Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

‘दुःखले आर्ज्याको मुलुक’ सुखभोगमा लुटिएपछि

‘दुःखले आर्ज्याको मुलुक’ सुखभोगमा लुटिएपछि

संयुक्त राज्य अमेरिकाभन्दा नेपाल कम्तीमा आठ वर्षपहिला ‘मुलुक’ बनेको हो । दुवैले अपनाएको प्रक्रिया मूलतः ‘एकीकरण’ नै हो । गोरखाका राजा पृथ्वीनारायण शाहले सन् १७६८ को अन्त्यतिर काठमाडौं र सन् १७६९ मा भक्तपुरमाथि विजय गरेपछि नेपालको एकीकरण प्रक्रिया उत्कर्षमा पुगेको मानिन्छ ।

यसपछि पनि उनकी बुहारी राजेन्द्रलक्ष्मीे र कान्छा छोरा बहादुर शाहले नेपालको विस्तारलाई निरन्तरता दिए । त्यसको आठ वर्षपछि, ४ जुलाई १७७६ मा अमेरिकाका तेह्र राज्यले एकीकृत रूपले बेलायती साम्राज्यबाट स्वतन्त्रताको घोषणा मात्र गरेनन्, त्यसलाई ‘संयुक्त राज्य’ पनि बनाए । अरू राज्य क्रमशः पछि थपिँदै गएर अहिले पचास राज्यको अमेरिका बनेको छ । अमेरिकी राज्यहरू जनसंख्या र स्रोतका हिसाबले अहिलेको परिभाषामा पनि छुट्टै मुलुक भन्न सकिने आकार र प्रकृतिका थिए । नेपाल बनाउन पनि करिब पाँच राज्य नै एकीकरण भएका हुन् । तर तीमध्ये अधिकतर भुरेटाकुरे तिरो ठेकेदारी राज्य (भासल स्टेट) थिए । यसरी झन्डै एकै समयमा मुलुकको आकार ग्रहण गरेका नेपाल र अमेरिका त्यसपछिको झन्डै अढाई सय वर्षको इतिहासमा चरम आर्थिक–सामाजिक भिन्नता भएका मुलुकहरू बने ।

नेपाल चरम अव्यवस्था, गरिबी एवम् ढुंगेयुग सभ्यताको जीवित संग्रहालय र अमेरिका स्वतन्त्रता, वैभव, सामरिक शक्ति एवम् समृद्धिको पर्याय छन् अहिले । नेपाल किन यसरी पछाडि पर्‍यो ? यो अचेल बाक्लै सोधिने प्रश्न भएको छ । आज पुस २७ गते ‘पृथ्वी जयन्ती’ को सेरोफेरोमा राष्ट्रिय बहसको मूलधारमा यो प्रश्न बिउँतिनुले पृथ्वीनारायण कालयताको नेपाल नियाल्नु सान्दर्भिक हुनेछ ।

विधि र वंश

२०६२–६३ को जनआन्दोलनमा खास गरी माओवादीहरूको पहलमा पोखरा लगायतका स्थानमा रहेका पृथ्वीनारायणका सालिकहरू अकारण भत्काइए । उनलाई साम्राज्यवादी र विस्तारवादी भएको अनि पछि भ्रष्ट बनेको शाह राजतन्त्र स्थापना गरेको आरोप छ । नेपाल ‘मुलुक’ लाई उनको अत्याचारको उपलब्धिका रूपमा मात्र चित्रण गर्ने प्रयास भयो । यसपछि पटकपटक सत्तामा पुगेको त्यो हिंस्रक राजनीतिक समूहको उच्च नेतृत्व, मुख्यतः पुष्पकमल दाहालले पृथ्वीनारायणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । जनजाति आन्दोलनका अभियन्ताहरूले उनलाई दमनकारी र लुटाहाको कोटिमा दर्ता गराउने उद्यम नै गरेका छन् । इतिहास र अभिलेखलाई यसरी अपमानित गर्नु हुँदैन भन्नेहरू स्वतः प्रतिगामी करार गरिए । पृथ्वीनारायणले नेपाललाई त्यति बेला नै सालाखाला यो आकारमा नल्याइदिएका भए यी सबैले राजनीतिचाहिँ केमाथि गर्थे ? नेपाल एकीकरण नभएको भए ‘खलङ्गा,’ ‘थुम’, ‘कोट’, ‘लुङ’ वा ‘हाङ’ राज्यहरू अहिलेसम्म कायमै हुने सामर्थ्य राख्थे त ? यो प्रश्न पृथ्वीनारायणलाई खलनायक देख्नेहरूलार्ई कतैबाट सोधिएको छैन ।

इतिहासविद् महेशराज पन्तका विचारमा, ‘पृथ्वीनारायण शाहलाई यसरी प्रतिनायक बनाउने क्रम उनले नेपालखाल्डो जितेदेखि नै पश्चिमाहरूले गर्दै आएका छन् । त्यति बेलै इटालीबाट धर्मप्रचार गर्न आएका पादरी जुजेप्पेले सुरु गरेका थिए ।’ यो अझै निरन्तर छ ।

अर्को ध्रुवमा, पृथ्वीनारायणको नाम वा शाह वंश–विरासतलाई राजनीतिमा च्याँखे दाउ थापेर आफ्नो स्वार्थको दुनो सोझ्याउन कसरत गर्नेहरू पनि छन् । बढ्दै छन्, अथवा फेरि जुरमुराएका छन् । वास्तवमा इतिहासलाई मात्रै गौरव गरेर अथवा साक्षी राखेर, त्यसबाट पाठ नसिकी मुलुकको भविष्यको समृद्धि र जनताको सुखको राजमार्ग निर्माण गर्न सकिँदैन । पृथ्वीनारायणको गुण र योग्यता वंशज वा तिनका अन्धसमर्थकमा स्वतः सरेर आएको छैन । यो सूक्ष्म चेत यी अन्धभक्तहरूमा पनि छैन । विगत दुई सय चालीस वर्ष उनकै वंशले अकण्टक शासन गर्दा पनि आर्थिक रूपले समृद्ध, कूटनीतिक रूपले सक्षम र सुशासनयुक्त नेपाल निर्माण हुन नसकेको नाङ्गो सत्य हाम्रै अगाडि लम्पसार छ । यो ‘दुःखले आर्ज्याको मुलुक’ ले निरन्तर दुःख नै पाइरहनुका संरचनात्मक कारण र कारकहरूमाथि भने निर्मम र भाव–उद्वेलनरहित (डिस्प्योनेट) बहस वास्तवमै अपरिहार्य भइसकेको छ ।

अमेरिकी स्वतन्त्रताको दस्तावेजलाई लोकतान्त्रिक मूल्यहरूको आधारपत्र मात्र होइन, सुन्दर साहित्यिक कृति पनि मानिन्छ । अमेरिकी स्वतन्त्रता घोषणाले केही महत्त्वपूर्ण सिद्धान्तहरू प्रतिपादित गरेको छ । मानिस जन्ममा समान हुने र जीवन, स्वतन्त्रता र सुखप्राप्ति (लाइफ, लिबर्टी एन्ड पर्सुट अफ ह्याप्पिनेस) मा सबैको समान अधिकार यसका सैद्धान्तिक आधार हुन् । यिनै सिद्धान्तलाई मूल आधार मानेर त्यसको बाह्र वर्षपछि सन् १७८९ मा अमेरिकाको संघीय संविधान बन्यो । यसका प्रमुख लेखकहरू थोमस जेफर्सन, जोन एडम्स, बेन्जामिन फ्र्याङ्कलिन, रोजर सरमन र रोबर्ट लिभिङस्टोन सबैलाई त्यहाँ राष्ट्रिय विभूति मानिन्छ । प्रस्टै छ, यसमा सर्जकहरूको बौद्धिक कदर र, यसर्थ, लोकतान्त्रिक पारदर्शिता छ । स्वतन्त्रता घोषणाका दार्शनिक अवधारणाहरू नै मुलुकको शासकीय विधि निर्माणका आधार बनेका छन् । यिनको महत्त्व र सान्दर्भिकतालाई संसारभर अनुकरण गरिएको छ ।

आस्था र संस्था

पृथ्वीनारायणले आफ्नो राज्यकालमा दिएका उपदेशहरू पनि संकलित छन् (हेर्नुस् ः महेशराज पन्त, देवीप्रसाद भण्डारी, गौतमबज्र बज्राचार्य र दिनेशराज पन्तद्वारा सम्पादित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश,’ २०२८) । योगी नरहरिनाथजस्ता राजसंस्थाका भक्तहरूले त तिनलाई ‘दिव्योपदेश’ कै उपाधि दिएका छन् । ती उपदेशहरूको सारतत्त्व र उपयोगिता अझैसम्म सान्दर्भिक छ । कम्तीमा यस्तो दाबी छ । सहजै अनुमान लगाउन सकिन्छ— मुलुकको कूटनीति, प्रशासन, अर्थव्यवस्था, युद्ध आदि समेतका विषयमा अभिव्यक्त धारणाहरू उनी एक्लैले लेखेका होइनन्, उनका उपदेशहरू जसरी उनको शासनकालभन्दा दुई हजार वर्षपहिलेको कौटिल्य अर्थशास्त्रका सिद्धान्तहरूबाट प्रेरित(?) छन् (हेर्नुस् : नयराज पन्त, ‘आचार्य कौटिल्य र श्री ५ पृथ्वीनारायण शाह,’ पूर्णिमा, अङ्क १७, २०२५) ।

यसको सोझो अर्थ हो— यी उपदेशहरू सूत्रबद्ध गर्न त्यतिखेरका संस्कृत भाषाका ठूला विद्वानहरूको योगदान थियो । तर, यी लिखतमा ती विद्वानहरू वा भाइभारदारहरूको सामूहिक स्वामित्व कतै प्रकट भएन । शाह राजवंशले त तिनलाई एकलौटी पारिवारिक पैतृक हकका रूपमा व्यवहार गर्‍यो । राज्य सञ्चालन भने निरन्तर पृथ्वीनारायणको मार्गदर्शन वा उपदेशको विपरीत भइरह्यो ।

पृथ्वीनारायणका उपदेशहरू मूलतः व्यावहारिक शासकीय तजबिजमाथिका प्रतिक्रियाजस्ता छन् । उदाहरणका लागि, ‘यो राजे दुई ढुङ्गा बिचको तरुल जसै रहेछ ।’ तिनमा दार्शनिक–राजनीतिक ‘डिस्कोर्स’ को अवयव असाध्यै थोरै छ, तिनमा पूर्वीय वैदिक सभ्यताकै दृष्टिले पनि धेरै आदर्श अभिव्यञ्जना छैन । स्वतन्त्रता, मानवीयता र समानताका बारेमा हाम्रा आफ्नै सभ्यतामा पनि सम्पूर्ण भाष्य छन् । उनका उपदेशमा त्यो दार्शनिक पक्ष कमै प्रतिविम्बित छ । खड्किने अहं पक्ष, उनका वाणीहरूलाई राज्य सञ्चालनको विधि र कौशलमा रूपान्तरण गर्ने अनि दिगो संस्थागत रूप दिने प्रयास कहिल्यै भएन । एकीकृत नेपालको विधान अर्को दुई सय वर्षसम्म बन्न सकेन । सेना र भारदारी सभाको झिनो अपवादलाई छोडेर उपदेश कार्यान्वयनकै लागि आवश्यक शासकीय संस्थाहरूसमेत बनेनन् । सत्तामा पुग्ने केही मानिसका लागि उपदेशहरू भाषणमा जोड्ने तर अभ्यासमा ल्याउनु नपर्ने तुक्का बनिदिए । वंश वा व्यक्तिप्रति आस्थाको केही दलको सैद्धान्तिक आधार नै छ, जहाँ शासकीय प्रणालीका लागि अपरिहार्य संस्था, तिनको प्रभावकारिता र गुणदोषको अपरिहार्य बहसलाई, दुर्भाग्यवश, आस्थाको चर्चाले छोपिदिएको छ । पृथ्वीनारायणप्रति आदर–सम्मानको अहिलेको बान्की ठ्याक्कै त्यस्तै छ ।

पृथ्वीनारायणपछि शाहवंशले दुई सय बत्तीस वर्ष शासन गर्‍यो । शक्ति राजा अथवा बढीमा परिवारभित्र केन्द्रित रह्यो । तिनका मनलाग्दी मौखिक हुकुमहरू नै विधि भए । सुशासनका लागि आवश्यक लोकतान्त्रिक संस्थाहरूको अभावमा पृथ्वीनारायणको मृत्युपछिका त्रिहत्तर वर्ष दरबारी षड्यन्त्र, जोडघटाउ, धोका र हत्यामा बिते । यही कालखण्डमा संसार औद्योगिक क्रान्ति, आर्थिक उन्नति र नयाँ शैक्षिक–दार्शनिक दृष्टि निर्माणको गहन कसरतमा थियो । नेपालका लागि त्यो कालखण्ड पूर्णतः उपलब्धिबेगर खेर गयो । सन् १८४६ मा जंगबहादुरले कोतपर्वमार्फत शासनसत्ता हत्याएपछि शासकीय सत्ताको स्रोत जनसमर्थन र लोकप्रियता झन् रहेन । सत्तावृत्तका निर्मम हत्याका पुष्ट–अपुष्ट चुहिएका समाचारहरूले त्यो चेतनाशून्य युगका आमजनतालाई जसरी त्राहिमाम् पारेका थिए, त्यसबाट शासनको लगाम थप कसिलो बनाउन जंगबहादुरलाई निश्चय धेरै सहज भएको थियो । तर यस्तो भय एकतर्फी मात्र थिएन । यति त्रूर, हिंसात्मक र अलोकप्रिय बाटोबाट सत्तामा बस्न आइपुगेका जंगबहादुरको मुटु पनि कुनै न कुनै अर्को यस्तै षड्यन्त्रबाट मारिनु वा सत्ताच्युत हुनुपर्ला भन्ने भयले निरन्तर काम्थ्यो होला भनी अनुमान गर्न गाह्रो छैन ।

