Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

नारायण दाइको पहिलो स्रोता म !

नारायण दाइको पहिलो स्रोता म !

त्यसबेला म्युजिक नेपालले स्टूडियो स्थापनाको गरिसकेको थियो, कालिकास्थानमा । म त्यहीँ थिएँ । निजी क्षेत्रको म्युजिक स्टूडियो भएकोले गीत संगीतका क्षेत्रमा लागेकाहरू त्यहाँ आइरहनु हुन्थ्यो ।

एकपटक मधु क्षेत्री स्टूडियोमा आएका थिए । उनी पनि वीरगंजको भएकोले मसँग राम्रो सम्बन्ध थियो । उनले मसँग नारायणगोपाल दाइका विषयमा कुरा गरे । उनले नै ‘म नारायण दाइलाई स्टूडियोमा लिएर आउँछु’ भने । 

हिले त मलाई विश्वास लागेको थिएन । मधुले गफ दिएका होलान् भन्ने भयो । त्यतिबेलासम्म रेडियो नेपालमा गएर गीत रेकर्ड गर्न सायद नारायण दाइले छोडिसक्नु भएको थियो । 

एकदिन अचानक स्टूडियोमा मधुसँग नारायण दाइ आइपुग्नु भयो । 

म नारायणगोपालको पहिलेदेखि नै फ्यान हुँ । कलैया, वीरगंजमा हुँदा पनि म नारायण दाइका गीतहरू सुन्थेँ । खुबै मन पथ्र्यो । म बेञ्जो पनि बजाउँथे । वीरगंजको ठाकुरराम क्याम्पसमा पढ्दा त्यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा मधु क्षेत्री र प्रकाश श्रेष्ठहरू गीत गाउँथे । म पनि कहिलेकाहीँ बेञ्जो बजाउँथेँ । उनीहरूसँग मेरो सम्पर्क कलेजमै भएको हो । कलेजमा हुँदा नारायणगोपाल दाइका गीतहरू पनि गाइन्थ्यो । 

फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट, पुनाबाट साउण्ड इन्जिनियरिङ गरेर फर्किए पछि म काठमाडौंका स्टूडियोहरूमा सक्रिय रहेँ । त्यसैताका ‘बदलिँदो आकाश’ फिल्मको गीत रेकर्डिङ हुँदै थियो । त्यसमा नारायणगोपाल दाइले पनि गीत गाउनु भएको छ । त्यो शीर्ष गीतको रेकर्डिङमा म पनि थिए । त्यो फिल्मका गीतहरू नेपालमै रेकर्ड भएका हुन् । त्यस अघि फिल्मी गीत रेकर्डिङका लागि मुम्बई र कलकत्ता जाने चलन थियो । 

त्यो फिल्मी गीतको रेकर्डिङ उप्रान्त नारायण दाइसँगको मेरो सम्पर्क सामान्य रह्यो । तर कालिकास्थानस्थित म्युजिक नेपालको स्टूडियोमा नारायण दाइ आउन थाल्नु भएपछि उहाँसँग मेरो सम्बन्ध घनिष्ट हुँदै गयो । 

र त्यहीँ नै ‘गीति यात्रा भाग– १’ को कन्सेप्ट डिजाइन गरियो । 

‘गीति यात्रा भाग– १’ का लागि नौ वटा गीतको तयारी भएको थियो । त्यसमध्ये एउटा गीत पछि गर्ने भनेर छोडियो । र एलबममा आठ वटा गीत मात्र राखियो । हुनत त्यसको म्युजिक बनिसकेको थियो । तर त्यो धुनमा नारायण दाइले गाउनुभएन ।

नारायण दाइको गीत सेलेक्सन खुबै राम्रो थियो । गीत हातमा पर्नासाथ उहाँ त्यसका शब्दहरूमा भिज्नु त हुन्थ्यो नै, साथै संगीतकारले धुन बनाएर दिएपछि त्यसको रेन्ज पनि हेर्नुहुन्थ्यो । यदि आफ्नो रेन्जमा गीत छैन भने उहाँ त्यो गीत गाउनु हुन्थेन । 

वास्तवमा गीत गाउने उहाँको आफ्नै प्याटर्न थियो । उहाँले ‘मुरकी’ लिने अर्थात् घुमाउने ठाउँको नोटेसनमा यताउता पर्यो भने पनि उहाँलाई मनपर्थेन । गीतमा पर्फेक्सन खोज्नु हुन्थ्यो नारायण दाइ । ‘गीति यात्रा भाग– १’ का केही गीतहरूमा त्यस्तो भएको थियो । तर त्यसबेला चारवटा ट्र्याकमा रेकर्ड गर्ने मेसिन भएको र भोकलका लागि दुईवटा ट्र्याक छुट्याइएकोले गीत रेकर्डिङ सहज भएको थियो । 

उहाँको गीत एउटामा रेकर्ड गर्यो, अनि मन परेन भने फेरि अर्कोमा ग¥यो । र जुनमा राम्रो आउँथ्यो त्यसलाई हामी फाइनल गथ्र्यौं । कतिपय गीतमा त नारायण दाइले ‘भएन, फेरि गर्ने’ भने पछि त्यसलाई मेटेर पनि गीत रेकर्ड गरिएको छ । 

खासमा त्यसबेला म्युजिक नेपालमा चार ट्र्याकको रेकर्डिङ मेसिन ल्याइएको थियो । एउटालाई डमी ट्«याककारूपमा प्रयोग गर्दै बाजाहरू तयार गरेर राखिन्थे । त्यसैअनुरूप भोकल गर्दा नारायण दाइलाई मन परेन भने त्यसलाई रिपिट गर्ने गरिन्थ्यो । 

गीति यात्राको गीत रेकर्डमा गानाहरू सबै अत्यन्तै मिहिनेतकासाथ तयार गरिएको थियो । त्यसैले पनि ‘गीति यात्रा भाग– १’ मा समय पनि मनग्ये लाग्यो । 

‘गीति यात्रा भाग– १’ का लागि गीतहरू रेकर्ड गरिने निश्चित थियो । तर सुरुमा नारायण दाइलाई सायद शंका लागिरहेको थियो, म्युजिक रेकर्डिङ इक्युपमेन्टलाई लिएर ! जबकी मैले पुनाबाट साउण्डमै इन्जिनियरिङ गरेको थिएँ । भोकलको क्वालिटी कन्ट्रोल कसरी गर्ने भन्ने विषयमा मलाई जानकारी थियो । 

एक दिन उहाँले म्युजिक नेपालको भरखर बनेको स्टुडियो हेर्नुभयो । उहाँले मलाई ‘सामान देखाउ त’ भन्नु भयो । मैले उहाँलाई मेसिनहरू देखाएँ । उहाँले फिस्स हाँस्दै भन्नु भयो, ‘यस्तोले कहीँ रेकर्डिङ हुन्छ ?’

त्यसपछि मैले ‘दाइ हुन्छ । एक चोटी ट्राइ गरेर हेर्नुस् । यदि चित्त बुझेन भने नगर्नु होला’ भनेँ । त्यस पछि उहाँले एक दुई वटा गीत ट्राइ गर्नुभयो । त्यसपछि मात्रै उहाँले रेकर्डिङ गरौँ भन्नु भयो । अर्थात् उहाँलाई काम चित्त बुझ्यो ।

‘कसरी म भुलेँ केमा म भुलेँ...’, र ‘आज भोलि हरेक साँझ मात्तिन थालेछ...’, यी दुई गीतको रेकर्डिङबाट भोकल ट्राइ गरिएको थियो । त्यो गीतहरू रेकर्ड गर्दा नै मलाई यी गीत कालजयी हुन्छन् भन्ने लागिसकेको थियो । र भयो पनि त्यही नै । भनिरहनु पर्दैन, आज ‘गीति यात्रा भाग – १’ का सबै गीतहरु उत्तिक्कै श्रवणीय छन् ।

नारायण दाइमा गीतका शब्द छान्ने कला अत्यन्तै उच्च थियो । उहाँले गीत र संगीतमा विशेष ध्यान दिनुहुन्थ्यो । कहिलेकाहीँ त आफूलाई मनपरेको गीत घर लगेर त्यसको दुई चारवटै धुन आफैले बनाउनु हुन्थ्यो । ती गीत सुन्दा कस्तो लाग्छ भनेर बुझ्न खोज्नु हुन्थ्यो । 

अर्को कुरा, उहाँ छायावादी गीत मनपराउनु हुन्थ्यो । गीतमा बिम्ब र प्रतीकका अर्थहरूसँग खेल्नुहुन्थ्यो । ‘साउनको झरी बनी तिमी आउन..’ बोलको गीतका बारेमा चर्चा गर्दा उहाँले मलाई भन्नु भएको थियो, – यो क्रान्तिलाई आह्वान गरिएको गीत हो । 

