Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

आज बाट खुला राजनीतिमा आउँदै गरेका विप्लव को हुन् ? संक्षिप्त जिवनी

आज बाट खुला राजनीतिमा आउँदै गरेका विप्लव को हुन् ? संक्षिप्त जिवनी

११ फागुन २०२४ मा रोल्पा केवरी गाउँमा चित्रबहादुर र खुसीमाया घर्तीका कान्छा सन्तानका रूपमा जन्मिएका हुन्, नेत्रविक्रम चन्द । २०५२ सालमा सुरु माओवादी जनयुद्धक्रममा भूमिगत भएपछि उनले उपनाम ‘विप्लव’ राखेका हुन् ।

रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङ बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी उत्तीर्ण गरेका थिए । उनका तीन दिदी र दुई दाजु छन् । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धपछि दुई छोरा र एक छोरी छन् ।

१ फागुन २०५२ मा माओवादी जनयुद्ध सुुरु हुँदा विप्लव विद्यार्थी राजनीतिमा उपाध्यक्ष थिए । यसपछि भने उनले २०५४ मा ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए ।

२०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज जिम्मेवारीसमेत पाए, उनले । २०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट उनी माओवादी केन्द्रीय सदस्य बन्न सफल भए । त्यसको चार वर्षपछि पोलिटब्युरो सदस्य हुँदै उनी २०६१ मा रुकुम–रोल्पा आधार इलाका ब्युरो इन्चार्ज भए । त्यसपछि उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र बनेका थिए ।

तर, पार्टी बैठक, भेलामा खरो र स्पष्ट रूपमा उभिएर पार्टीभित्रका विसंगति विषयमा बोल्न थालेपछि प्रचण्डबाट टाढिन थालेको उनीनिकट बताउँछन् । विप्लवले जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति अन्तरविरोध प्रस्तुत गरेका थिए ।

१८–२२ साउन २०६४ मा बालाजुमा भएको पार्टीको ५औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले कांग्रेस नेतृत्वको सरकारबाट ‘पार्टी फिर्ता हुनुपर्ने’ भन्दै नेतृत्वको विरोध गरे ।

३ असार २०६९ मा प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष सम्पन्न महाधिवेशनले मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिव भए । नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार ग¥यो । यसको मुख्य योजनाकार विप्लव नै थिए ।

वैद्य संरक्षक बनाएर थापा अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । यही असन्तुष्टिसँगै नेकपा–माओवादी पनि फुटाएर उनले ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरे र महासचिव आफैं बने । २०७३ फागुनमा उनले पार्टीको नाम ‘नेकपा’ राखेका हुन् ।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखापरेका छैनन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

प्रतिक्रिया