त्यसैले उनले शासनसत्ता हातमा लिएपछि विधिसम्मत शासन गर्ने सम्भावनालाई लत्त्याएर नयाँ जहानियाँ रोलक्रम स्थापित गरे । मुलुकदोहन गरेको सम्पत्ति विदेश लैजाने परम्पराको सुरुआत उनैले गरे । सत्ता टिकाउनका लागि भारतमा राज्य गरिरहेको अंग्रेज साम्राज्यको सहायता लिनु सबभन्दा उपयुक्त रणनीति बन्यो । मुलुकको उन्नति र जनताको सुखका लागि काम गरेर जनविश्वास जित्ने लामो बाटो समाउनुभन्दा ‘एउटै प्रभु’ को विश्वास जितेर उसको शक्तिको धाक–रवाफमा शासन गर्ने नजिर स्थापित भयो । राणा परिवारभित्रको झैझगडा, किचलो र सत्ताको छिनाझपटीमा बाहिर पारिने वा पर्ने राणाहरूले नेपालको अथाह सम्पत्ति विदेश लगे । यहाँबाट लखेटिएका राणाहरूले भारतका विभिन्न ठाउँमा बनाएका दर्जनौं भीमकाय दरबारहरूमा सम्पूर्णतः नेपालको धन खर्च भएको छ ।

पृथ्वीनारायणले भनेका थिए, ‘देसका कपरा लगाउनालाई मन्हाइ गरिदिनु. आफ्ना देसका कपरा बन्न जान्यालाई नमना देषाई सघाउनु र बन्न लाउनु र यस्व भया नगत देस जादैन । आफ्ना देसको जिनिस् जरिबुटि देस लैजानु र नगत षैचनु. नगत षैचिरहनु ।’ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश,’ पृष्ठ ३२४) । यसरी नगद खैंचने कुरा अब क्रमशः किंवदन्ती हुँदै छ । नेपाली पूर्णतः आयातनिर्भर भएका छौं ।

त्यस्तै, सत्तामा पुग्न वा टिकिरहनका लागि खास गरी दक्षिणी शक्तिको सहारा लिने क्रम भारतबाट अंग्रेज शासन र नेपालबाट राणा शासन हटेपछि पनि अहिलेसम्म कायम छ । पृथ्वीनारायणको ‘चीनबादसासित ठूलो घाहा राष्नु. दषिनको समुद्रका बादसासित घाहा ता राष्नु. तर त्यो महाचतुर छ.’ (ऐऐ, पृष्ठ ३२२) भन्ने उपदेशले आधुनिक कूटनीतिक प्रस्टीकरण खोजेको छ । उनले दिएका उपदेशअनुरूपको कता खेती गर्ने र कता आवास बनाउने चेत नहुँदा सबभन्दा उर्बर जमिनमा अव्यवस्थित सहरहरू बसेका छन् ।

राज्य सञ्चालनका लागि आवश्यक पर्ने संस्था निर्माण हुन सकेका छैनन् । गत साता अमेरिकी संसद् भवन कब्जा भएको दृश्यले अमेरिकी लोकतन्त्रको मुखुन्डो उत्रिएको चर्चा पनि व्यापक छ । तर लोकतान्त्रिक संस्थाहरू खास गरी न्यायालय, संसद् र अन्य राजकीय संस्थाहरूको सहनक्षमता (रेजिलियन्स) र व्यावसायिकता पनि उसै गरी उजागर भएको छ । नेपालमा सर्वत्र खड्किएको अभाव यही ‘रेजिलियन्स’ हो ।

पृथ्वीनारायणका उपदेशहरूको सच्चा अनुसरण गर्नेभन्दा उनलाई नायक वा खलनायक बनाएर कित्ताकाटको राजनीति गर्ने आतुरी धेरैमा देखिएको छ । मुलुकलाई सत्तामा पुग्नेले सधैं दोहन मात्रै गर्ने हो भने यो दुःखले आर्ज्याको राज्यको भविष्य उनीप्रतिको ओठेभक्तिले मात्र सुखमय बनाउन असम्भव छ ।

(कान्तिपुरबाट )

प्रतिक्रिया