Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्‍न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्‍न भएको भन्‍ने कुरामा आफू विश्‍वस्त नभएको बताएकी छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका किशोर दिनेश भट्टले छोरी भागरथीको हत्या भएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् ।

लेखाजोखालाई प्राप्त भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

“घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्‍यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

उनले प्रहरीले हत्यामा संलग्‍न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले भिडियोमा भनेकी छन् ।

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्‍न भएको दाबी गर्दै दिनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

“त्यो केटा र भागरथी दिदी भाइ हुन् । त्यसले त्यस्तो गरे होला भन्ने मलाई कत्ति पनि विश्वास छैन । हिजोसम्म सामूहिक बलात्कार भन्‍ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्‍ने ? यो हत्यारा लुकाउने खेल हो,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै लेखाजोखासँग भनिन् ।

कोषाध्यक्ष सिंहका अनुसार द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तबसम्म म शव पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै भनिन् ।

 

प्रतिक्रिया