुमै मलाई सुरक्षा–थ्रेट छ भनेर निकै चर्चा कमाएका थिए । कन्टिर–बाबू पुर्पुरोमा हात राखेर सोचिरहेका छन्– के ओल्बाले पनि पुकदाले जस्तै केवल आफू चर्चित हुन सोही पुरानो फन्डा कपी–पेस्ट गरेका हुन् ? कि उनलाई साँच्चिकै सुरक्षा–थ्रेट छ ?

हाम्रा देशका मुख्खे जिम्मेवार मान्छेले नै सुरक्षाजस्तो अति संवेदनशील विषयमा यस्तो हल्का–फुल्का टिप्पणी किन गरेका हुन् ? कन्टिर–बाबू भन्छन्– उनले यसबारे जनतासामु सार्वजनिक खुलासा गर्नैपर्छ ।

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया