Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का स्थानीय प्रवीण बाँस्तोलाको हत्याआरोपी थप एक जना पक्राउ परेका छन् । स्थानीयको आन्दोलनपछि फरार रहेका उर्लाबारी–७ का रमेश गिरी पक्राउ परेका हुन् ।

पक्राउ परेका गिरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । थुनछेक बहसपछि अदालतले आदेश दिनेछ ।

स्थानीयको आन्दोलनपछि फरार रहेका गिरीलाई मोरङबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

बास्तोलाको गत पुस ५ गते शङ्कास्पद मृत्यु भएको थियो । आफन्त र स्थानीयले अनुसन्धानमा चासो नदिएको भन्दै नाराबाजी गरेपछि मङ्गलबार ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

पुस ४ मा मदिराको नशामा साथीहरूसँगै कोठामा बसेका प्रवीणको शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । मृत्यु भएको दिन प्रवीण सुदीप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा बसेका थिए । बास्तोला साथी राजेश रणपहेलीसँगै पुगेका थिए ।

हत्यामा संलग्नलाई कारवाही नगरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि प्रहरीले कुमार राई र मेहरमान दर्जीलाई पक्राउ गरी छ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

पुस ४ गते प्रवीणसँग विवाद गर्ने होटल सञ्चालक कुमार राई अदालतको आदेशपछि तीन लाख धरौटी बुझाएर छुटेका छन् । उनीसँगै कोठामा बसेका मेहरमान दर्जी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मुद्दा दायर गरिएका प्रतिवादीहरू सुदीप परियार, दीलिप पौडेल र राजेश रणपहेली फरार छन् । फरार भएकाहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया