Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

किन छन नागरिक एपमा यति धेरै समस्या ?

किन छन नागरिक एपमा  यति धेरै समस्या ?

गत माघ २ गते सार्वजनिक भएको नागरिक एपका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । एपका प्रयाेगकर्ता बढिरहँदा प्रयाेगकर्ताका गुनासा पनि बढिरहेका छन् । सम्भव भएसम्मका सबै सरकारी सेवा एपबाटै दिने उद्देश्यले ल्याइएको यो एपमा केही त्रुटि र समस्या भएको गुनासो प्रयोगकर्ताहरुबाट आइरहेको छ । यसअनुरुप सरकारले क्रमशः त्रुटि हटाउन काम गरिरहेको बताएको छ । यसका लागि बेटा भर्सनमा देखिएका समस्या र गुनासा टिपाउन अनुरोध समेत गरेको छ ।

हाल एपमा स्थायी लेखा नम्बर (प्यान) दर्ता, शैक्षिक विवरण (एसएलसी र उच्च माध्यामिक तह), नागरिक लगानी कोषको विवरण, कर्मचारी सञ्चय कोषको विवरण, सामाजिक सुरक्षा कोषको विवरण, नागरिकता विवरण, राहदानी विवरण र मतदाता परिचयपत्रको विवरण हेर्ने सुविधा छ ।

तर एप सार्वजनिक भएलगत्तै धेरै प्रयोगकर्ताले गुनासो गर्न थाले । एपमा खाता खाेल्न नसकेकाे, शैक्षिक विवरण फेला नपर्ने समस्या, एप क्र्याश हुने समस्या, ओटीपी कोड नआउने समस्या, फाेटाे अपलाेड हुने समस्या भएकाे गुनासाे आइरहेको छ ।

एप प्रयोगकर्ताले भोगेका केही समस्याहरुकाे चर्चा यहाँ गरेका छौं:

एपमा खाता खाेल्न समस्या

प्रयोगकर्ताहरुले नागरिक एपमा खाता खोल्नै समस्या भोगिरहेको गुनासो गर्ने गरेका छन् । यसको मुख्य कारण भनेको तपाईंले प्रयोग गर्ने मोबाइल नम्बर अर्कैको नाममा दर्ता भएको हुनसक्छ ।

मोबाइल सेवा प्रदायकमा रहेको तपाईंको विवरण र परिचयपत्र (नागरिकता, राहदानी वा मतदाता परिचयपत्र) गृह मन्त्रालय, राहदानी विभाग वा निर्वाचन) आयोगमा रहेको विवरणसँग मेल नखाएको हुनसक्छ ।

नाम अथवा विवरण नमिलेको भनेको खण्डमा परिचयपत्र जारी गर्ने सम्बन्धित निकायको सिस्टममा राखिएको तपाईंको विवरण र तपाईंको कागजातमा भएको विवरण आपसमा मेल नखाएको वा मिसम्यास हुनसक्छ ।

यसका लागि सम्बन्धित निकायमा गएर आफ्नो कागजात डिजिटल प्रणालीमा ठीकसँग राख्न अनुरोध गर्नुपर्छ । साथै सिमकार्ड अरुकै नाममा छ भने आफ्नो नाममा नामसारी गर्नुपर्छ ।

विदेशबाट एप चलाउन समस्या

यसैबीच विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली नागरिक यो एप प्रयोग गर्नबाट वञ्चित बनेका छन् । किनकि नेपालमा चलेका मोबाइल नम्बरबाट मात्र नागरिक एप चलाउन सकिने व्यवस्था गरिएको छ । नागरिक एपले निश्चित मोबाइल नम्बर तपाईंकै नाममा रहे नरहेको यकिन गर्न सम्बन्धित मोबाइल सेवा प्रदायकको सिस्टममा पहुँच बनाउने गर्दछ ।

साथै उक्त नम्बर तपाईंको साथमा भएको यकिन समेत गरिन्छ । तर अन्य देशका मोबाइल नम्बर यसरी प्रमाणीकरण गर्न सम्भव नभएकाले यो सेवा हाललाई नेपालभित्र मात्र उपयोग गर्न सकिने बनाइएको छ । नागरिकको डेटा सुरक्षाका लागि यस किसिमको प्रबन्ध मिलाइएको बताइएको छ । यद्यपि भविष्यमा यसको समाधान गर्ने प्रयास हुने विश्वास गरिएकाे छ ।