नारायण दाइ बिहानै म कहाँ आइपुग्नु हुन्थ्यो । त्यसपछि म र नारायणगोपाल दाइ कालिकास्थान जान्थ्यौँ । दीपक जंगम सर पनि आइपुग्नु हुन्थ्यो । र कहिलेकाहीँ त हामी तीन जना अबेर रातीसम्म पनि गीत सङ्गीतका विषयमा छलफल गरिरहेका हुन्थ्यौँ । 

त्यसैबेला आएको थियो दरबारबाट एउटा गीत, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ....’ । त्यो गीतका लागि धेरै धुनहरू दीपक सरले बनाउनु भएको थियो । त्यसमध्येको एउटा धुनमा गीत रेकर्ड भयो । गीत दरबार पठाइयो र प्रशंसित पनि भयो । त्यो गीतले साङ्गीतिक क्षेत्रमा तहल्कै मच्चाएको थियो !

गीति यात्राका लागि गीत रेकर्ड गर्दा नारायण दाइको बानी थियो, उहाँ जहिल्यै कुनातिर बसेर गीत गाउनु हुन्थ्यो । ठूलो शिशा तिर (रेकर्डिस्ट तिर) फर्केर गीत गाउनु हुन्थेन । भित्तालाई हेरेर गाउनु हुन्थ्यो । त्यसको कारण थियो, कन्ट्रोलरुममा मानिसहरू भीड देख्दा गीत गायनमा अवरोध उत्पन्न हुन्थ्यो । त्यसैले एकाग्रता भङ्ग नहोस् भनेर उहाँ अर्को तिर फर्किनु हुन्थ्यो ।

र अर्को कुरो, गीत गाउँदा उहाँको हातमा हारमोनियम हुनै पथ्र्यो । हारमोनियम नसमाई गीत गाउनै नसक्ने । तर हारमोनियम चलाउँदै गीत गाउँदा खट्खट् बढी सुनिने । त्यसैले सिरक वा मोटो कपडाले हारमोनियमलाई हामी छोपिदिन्थ्यौँ । अनि ‘दाइ औँला मात्रै चलाउनुस्’ भन्थ्यौँ । त्यो एलबमका सबै गीतको रेकर्डिङ त्यसैगरी गरिएको हो । 

नारायण दाइको ‘गीति यात्रा भाग– १’ मा रहेका गीतहरूको पहिलो स्रोता त म नै थिएँ । किनभने म आफै रेकर्डिङमा बस्थेँ । रेकर्डिङ भनेको खाली स्वीच थिचेर रेकर्ड गर्ने मात्रै होइन । यो त सिर्जनात्मक काम हो ।

गीत सङ्गीतमा लाग्नु भनेको सजिलो काम होइन । यो त साधना हो । नारायण दाइ साधना गर्नुहुन्थ्यो । साधनाले नै उहाँलाई त्यो उँचाई दिएको हो । 

एउटा रेकर्डिस्टले पनि सङ्गीत बुझेको हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि त्यस्तो हुन्छ भने मात्र उसले सहीरूपमा गीतसँग रेकर्डिङका बेला न्याय गर्नसक्छ । त्यसैले रेकर्डिङ पनि एउटा कला हो । र यसका लागि पनि साधना चाहिन्छ । सिर्जनात्मकता चाहिन्छ ।

त्यसबेला ‘गीति यात्रा भाग– १’ का लागि आठ–आठ वटा गीत रेकर्ड गर्दा पनि नारायण दाइले गुनासो गर्नुभएको मलाई थाहा छैन । सानो र थोरै मेसिन भएपनि क्वालिटीको काम गर्ने खालको थियो । त्यसैले उहाँले पहिलो अभ्यासमै सही रिजल्ट पाउनु भयो । संभवतः त्यसैले गर्दा पनि उहाँले कहिले पनि गीत रेकर्डिङका बेला केही बोल्नु भएन । आफ्नो सुरमा रेकर्ड गर्नुभयो । समय लिनु भयो । तर गुणस्तरमा सम्झौता गर्नुभएन । 

जबकी मैले पनि सुनेको थिएँ उहाँ मुडी हुनुहुन्छ भन्ने । 

हो, एउटा कुरो पक्कै हो, जबसम्म उहाँलाई चित्त बुझ्दैनथ्यो, त्यतिबेलासम्म उहाँ रेकर्डिङमा बस्नु हुन्थेन । 

(साउण्ड इन्जिनियर प्रदीप उपाध्यायसँग गरिएको कुराकानीमा आधारित ।) बाह्रखरी

प्रतिक्रिया