स्मार्ट सेलबाट नम्बर दर्ता हुन नसक्ने समस्या

देशकै तेस्रो ठूलो मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले भने यस्तो सिस्टम विकास गर्नै सकेको छैन । जसका कारण स्मार्टका कुनै पनि मोबाइल नम्बरबाट नागरिक एपमा खाता खोल्न नसकिने भएको हो ।

कम्पनीले मोबाइल नम्बर प्रमाणीकरणका लागि आवश्यक प्रविधि जडान गर्न सकेको खण्डमा नागरिक एपमा आवद्ध गराउन कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ । हाल नेपाल टेलिकम र एनसेलका प्रयाेगकर्ताले मात्र एपमा लगइन गर्न सक्छन् ।

एप क्र्याश हुने समस्या

कतिपय प्रयोगकर्ताले एप खोल्नासाथ क्लोज हुने वा क्र्यास हुने गरेको गुनासो गरेका छन् । यसको कारण भनेको पुरानो भर्सनको एप चलाउन हो । नयाँ एप अपडेट गर्दा यस्तो समस्या नआएको प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

शैक्षिक विवरण फेला नपर्ने समस्या

तपाईंको प्रमाणपत्रमा रहेको विवरण र सम्बन्धित बोर्डमा भएको विवरण आपसमा मेल नखाएको हुनसक्छ वा विवरणमै त्रुटि भएको हुनसक्छ । साथै तपाईंले प्रविष्ट गरेको विवरण तथा नम्बर राख्ने तरिका नमिलेको हुनसक्छ ।

तपाईंको कागजातमा भएको विवरण तथा नम्बर र सम्बन्धित शैक्षिक बोर्डमा भएको रेकर्ड फरक नपर्दा पनि यस्ताे समस्या हुन सक्छ । सम्बन्धित निकायको सिस्टमले राम्रोसँग काम नगरेको हुनसक्छ ।

ओटीपी कोड नआउने समस्या

एपमा खाता खोल्न ओटीपी कोड नआउन सक्छ । ओटीपी कोड वा एसएमएस मोबाइल सेवा प्रदायकबाट आउने भएकाले त्यस्तो सेवा प्रदायकको सिस्टमले पठाउन नसकेको हुनसक्छ । एसएमएस पठाउने बेलामा नागरिक एपको सिस्टमले मोबाइल सिस्टमसँग सञ्चार गर्न नसकेको हुनसक्छ ।

साइबर आक्रमण रोक्न पाँच सेकेन्डमा एउटा ओटीपी कोडको अनुरोध मात्र गर्न पाइन्छ । पाँच सेकेन्डमै दुई वा दुईभन्दा बढी पटक अनुरोध गरेको खण्डमा ५ सेकेन्ड कुर्नुपर्ने नोटिफिकेसन आउने गर्छ । त्यस्तै एउटा नम्बरमा एक दिनमा सातभन्दा बढी पटक ओटीपीको अनुरोध गर्न नसकिने व्यवस्था गरिएको छ ।

अर्को मोबाइल डिभाइसमा लगईन गर्दा समस्या

प्रयोगकर्ताको डिभाइसलाई समेत नागरिक एपले चिन्ने गर्दछ । दर्ता गर्दा जुन डिभाइस प्रयोग गर्नुभएको छ, त्यसै डिभाइसबाट मात्र एप लग ईन गर्नुपर्ने हुन्छ । अर्कोबाट लगईन गर्न खोज्दा पुनः ओटीपी भेरिफिकेसन जरुरी हुन्छ ।

आईओएसमा एप नखुल्ने समस्या

समस्या सधामानका लागि एप्पललाई दुई साता अघि नै अपडेट पठाइ सकिएको छ । अपडेट उपलब्ध हुन ढिलाई हुँदा यस किसिमको समस्या देखिएको हो । हाललाई अपडेट कुर्नुको अर्को विकल्प छैन ।

फोटो अपलोड नहुने समस्या

यस्तो अवस्थामा फोटोको फर्म्याट नमिलेको हुनसक्छ । यसमा सम्बन्धित व्यक्तिकै पासपोर्ट आकारको फोटो हुन जरुरी हुन्छ । त्यस्तै फोटोमा एक जना मात्र भएको हुनुपर्छ ।

साथै ३ एमबीभन्दा ठूलो साइजको फोटो समेत एपमा अपलोड हुन सक्दैन । जेपीजी, जेपीईजी, पीएनजी फर्म्याटको फोटो मात्र अपलोड हुने हुँदा अन्य अन्य फर्म्याटमा फोटो नराख्नुहोस् ।

प्रतिक्रिया